शिखर इन्स्योरेन्सले धादिङमा सम्पन्न गर्यो बीमा सचेतना कार्यक्रम

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङले धादिङबेशीमा बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीको धादिङ शाखाले बालि तथा पशुपन्छी बिमा, निर्जिवन बीमा एवं व्यवसायीक बीमा सम्बन्धी जानकारी दिने उद्धेश्यले आईतबार बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको हो । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धादिङका प्रमुख संदिप सिलवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, शिखर इन्स्योरेन्सका उद्धित प्रसाद काफ्ले, राष्ट्रिय वाणिज्य बैंक धादिङका प्रबन्धक दिपक न्यौपाउनेको विशेष आतिथ्य रहेको कार्यक्रममा सिद्धलेक र ज्वालामुखीका बिभिन्न वडाका वडाअध्क्ष्यहरु, समाजसेवी, बुद्धिजिवी, कृषकहरु लगाएतको सहभागिता रहेको थियो । कर्यक्रममा शिखर इन्स्योरेन्सका उद्धित प्रसाद काफ्लेले बाली तथा पशुपन्छी बीमाको इतिहास, बीमालेख, दावी प्रक्रिया, बीमाका प्रकार, बीमाले रक्षावरण गर्ने क्षेत्रहरुका बारेमा जानकारी दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले कृषहहरुलाई बीमाका बारेमा जानकारी गराउन आवश्यक रहेको बताए । उनले वडावडामा गएर यस्ता बीमा सचेतना कार्यक्रम सञ्चलन गर्न इन्स्योरेन्स कम्पनीलाई आग्रह गरे । पछिल्लो समय बिमा कम्पनी पशु बिमाका योजना लिएर गाउँगाउँमा पुग्न थालेका छन् । पशुको बिी गर्दा बीमा कम्पनीलाई त्यसवापत लाग्ने शुल्कको ८० प्रतिशत रकम सरकारले दिन थालेपछि कम्पनीको सक्रियता बढ्न थालेको छ । किसान पनि पशु बीमाप्रति आकर्षित हुन थालेका छन् । यस्तै बाली बीमाप्रति पनि कृषकको चासो बढेको छ । सचेतना कार्यक्रममा सहभागि कृषकहरूले बाली बीमालाई प्रभावकारी र व्यवस्थित बनाउन आग्रह गरेका छन् ।

सन नेपाल लाईफ छैटौं वर्षमा, विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स स्थापनाको ५ वर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले सामाजिक सेवा उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ । त्यस्तै, कम्पनीले विभिन्न अस्पताल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ । साथै, सोही अवसरमा कम्पनीले विद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कूल कलेजका १ हजारभन्दा बढी विद्यार्थीहरुको उपस्थितीमा बीमासम्बन्धी चेतना कार्यक्रम संचालन गरेको छ ।  

छोरी जीवन बीमा गराउन बाँकेको जानकी गाउँपालिकाले छुट्यायो १० लाख बजेट

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्षदेखि सो कार्यक्रम लागू भएको गाउँपालिकाका प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’अन्तर्गत सो कार्यक्रम लागू गरेको हो । ‘कार्यपालिकाको बैठकबाट पास भएको कार्यविधिअनुसार छोरी जीवन बीमा कार्यक्रम लागू भएको छ,’ प्रशाकीय अधिकृत डाँगीले भने । यसलाई प्रभावकारी कार्यान्वयन गराउन गाउँपालिकाको सबै वडामा पत्राचार गरेको उल्लेख गर्दै उनले सबै वडामा विसं २०७९ साउनयता जन्मेका छोरीहरुले बीमाको सेवा पाउने बताए । अधिकृत डाँगीले छोरी जीवन बीमा कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिँदै छुट्ट्याइएको रकम अपुग भए अन्य रकमसमेत विनियोजन हुने उल्लेख गरे । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुलाई गाउँपालिकाकातर्फबाट वार्षिक पाँच हजारका दरले जीवन बीमाको प्रिमियिम पर्ने गरी आउने बीमाङ्क रकम बराबरको जीवन बीमा गरिने छ । यसअघि सो गाउँपालिकाको १२औँ गाउँसभाले ‘गाउँपालिका अध्यक्षसँग छोरी कल्याण कार्यक्रम’पारित गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत केही दिनअघि बसेको गाउँपालिकाको बैठकले छोरी जीवन बीमा कार्यक्रमका साथै गाउँपालिकाका अध्यक्षसँग छोरी कल्याण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ स्वीकृत गरेको थियो । रासस