गण्डकी विकास बैंकको शाखा अब विरेन्द्रनगरमा
काठमाडौं । गण्डकी विकास बैंकले सुर्खेतको विरेन्द्रनगरमा आफ्नो शाखाको औपचारीक उद्घाटन गरेको छ । प्रमुख अतिथि विरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदीले उक्त कार्यक्रममा शाखा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो तथा नगरपालिकाको तर्फबाट सुर्खेतमा बैंकलाई पूर्ण सहयोग उपलब्ध गराउने बताएका छन् । बैंकका संचालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारती, विरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मोतीप्रसाद कँडेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष टेक बहादुर भण्डारीले मन्तव्य राखेका थिए । बैंकले आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासमा संचालन मुनाफा रु. १५ करोड ३० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २३ अर्ब ७२ करोड र कर्जा तर्फ रु.२१ अर्ब २४ करोड पुर्याएको छ । बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एविविएस, एटिएम, सि एसवि, आइपिएस, मोवाईल बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ ।
जनता बैंकले घोषणा गर्यो ८.५० प्रतिशत लाभांश, नगद लाभांश दिए पनि बजारमा खरिदमा चाप
काठमाडौं । जनता बैंक लिमिटेडले ८.५० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको २६७ औं बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति गरेपछि र सञ्चालक समिति पारित गरेपछि लागु हुने बैंकले जनाएको छ । अधिकांश बैंकरुको नगद लाभांश घोषणा गरेसँगै बजारमा शेयर बिक्रीबो चाप बढ्ने गरे पनि जनता बैंकको लाभांश घोषणापछि पनि खरिदकर्ताहरुकै चाप देखिएको छ । तुलनात्मक रुपमा सस्तो शेयर भएको र गत चौमासमा राम्रो प्रगति हासिल गरेकोले नगद लाभांशका बाबजुद लगानीकर्ताको आकर्षण देखिएको हो । मंगलबार ११ः३० बजे बैंकको ३० हजार कित्ता शेयरका लागि खरिदकर्ता हुँदा ८ हजार कित्ता शेयर मात्र बिक्रीमा राखिएको थियो ।
सेयर बजार १२ अंकले बढ्यो, यस्ता छन् कारण
काठमाडौं । सोमबारको सेयर बजार १२.४९ अंकले उकालो लागेको छ । पुँजी बजारमा लगानीकर्ताको मनोबल बढ्दै गएपछि यस साताको शुरुवातदेखि नै सेयर बजार निरन्तर दोहोरो अंकले उकालो लागेको हाे । नेपाल धितोपत्र बोर्डले आइतबार साझ एक विज्ञप्ति जारी गरी अहिलेकाे समय सेयरमा लगानी गर्न उपयुक्त समय रहेको बताएपछि लगानीकर्ताको सेयर बजारप्रति मनोबल बढ्दै गएको हो । त्यस्तै, अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा समिति गठन गरेपछि सेयर बजार बढ्दै गएको जानकारहरु बताउँछन् । अर्थमन्त्रालयले वित्त र सेयर बजारको समस्याको उपाय खोज्न उक्त समिति गठन गरेको हो । समितिले आगामी एक हप्ताभित्र प्रतिवेदन बुझाउन माग गरेको छ । त्यसैगरी, आइतबारदेखि पूर्ण अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि लगानीकर्ताहरु उत्साहित भएका छन् । आफै युजर नेम र पासवर्ड लिई सेयर खरिद बिक्री गर्न पाउने भएपछि लगानीकर्ताहरु सेयर बजारमा आकर्षित देखिएका छन् । सोमबारको बजारमा नेप्से परिसूचक सँगै सेयर कारोबारमा पनि सुधार आएको छ । आइतबार २२ करोडको कारोबार भएको बजारमा सोमबार ४३ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा २१ करोड रुपैयाँ बढी हो । बजारमा कारोबारमा आएका १० समूहमध्ये अधिकांश समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ९८ अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ७२.०५, होटल २३, माइक्रोफाइनान्स १८ र बैंकिङ समूह १३ अंकले बढेका छन् । उत्पादनमूलक र अन्य समूहको सूचक भने सामान्य अंकले ओरालो लागेको छ ।