बीमा समितिले संशोधन गर्याे बाख्रा बीमालेख, ३५ दिनभित्र बीमितले दावी भुक्तानी पाउने
काठमाडौं । बीमा समितिले बाख्रा बीमालेखमा बाख्रा बीमालेख खरीद गर्ने बाख्रापालक कृषकको दुर्घटना बीमा, सामूहिक बाख्रा बीमा लगायतका व्यवस्थाहरु थप गरी बाख्रा बीमालेखमा संशोधन गरेको छ । अब कृषकले बाख्रापालन गर्दा एक महिनादेखि ७ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न सक्ने, बीमा गर्दाको समयमा सबै बाख्रा स्वस्थ तथा कुनै चोटपटक नलागेको हुनुपर्ने, बाख्रामा खोप लगाएको हुनुपर्ने, बाख्राको खोर सुरक्षित तथा व्यवस्थित हुनुपर्ने र बीमा गरिएका बाख्रामा क्षति भएमा तीन दिनभित्र बीमकलाई जानकारी गराउनुपर्ने लगायतका व्यवस्था गरिएको बीमा समितिले जनाएको छ । यस्तै, बाख्रा बीमालेख बमोजिम बीमाङ्क गणना गर्दा ३१ दिनदेखि ९० दिनसम्मको पाठापाठीको हकमा बीमाङ्क रकमको ७ प्रतिशत, ९१ दिनदेखि ५ वर्षसम्मका बाख्राको ५ प्रतिशत र ५ वर्षभन्दा माथि ७ वर्षसम्मका बाख्राको हकमा ७ प्रतिशत बीमाशुल्क लाग्ने व्यवस्था रहेको छ । बाख्रा बीमा गरिएका बाख्रामध्ये ३१ दिनदेखि ९० दिनसम्म बाख्राको वास्तविक क्षतिको २५ प्रतिशत, ९१ दिनदेखि ६ महिनासम्म वास्तविक क्षतिको ५० प्रतिशत, ६ महिनादेखि माथि ९ महिनासम्म वास्तविक क्षतिको ७५ प्रतिशत र ९ महिनादेखि १२ महिनासम्मका क्षति भएका बाख्राको वास्तविक क्षतिको १ सय प्रतिशत दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । बाख्रा बीमालेख खरीद गर्दा दुर्घटना बीमा वापत् बीमाशुल्क प्रति बीमित ५ सय रुपैयाँ बीमाशुल्क बुझाउुपर्ने र त्यसरी बुझाइएको बीमाशुल्क वापत बीमित बाख्रापालक कृषकको २ लाख रुपैयाँको दुर्घटना बीमा हुने समेत व्यवस्था संशोधित बाख्रा बीमालेखमा रहेको छ । बाख्रा बीमा अन्तर्गत भौतिक सम्पत्तिको बीमा गर्दा बीमा समितिबाट जारी सम्पत्ति बीमा निर्देशिका, २०७५ बमोजिम गर्नुपर्ने र त्यसमा अनुदानको व्यवस्था नभएको समेत उल्लेख छ । बीमकले आफूसमक्ष परेको बाख्राको बीमा दावीको तत्काल छानविन प्रक्रिया प्रारम्भ गर्न ७ दिनभित्र क्षति मूल्याङ्कनकर्तालाई खटाउनुपर्ने, क्षति मूल्याङ्कनकर्ताले १५ दिनभित्र क्षति मूल्याङ्कन गरेर प्रतिवेदन पेश गर्नुपर्ने र क्षति मूल्याङ्कन प्रतिवेदन पेश गरिएको मितिले ३५ दिनभित्र बीमकले दायित्व यकीन गरी बीमितलाई दावी भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । बीमितले दाबी भुक्तानी वापत रकम नपाउने भएमा सोही अवधिभित्र कारण सहित बीमितलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था समेत रहेको छ ।
सर्वाधिक प्रिमियम संकलन गरेका ६ जनालाई सूर्या लाइफको सम्मान, ४६ जनाले पाए ट्रफी
चितवन । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले दुई दिने एनुअल रिकग्निसन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले उद्घाटन गरेकाे उक्त कार्यक्रममा १५० भन्दा बढी अभिकर्ता र कर्मचारीहरु सहभागी थिए । चितवनको सौराहामा असोज १ गतेदेखि २ गतेसम्म भएको उक्त कार्यक्रममा गत आर्थिक वर्षमा देशैभरिमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (व्यक्तिगत व्यवसाय) तीन जनालाई एजेन्सी अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेमा बुटवल शाखाका कमलप्रसाद घिमिरेलाई सीईओ खड्काले अवार्डसहित सम्मानित गरेका थिए । त्यस्तै सोही विधामा ललितपुर शाखाका पदमबहादुर फागो र बिमला राई फस्ट रनर अप र सेकेन्ड रनर अप भएका थिए । त्यस्तै, गत आर्थिक वर्षमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (सामूहिक व्यवसाय) अभिकर्ताहरुलाई एजेन्सी म्यानेजर एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । यस विधामा ललितपुर शाखाका उप्रिन्द्र राई विजेता, कमलप्रसाद घिमिरे र भक्त बहादुर राई फस्ट रनर अप र सेकेन्ड रनर अप भएका थिए । त्यस्तै देशैभरि रहेका शाखाहरुमा उत्कृष्ट शाखाको रुपमा काठमाडौं शाखा पुरस्कृत भएको थियो भने बुटवल र ललितपुर क्रमशः फस्ट रनर अप र सेकेन्ड रनर अप भएका थिए । कम्पनीले देशैभरका सात प्रदेशबाट उत्कृष्ट व्यवसाय गर्ने प्रदेशलाई ‘बेस्ट रिजन अवार्ड’को ‘रनिङ शिल्ड’ यसपटक बागमती प्रदेशले हात पारेको थियो । उक्त अवसरमा विभिन्न १२ विधाका साथै अन्य गरी ४६ जनालाई कम्पनीले ट्रफीसहित सम्मान गरिएको थियाे ।
नेपाल लाइफको प्रिमियम अब क्युआरबाटै तिर्न मिल्ने, जीवन बीमा क्षेत्रमै शुरु गर्यो नयाँ अभ्यास
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डाइनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ । कम्पनीले ई-सेवा सँगको सहकार्यमा उक्त सिस्टम सञ्चालनमा ल्याएको हो । जसको शुरुवात कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले गरेका हुन् । त्यस्तै, नेसनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्युआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गरे । यससँगै नेपाल लाइफ इन्स्योरेन्स डाइनामिक क्युआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ । अब नेपाल लाइफका देशैभरिका शाखा तथा उपशाखाहरूबाट डाइनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिने छ । डाइनामिक क्युआर पेमेन्ट सिस्टमको माध्यमबाट २ लाख रुपैयाँसम्मको भुक्तानी ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने छ । अरु छेत्रमा डाइनामिक क्युआर पहिलेदेखि नै प्रचलनमा भएपनि जीवन बीमा छेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकको लागि फरक फरक क्युआर बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता हो । कार्यक्रममा बोल्दै सीईओ पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने जनाए । त्यस्तै, ई-सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलोे नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता जाहेर गरे ।