एनसीसीकाे ७९ लाख कित्ता शेयर लिलामी ११ गतेदेखि, कतिसम्ममा पाइएला ?
काठमाडौं । घट्दो बजार, बढ्दो ब्याजदर र बजार सुधारका लागि भइरहेको आन्दोलनका बीच एनसीसी बैंकले ७९ लाख १० हजार ९ सय ९३ कित्ता शेयर लिलामीमा ल्याउने भएको छ । बैंकले संस्थापक समूहतर्फ ६५ लाख १६ हजार ७ सय ९५ कित्ता र सर्वसाधारण समूहतर्फ १३ लाख ९४ हजार १ सय ९८ कित्ता गरी उक्त परिमाणको शेयर लिलामीमा ल्याउने भएको हो । बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको सनराइज क्यापिटलले यही पुस ११ गतेदेखि २० गतेसम्म उक्त लिलामी खुल्ला गर्ने भएको छ । उक्त लिलामीका लागि सनराइज क्यापिटलको कमलपोखरीस्थित मुख्य कार्यालय र एनसीसी बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, बनेपा, नारायणगढ र बागबजार कार्यालयबाट फर्म प्राप्त गर्न र आवेदन दिनसक्ने व्यवस्था रहेको बताइएको छ । उक्त शेयरका लागि संस्थापकतर्फ न्युनतम १००० कित्ता र साधारणतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिन्छ तर १० ले भाग जाने संख्यामा मात्र आवेदन दिनुपर्नेछ भने संस्थापकतर्फ अधिकतम ६५ लाख १६ हजार ७ सय ९५ कित्ता र साधारणतर्फ अधिकतम सीमासम्मकाे शेयरका लागि अावेदन दिन सकिन्छ । संस्थापक शेयर लिन इच्छुकहरुले भने कालोसूचिमा नरहेको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, आयश्रोत विवरण र स्वघोषणा विवरण समेत बुझाउनुपर्ने जनाइएको छ । घट्दो बजारको प्रभाव शेयरमूल्यमा पर्नसक्ने त्रिकोणात्मक समस्याबाट ग्रसित बजारमा लगानीकर्ताहरुको मनोविज्ञान कमजोर हुँदा उक्त शेयरका लागि कममात्र मूल्यमा बोलकबोल हुनसक्ने सम्भावना रहन्छ । गत साउनमा प्रभु बैंक लिमिटेडको शेयर बजारमा १८० रुपैंया हाराहारी हुँदा उक्त शेयरको लिलामीमा १५८ रुपैंयासम्म प्रस्ताव गर्नेले समेत शेयर प्राप्त गरेका थिए । तत्कालै बजारमा आएको सुधार र बैंकको राम्रो वित्तीय विवरणका कारण शेयरमूल्य बढेर २६० भन्दा माथि पुगेको थियो । त्यसैले घट्दो बजारबीच अक्सनको लगानी छोटो समयमै मुनाफादायक समेत हुनसक्छ । यद्यपि यसले बैंकको रिजर्भमा थपिने प्रिमियम मूल्यमा भने असर गर्नसक्छ । तर लिलामी खुल्ने उक्त दिनसम्म बजारमा ठुलाे सुधार भर्इ लगानीकर्ताकाे मनाेबल उच्च भएमा भने अवस्था ठीक त्यस्ताे नहुन पनि सक्छ । वाणिज्य बैंकहरुको ‘अन्तिम’ लिलामी नेपाल राष्ट्र बैंकले तोकेको पुँजी वृद्धिका प्रयोजनका लागि जारी गरिएको हकप्रदमध्ये एनसीसी बैंकको हकप्रद अन्तिम हो र यसर्थमा बैंकको अक्सन समेत अन्तिम हुनेछ । अन्य विविध कारणले बजारमा शेयर लिलामीमा आउन सक्ने भए पनि हकप्रदमा नबिकेको शेयरका लागि यो लीलामी नै अन्तिम लिलामी हुनेछ । अब यति ठूलो परिमाणको शेयर लिलामीमा आउन सम्भवतः अर्को पुँजीवृद्धि योजना नै कुर्नुपर्नेछ ।
सिटिजन्स बैंकद्वारा प्रभात माध्यमिक विद्यालयलाई आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंकले पाल्पा जिल्लाको मैनादीमा रहेको प्रभात माध्यमिक विद्यालयलाई रू दुई लाखको आर्थिक सहयोग गरेको छ । केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुँवरलाई रू दुई लाखको चेक हस्तान्तरण गरेका हुन्र । सिटिजन्स बैंक इन्टरनेसनलले फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्गसेवाहरु प्रदान गर्दै आएको छ । “योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गर्दै आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकरात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालनगर्ने कुरा जानकारी दिएको छ । कृषिबाली विज्ञान अध्ययनगर्ने पी जेटीएका विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षा प्रदान गर्न चाहिने सामाग्रीको खरिदका साथै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका निम्ति उक्त रकमको प्रदान गरेकाे अध्यक्ष कुँवरले जानकारी दिएका छन् ।
मुक्तिनाथ विकास बैंकको २१५ औं वित्तीय साक्षरता कार्यक्रममा ४० हजार उपस्थित
काठमाडौं । मुक्तिनाथ विकास बैंकले २१५ औ वित्तीय साक्षरता कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । विराटनगरको सत्यनारायण माध्यमिक विद्यालयमा “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता” भन्ने मुल आशयको साथ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्षेत्र भित्रका स्थानियहरुलाई कार्यक्रममा सहभागी गराउदै आएको बैंकले गत आर्थिक वर्ष देखि विद्यार्थीहरुमा समेत वित्तीय साक्षरता कार्यक्रम अभियानको रुपमा सञ्चालन गरेको हो । विद्यार्थीहरुको आय र व्ययको लेखाजोखा गरी कसरी फजुलखर्च कम गर्न सकिन्छ, भन्ने विषयवस्तु उक्त कार्यक्रममा समावेश गरिएको थियो । बैंकले हालसम्म २१५ स्थानमा करीब ४० हजार स्थानीय तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराइसकेका छन् । आगामी दिनमा कार्यक्षेत्र भित्रमा व्यापक रुपमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने योजना बनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो दैनिक अध्यापनमा समेत सघाउ पुग्ने र अध्ययनमा साक्षर भएपनि वित्तीय रुपमा साक्षर नभएको महशुस गरी आफूले अब वित्तीय निर्णय लिन सक्षम भएको बताएका थिए ।