गुराँस लाइफले कात्तिक ४ गते डाक्यो वार्षिक साधारणसभा, मर्जर र लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक ४ गतेको लागि वार्षिक साधरणसभा बोलाएको छ । असोज १२ गते बसेको कम्पनीको संचालक समितिको बैठकले कात्तिक ४ गते शुक्रबार गर्ने निर्णय गरेको हो । सभाले गुराँस प्राइम र युनियन लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि पेश भएको प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गरी सोपत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने बताइएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हाल कम्पनीको कायम चुक्ता पूँजीको सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ। त्यस्तै, आव २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज २६ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।  

थप तीन कम्पनीले मागे लघु बीमाको लाइसेन्स, समिति भन्छ : अझै थपिन सक्छ

काठमाडौं । बीमा समितिमा थप तीन वटा कम्पनीले लघु बीमा व्यवसाय सञ्चालनको लागि लाइसेन्स माग गरेका छन् । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालका अनुसार बुधबार थप तीन वटा कम्पनीले लाइसेन्सको लागि आवेदन दिएका हुन् । ‘बुधबार मात्रै तीन वटा आवेदन परेको छ, भोलिसम्म अझै थपिन्छ होला,’ विकासन्युजसँग बोल्दै अध्यक्ष सिलवालले बताए । यससँगै लघु बीमाको व्यवसाय गर्नको लागि १० वटा कम्पनी इच्छुक देखिएका छन् । मंगलबार ७ र बुधबार ३ वटाकाे आवेदन गरी १० वटा कम्पनी लघुबीमा व्यवसाय गर्न इच्छुक देखिएका हुन् । त्यस्तै, असोज ११ गते ३ वटा जीवन र ४ वटा निर्जीवन गरी ७ वटा कम्पनीले आवेदन दिएका थिए । जसमा नेओ लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, स्वेदशी लघु जीवन बीमा, जानकी जीवन बीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्स रहेका छन् । असोज १२ गते थप ३ वटा कम्पनीको आवेदन परेको भनिए पनि नाम भने खुलाइएको छैन । यससँगै लघुबीमा कम्पनी खोल्न इच्छुकले आगामी असोज १३ गतेसम्म बीमा समितिमा आवेदन दिन सक्नेछन् । उनीहरुले सो दिन अर्थात बिहीबार दिउँसो १२ बजेसम्म समितिको कार्यालयमा आवेदन दिन सक्ने समितिका कार्यकारी निर्देशक पौडेलले जानकारी गराए । समितिले बीमालाई सहर बजारमा मात्र सीमित नराखी गाउँ गाउँसम्म ‍‌पुर्याउन भन्दै गत भदौ १० गते लघुबीमाको आवेदन खुला गरेको थियो । जसको लागि ३५ दिनको म्याद तोकेको थियो । जुन भोलि दिउँसो १२ बजेसम्म रहेको छ । बीमा समितिले ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी बाटो खुला गरेको हो । जसमध्ये ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनी हुने छन् । जसको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ । लघुबीमक स्थापना तथा दर्ता सम्बन्धी निर्देशिका अनुसार प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै कम्पनीमा सेयर हिस्सा अर्थात क्रस होल्डिङ रहेमा उक्त लगानीकर्ता संस्थापक बन्न पाउने छैनन् । तर, जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले र्जीवन लघुबीमा र निर्जीवन बीमा व्यवसाय गर्दै आएकाले भने जीवन लघुबीमा कम्पनीले खोल्न पाउने समितिको भनाई छ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत बीमाको विकास तथा विस्तार गर्नको लागि लघुबीमा कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहि व्यवस्था अनुसार बीमा समितिले लाइसेन्सको प्रकृयालाई अघि बढाएको हो ।

ज्योति लाइफका सञ्चालक अग्रवाल बने राउण्ड टेबलको अध्यक्ष, नेपालकै पहिलो बन्न सफल

काठमाडौं । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनीका संचालक जयन्तकुमार अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त पदमा निर्वाचित हुने उनी पहिलो नेपाली हुन् । गैरनाफामूलक संस्था राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो । जुन शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय छ । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण तथा अन्य कार्यहरु गरिसकेको छ । यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ । राउण्ड टेबल इन्टरनेशनल १८ देखि ४० वर्ष उमेर समूहका गैर-राजनीतिक र गैर-साम्प्रदायिक युवाहरूको संगठन हो । युवाहरूको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा सेवा, सद्भाव र सद्भावनालाई प्रवर्द्धन गर्नु हो । यस संस्थाले टेबलरहरू ४५ वर्षको भएपछि युवाहरूलाई बाटो दिँदै सो दायित्वबाट बिश्राम लिने गर्दछ । त्यसैले यो सधैं जवान रहने बताइन्छ ।