खारेज भयो पुलबाट हुने म्यादी जीवन बीमालेख, कम्पनीले नै गर्न पाउने

काठमाडौं । अबदेखि पुलबाट हुँदै आएको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख खारेज हुने भएको छ । बीमा समितिले आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट नयाँ बीमालेख जारी नगर्ने बताएको हो । समितिका अनुसार २०७९ साउन १ गतेबाटै लागू हुने गरी यसअघि जारी भएका सम्पूर्ण बीमालेखहरु पनि त्यसको दायित्व सकिएपछि पुल स्वतः खारेज हुनेछ । बुधबार एक सर्कलर जारी गर्दै बीमा समितिले सो व्यवस्था लागू गर्ने जानकारी गराएको हो । यससँगै अब इच्छुक जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्न सक्नेछन् । तर, त्यस्तो बीमालेख अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र जारी गर्नु पर्नेछ । इच्छुकले आगामी आर्थिक वर्षबाटै सो व्यवसाय गर्न पाउने समितिले जनाएको छ । कम्पनीहरुले उक्त व्यवसाय शुरु गर्नुअघि र बन्द गर्नुपरेमा समितिलाई जानकारी गराउनुपर्ने छ । विद्युतीय माध्यमबाट बीमालेख जारी गर्दा भुक्तानी सेवा प्रदायकलाई उपलब्ध गराउने सेवा शुल्क बापतको रकम अन्य बीमालेखको विद्युतीय माध्यमबाट बीमाशुल्क भुक्तानी गर्दा लाग्ने शुल्कभन्दा बढी नहुने गरी अधिकतम २० (बीस) रुपैयाँ कायम गर्नुपर्नेछ । साथै, सो सेवा शुल्क बापतको रकम निर्धारित बीमाशुल्कमा समावेश गर्न नपाईने समितिले जानकारी गराएको छ । आर्थिक वर्ष २०७८/७९ को बीमांकीय मूल्यांकन साविककै व्यवस्था बमोजिम यसअघि पुल व्यवस्थापकको जिम्मेवारी तोकिएको नेपाल पुनर्बीमा कम्पनीले गर्नुपर्ने छ । समितिका अनुसार पुल अन्तर्गत रहेको दायित्व समाप्त नहुँदासम्म बीमालेख अन्तर्गत परेको दाबीको रकम बीमालेख जारी गर्ने बीमकले नै यथाशिघ्र भुक्तानी गनुपर्ने छ । र, पुलमा सहभागी सबै बीमकहरुको आफ्नो हिस्सा बमोजिमको दायित्व बहन गुर्नपर्नेछ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीले विवरण प्राप्त भएको ७ दिनभित्र बीमकहरुको तोकिए बमोजिमको हिस्सा गणना गरी हिसाव किताब फरफारक गरी सबै कम्पनीहरुमा पठाउनु पर्नेछ र त्यसको जानकारी समितिलाई दिनुपर्ने छ । पुल अन्तर्गत जारी भएका बीमालेखहरुको दायित्व समाप्त नहुँदासम्म यस पुलको बीमांकीय मूल्यांकन पुल व्यवस्थापक नेपाल पनुर्बीमा कम्पनीले नै गर्नुपर्ने समेत समितिले जनाएको छ ।

प्रभु इन्स्योरेन्सको साधरणसभाले खोल्यो मर्जरमा जाने बाटो

काठमाडाैं । प्रभु इन्स्याेरेन्सकाे मर्जरमा जाने बाटाे खुलेकाे छ । इन्स्याेरेन्सकाे मंगलबार सम्पन्न विशेष साधरणसभाले कम्पनीकाे मर्जरमा जाने बाटाे खाेलेकाे हाे । उक्त सभाले कम्पनीकाे चुक्ता पूँजीकाे बढाउन भविष्यमा कुनै निर्जिवन बीमा कम्पनीहरुसँग एक आपसमा मर्जर तथा प्राप्ति गर्ने सक्ने निर्णय गरेकाे छ । सभाले आवश्यकता अनुसार हकप्रद जारी गरी पूँजी वृद्धि गर्न सक्ने निर्णय गर्दै साे सम्बन्धी आवश्यक निर्णय गर्न तथा तत् सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायतका मर्जर तथा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पुर्ण प्रक्रिया पुरा गर्न संचालक समितीलाई अख्तियारी प्रदान गरेकाे छ ।  

मर्जरमा जाँदै जनरल र सानिमा जनरल इन्स्योरेन्स, सम्झौता भोलि

काठमाडौं । जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने तयारीमा छन् । जसको लागि दुई कम्पनीले असार ३० गते बुधबार सम्झौता गर्न लागेका हुन् । ‘एमओयू भोलि बिहीबार गर्ने तयारी भइरहेको छ,’ जनरल इन्स्योरेन्सका सीईओ रामचन्द्र श्रेष्ठले विकासन्युजसँग बताए । यद्पि, हालसम्म स्वाप रेसियो, मर्जर पछि बन्ने कम्पनीको सीईओ, सञ्चालक समिति लगायतका विषय टुङ्गो लागि नसकेको उनले बताए । हाल जनरल इन्स्योरेन्स र सानिमा जनरल दुबै इन्स्योरेन्सको चुक्ता पुँजी १ १ अर्ब रुपैयाँ छ । यदि दुई इन्स्योरेन्स १ बराबर १ अनुपातको स्वाप रेसियोमा मर्ज भए मर्जर पछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ । बीमा समितिले न्यूनतम पुँजी २ अर्ब ५० करोड रूपैयाँ तोकेको छ ।