प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस दिने, चुक्ता पुँजी ९ अर्ब नाघ्ने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ रहेको छ । बोनस पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ३१ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय बैंकको सेयर मूल्य प्रतिकित्ता ३३१ रुपैयाँमा कारोबार भएको थियो ।

महालक्ष्मी विकास बैंकको डलर कार्ड संचालनमा, विदेश भ्रमणमा जानेले पनि प्रयोग गर्न सक्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहक वर्गका लागि चीप प्रणालीमा आधारित महालक्ष्मी डलर कार्ड संचालनमा ल्याएकाे छ । बैंकले कार्डबाट हुने बैकिङ्ग कारोबारलाई थप सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको हो । ग्राहकले यस कार्डबाट सजिलै आवश्यक विदेशी मुद्रामा रकम झिकी प्रयोग गर्न सक्नेछन् । साथै, विदेश भ्रमणका लागि तयारी गरिरहेका ग्राहकहरुले उक्त कार्डको प्रयोग गर्न सक्ने भएका छन् । बैंकले आगामी दिनहरुमा पनि नवीन उपकरणहरु मार्फत ग्राहकहरुलाई अझ प्रभावकारी बैकिङ्ग सेवा-सुविधा प्रदान गर्ने भएको छ ।

सेञ्चुरी बैंकबाट सन नेपाल लाइफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा पाउने छन् । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरेका छन् ।