सिटिजन्स बैंकको कामु कार्यकारी प्रमुखमा गणेशराज पोखरेल, भण्डारी प्रमुख सल्लाहकार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल भएका छन् । मंसिर २८ गते बसेको बैंकको संचालक समितिको बैठकले सोही बैंकमा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पुस १ गतेबाट लागू हुने गरि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएकाे हाे । प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको कार्यकाल पुस १६ गते समाप्त हुने भएको र उनी पुस १ गतेबाट विदामा बसेकाले अर्को व्यवस्था नभए सम्मका लागि पोखरेललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको बैंकले जनाएको छ । साथै, सेवा निवृत भएका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीलाई पुस १७ गतेबाट लागु हुने गरि बैंकको संचालक समितिको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

बैंक अफ काठमाण्डूले २५ प्रतिशत लाभांश दिने, १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद

काठमाडौं । बैंक अफ काठमाण्डूले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । विहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले १४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय राष्ट्र बैंक र साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश पाउने छ । हालसम्म घोषणा भएका मध्ये बैंक अफ काठमाण्डूको लाभांश तेस्रो उच्चदर हो । विहीबार यस कम्पनीको सेयर प्रतिकित्ता ३०९ रुपैयाँमा कारोबार भएको छ । हाल यस बैंकको सेयर पुँजी ७ अर्ब ७ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपति बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ हुनेछ । यस बैंकको जगेडा कोषमा ५ अर्ब ५ करोड रुपैयाँ छ ।

ब्रोकर लाइसेन्स लिने र मर्जरमा जाने विकल्पसहित माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा

काठमाडौं । १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको माछापुच्छ्रे बैंकले आफ्नौ २० औं साधारणसभा बोलाएको छ । बैंकको बुधबार बसेको ३८५ औं सञ्चालक समितिको बैठकले होटल पोखरा ग्राण्डमा पुस २० गते बिहान ११ बजे बस्नेगरी साधारणसभा बोलाएको हो । बैंकले साधारणसभामा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र अघिल्लो आवको वित्तीय विवरण र प्रस्तावित १० प्रतिशत नगद लाभांश पारित गर्ने साधारण प्रस्ताव माछापुच्छ्रे बैंकले साधारणसभामा पेश गर्ने भएको छ । साधारणसभाले संस्थपक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीनजना सञ्चालकको निर्वाचन समेत गर्ने भएको छ । त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा गाभिने तथा विदेशी साझेदार भित्र्याउने सम्बन्धमा निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव समेत साधारणसभामा पेश गरिने भएको छ । बैंकले आफैं वा सहायक कम्पनी स्थापना गरी बीमा व्यवसाय, भेञ्चर क्यापिटल, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ लगायतका कार्यहरु गर्ने एजेन्डा समेत साधारणसभामा पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि बैंकले पुस ६ गतेदेखि शेयरधनी किताब खाता बन्द गर्दैछ । पुस ५ गतेसम्म आफ्नो नाममा शेयर कायम भएका शेयरधनीले तोकिएको १० प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् भने साधारणसभामा सहभागिता जनाउन पाउनेछन् । सञ्चालकको उम्मेदवारका लागि भने कम्तीमा १०० कित्ता संस्थापक शेयर आफ्नो नाममा रहेको हुनुपर्नेछ ।