सप्तकोशी डेभलपमेन्ट बैंकले ८ प्रतिशत लाभांश दिने, तोक्यो बुक क्लोजको मिति
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई ८.०३६३९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस र ५.०३६३९ प्रतिशत नगर गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकका आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा यही पुस २८ गते बस्दै छ । सो प्रयोजनको लागि कम्पनीको पुस ८ गतेदेखि २८ गतेसम्म बुक क्लोज हुने भएको छ । हाल बैंकको चुक्ता पुँजी ५० करोड ८५ लाख रुपैयाँ रहेको छ । ३ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ५२ करोड रुपैयाँ नाघ्ने छ ।
मेगा बैंकले ल्यायो थ्रीडी सेक्योर प्रविधि, अनलाइन कारोबार थप सुरक्षित हुने
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले इन्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकका लागि थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । भिसा कार्ड इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारका लागि अतिरिक्त सुरक्षा तहका रूपमा रहनेछ । मेगा बैंकले भिसासँगको साझेदारीमा आइजिल्यान्ट टेक्नोलोजीमार्फत यो सेवा संचालनमा ल्याएको हो । यो सेवा लिने ग्राहकले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्नेछन् । जसले गर्दा अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुने बैंकले जनाएको छ । यस प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबारमा जालसाझी एवं नक्कली कारोबारको जोखिम कम हुने हुँदा अझै सुरक्षित, भरपर्दो र विश्वसनीय हुने मेगा बैंकको विश्वास छ । मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेलीले थ्रीडी सेक्योर प्रविधिको सुरुवातले मेगा बैंकका कार्ड प्रयोगकर्ता ग्राहकको कारोबार सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । मेगा बैंकको अत्याधुनिक कार्ड सेवाले ग्राहकलाई विश्वस्तरीय सेवा उपभोगको अनुभव दिने उनको विश्वास छ । आइजिल्यान्ट टेक्नोलोजीका सीईओ प्रशान्त मेन्गावाडेले आफूहरुसँगको सहकार्यमा मेगा बैंकले भरपर्दो र सुरक्षित कार्ड सेवा शुभारम्भ गरेको बताएका छन् । त्यस्तै, यो सेवाले नेपालको डिजिटल कारोबारको बढोत्तरीमा मद्दत मिल्ने बताएका छन् ।
नारायणी डेभलपमेन्ट बैंकको शेयर संरचना परिवर्तन
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७३/७४ र ७४/७५ को सोह्रौ र सत्रौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभामा संचालक समितिका अध्यक्षद्धारा प्रस्तुत संचालक समितिको प्रतिवेदन पारित गरि आर्थिक बर्ष २०७५/७६ को लेखापरिक्षण गर्न लेखापरिक्षक नियुक्त गरेको छ । नयाँ संचालक समितिको गठन भएसँगै सात आर्थिक वर्षसम्म सम्पन्न हुन नसकेको साधारणसभा नौ महिनाको अवधिमा सम्पन्न भएको छ । सभाले बैंकको शेयर संरचना परिवर्तन गरि संस्थापक शेयर स्वामित्वलाई ७० प्रतिशतबाट ५१ प्रतिशतमा ल्याउने र सर्वसाधारण शेयर स्वामित्व ३० प्रतिशतबाट ४९ प्रतिशत पुर्याउने निर्णय गरिएको छ । सभामा प्रस्तुत गरिएको बिशेष प्रस्ताव अन्तर्गत नेपाल राष्ट्र बैंकको निर्देशानुसार न्युनतम चुक्ता पूँजी पुर्याउन पूजीबृद्धि गर्ने प्रस्ताव र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने समेत निर्णय गरेको छ ।