बीमाको डिपोजिटलाई व्यक्तिगत निक्षेपकै रुपमा मान्न लबिङ, बीमा सुविधा दिने बैंकले नाम खुलाउनै पर्ने

<p>काठमाडौं । बीमा कम्पनीहरुले आफ्नो डिपोजिटलाई व्यक्तिगत निक्षेपको रुपमा मान्न नेपाल राष्ट्र बैंकसँग लबिङ् गर्न थालेका छन् । जीवन बीमा कम्पनीका सीईओहरुको छाता संगठन जीवन बीमक संघले नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारी र डेपुटी गभर्नर बमबहादुर मिश्रसमक्ष उक्त माग राखेका हुन् । मंगलबार भएको उक्त भेटमा संघको तर्फबाट गएका प्रतिनिधिहरुले हाल बैंकहरुले संस्थापक [&hellip;]</p>

काठमाडौं । बीमा कम्पनीहरुले आफ्नो डिपोजिटलाई व्यक्तिगत निक्षेपको रुपमा मान्न नेपाल राष्ट्र बैंकसँग लबिङ् गर्न थालेका छन् । जीवन बीमा कम्पनीका सीईओहरुको छाता संगठन जीवन बीमक संघले नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारी र डेपुटी गभर्नर बमबहादुर मिश्रसमक्ष उक्त माग राखेका हुन् ।

मंगलबार भएको उक्त भेटमा संघको तर्फबाट गएका प्रतिनिधिहरुले हाल बैंकहरुले संस्थापक मुद्दती निक्षेपमा २ प्रतिशत कम व्याजदर लिँदै आएकोमा असन्तुष्ट जनाउँदै यसलाई परिमार्जन गराउनमा माग गरेका हुन् । बीमा कम्पनीलाई मुद्दती निक्षेपको व्याजदरमा संस्थापक रुपमा नहेरी व्यक्तिगत रुपमा हेरेर व्याजदर लागू गर्नुपर्ने मेटलाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मलकाजी श्रेष्ठले बताए ।

‘इन्स्योरेन्स कम्पनीहरुले संकलन गर्ने प्रिमियम व्यक्तिबाट नै हो, हामीले व्यक्तिबाट सानो सानो रकम जम्मा गरेर आएको रकमलाई बैंकमा डिपोजिट गर्छौं, त्यसैले यसलाई व्यक्तिगत रुपमा मान्नु पर्छ, संस्थापकको रुपमा लिनुहुँदैन,’ उनले थप प्रष्टाउँदै विकासन्युजसँग भने ।

हाल बैंकले मुद्दती निक्षेपमा व्यक्तिलाईभन्दा संस्थालाई २ प्रतिशत कम व्याज दिँदै आएको छ । बीमा कम्पनीको निक्षेपलाई बैंकले संस्थागत रुपमा मान्दा यसले बीमितलाई दिने बोनसदर घट्न सक्ने र बीमा व्यवसायमा प्रत्यक्ष असर पर्न सक्ने जानकारहरु बताउँछन् ।

बीमा कम्पनीहरुले अधिकतम ३५ वर्षसम्म बीमा पोलिसी जारी गरेका हुन्छन् । त्यसबाट आर्जीत बीमाशुल्क रकम लामो समयको डिपोजिट राम्रो व्याजदरमा राख्न सकियो भने यसले बीमा क्षेत्रमै सकारात्मक प्रभाव पार्छ । यदि व्यक्तिले बढी पाउने र संस्थाले कम पाउने भयो भने भोलिको दिनमा कम्पनीहरुलाई बीमाको व्यवसाय गर्न अफ्ठ्यारो पर्ने र बैंकलाई पनि व्यवसाय गर्न प्रतिकूल परिस्थिति हुन सक्ने रिलायबल नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बताउँछन् ।

योसँगै बैंकहरुले विभिन्न योजना तथा खातामा बीमा सुविधा पनि उल्लेख गर्दै आएका छन् । यसलाई आधिकारिक रुपमा गराउन पनि बीमा कम्पनीहरुले राष्ट्र बैंकसमक्ष माग गरेका छन् । ‘बैंकहरुले बीमाको सुविधा पनि दिने हो भने यसलाई अथेन्टिक वेबाट गर्नुपर्छ, कुन कम्पनीमा गरेको हो ? कस्तो हो ? त्यो स्पष्ट रुपमा खुलाउनु पर्छ भन्ने हाम्रो माग हो,’ मेटलाइफका सीईओ समेत रहेका श्रेष्ठले विकासन्युजसँग भने ।

बीमा कम्पनीहरुको यी दुबै मागमा नेपाल राष्ट्र बैंक सकारात्मक देखिएको र यसमा परिमार्जन हुनेमा आफू लगायत बीमा क्षेत्र नै विश्वस्त रहेको श्रेष्ठको भनाई छ ।

त्यस्तै, पछिल्लो समय वाणिज्य बैंकहरुले धमाधम दीर्घकालिन मुद्दती निक्षेप योजना ल्याइरहेका छन् । यसले निर्जीवन बीमा कम्पनीलाई असर नगरेपनि जीवन बीमा कम्पनीहरुलाई धेरथोर असर गरेको बीमाका जानकारहरु बताउँछन् ।

जीवन बीमक संघका अध्यक्ष श्रेष्ठले पनि यसले जीवन बीमाको व्यवसायलाई असर गरेको स्वीकारेका छन् । बैंकमा र इन्स्योरेन्समा गर्ने लगानी एउटै हो भन्ने गलत बुझाई आम मानिसमा बढी भएकोले पनि बैंकहरुका १५ गुणासम्मको प्रतिफल पाइने दीर्घकालिन निक्षेप योजनाले बीमा क्षेत्रमा असर पर्ने उनले बताए । तर, बैंकहरुले ग्राहकलाई कति प्रतिफल दिने भन्ने उनीहरुको अधिकार हो बीमा कम्पनीले केही भन्न नमिल्ने अध्यक्ष श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार यसलाई न्यूनिकरण गर्नको लागि बीमा सुरक्षा पनि हो भन्ने विषयमा जनसचेतना फैलाउन आवश्यक रहेको छ ।

बैंकका योजना सरसर्ती हेर्दा आकर्षक लागेपनि यसमा चुनौती पनि रहेको संघका उपाध्यक्ष पोषकराज पौडेल बताउँछन् । यसमा उल्लेख गरिएका विभिन्न सर्त अनुसार चुनौति रहेकको उनको बुझाई छ ।

‘बैंकहरुले गरेको मार्केटिङ्मा ग्राहकले गलत बुझाइ नबुझुन् भन्नेमा हामी सचेत छौं, तर यसको लागि के गर्ने भन्ने बारेमा टुङ्गो लागि सकेको छैन,’ सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत समेत रहेका पौडेलले बताए ।

बैंकका योजना झट्ट हेर्दा के हो के हो लागेपनि बीमाको महत्व बीमासँग नै रहेको रिलायबलका सीईओ लोहनी बताउँछन् ।

‘बैंकमा अहिले पैसा राखेर सीमित अवधिपछि मात्रै रिटर्न लिन सकिन्छ भने बीमा कम्पनीले वर्षैपिच्छे रिटर्न दिइरहेको हुन्छ, त्यसबीचमा जोखिम बहन पनि गरिरहेको हुन्छ र सीमित अवधि सकिएपछि पनि आएको बोनससमेत जोडेर रिटर्न दिन्छौं, त्यसैले बैंकहरुले अहिले ल्याएको मुद्दती योजना र हामी बीमा कम्पनी सेवाको प्रकृति नै फरक छ, हामीले बीमितलाई बचत, सुरक्षा र प्रतिफल सँगसँगै भनेर लग्छौं, जुन बैंकले दिन सक्दैनन्,’ लोहनीले स्पष्ट पार्दै भने ।

जीवन बीमक संघका अध्यक्ष तथा मेटलाइफका सीईओ निर्मलकाजी श्रेष्ठ, उपाध्यक्ष तथा सिटिजन लाइफका सीईओ पोषक कुमार पौडेल, महासचिव तथा सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल, कोषाध्यक्ष तथा नेपाल लाइफका सीईओ प्रविणरमण पराजुलीले भदौ २८ गते राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरलाई भेटेका हुन् ।

Share News