बैंक अफ काठमाण्डू ‘आइएमई पे’ वालेटमा आवद्ध, रकम जम्मा गर्न सजिलो हुने

काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अबदेखि बैंक अफ काठमाण्डू लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ । साथै, बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र बैंक अफ काठमाडौँ बीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकको साधारण सभा माघ ७ गते, पुस २६ गतेसम्मका सेयर धनीलाई १७.५० प्रतिशत लाभांश

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकले माघ ७ गते साधारण सभा डाकेको छ । मंसिर २१ गते बसेको ३७७ औं बैंक सञ्चालक समिति बैठकले माघ ७ गते साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकले पुस २९ गतेदेखि बुक क्लोज हुने निर्णय पनि गरेको छ । पुस २७ गतेसम्म सेयर होल्ड गर्ने लगानीकर्ताहरुले लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले १७.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकले गत आर्थिक बर्षमा २ अर्ब ७ करोड नाफा आर्जन गरेको थियो । ८ अर्ब १ करोड चुक्ता पुँजी रहेको स्ट्याण्डर्ड चाटर्ड बैंकको प्रति सेयर आम्दानी ३१.६६ रुपैंयाँ रहेको छ ।

बैंकका सञ्चालकलाई बैठक भत्ता ३० हजार, सञ्चार खर्च ४ लाख ८० हजार र स्वास्थ्य बीमा करोड माथि

एनआईसी बैंकको बोर्ड कक्ष, फोटो: बैंकको वेवसाईट काठमाडौं । शिर्षक पढेर तपाईलाई पत्याउन गाह्रो होला । तर यो भ्रम होइन, यथार्थ हो । समय बदलिएको छ । मानिस धनी भएका छन् । आकांक्षा बढेको छ । उनीहरुको दैनिकीमा ठूलो परिवर्तन देखिएको छ । बैंकर्सहरुले व्याज मात्र बढाएका छैनन्, सञ्चालकको बैठक भत्ता र अन्य सुविधा पनि बढाएका छन् । एउटा उदाहरण हेरौं । एनआईसी एशिया बैंकले बैंठक भत्ता अध्यक्षलाई प्रतिबैठक ३० हजार र सञ्चालकलाई प्रति बैठक २५ हजार रुपैयाँ दिने भएको छ । बैंक सञ्चालक समितिको बैठक सामान्यतया महिनामा कम्तिमा दुई पटक बस्ने गरेको पाइन्छ । यस बैंकले अध्यक्षलाई संचार खर्च वार्षिक ४ लाख ८० हजार रुपैयाँ दिने भएको छ । त्यस्तै, बैंकले सञ्चालकहरुलाई संचार खर्च प्रतिव्यक्ति ४ लाख २० हजार रुपैयाँ दिने भएको छ । अध्यक्षलाई मासिक ४० हजार रुपैयाँ र सञ्चालकलाई मासिक ३५ हजार रुपैयाँ संचार सुविधा दिने भएको छ । संचार अन्तरगत पत्रपत्रिका र फोन सुविधा हुने बैंकले जनाएको छ । त्यस्तै, बैंकले अध्यक्ष र सञ्चालकलाई नेपाल भित्र वा वाहिर भ्रमण भत्ता दैनिक १५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तो प्रस्ताव बैंकले आगामी साधारणसभामा लैजादैछ । साधारणसभाले पास गरेपछि उनीहरुले यस्तो लाभ लिन सक्नेछन् । यस बैंकले अध्यक्ष र सञ्चालकलाई स्वास्थ्य बीमा शुल्क अन्तरगत २ लाख ५० हजार रुपैयाँ बीमा शुल्क दिने भएको छ । बीमा विज्ञ भोजराज शर्माको अनुसार २ लाख ५० हजार बीमा शुल्क तिरेर लिएको बीमा पोलिसी १ करोड भन्दा बढीको हुनेछ, जहाँ जटिल प्रकारको रोगसमेत कभर हुन्छ । यस बैंकमा तुलसीराम अग्रवाल अध्यक्ष छन् । जगदीश प्रसाद अग्रवाल, रामचन्द्र संघाई, राजेन्द्र अर्याल, विनोद कुमार प्याकुरेल, गणेशमान श्रेष्ठ र त्रिलोकचन्द्र अग्रवाल सञ्चालक छन् । एनआईसी एशिया बैंकमा मात्र होइन, अन्य बैंकहरुमा पनि सञ्चालकहरुको सुविधा उल्लेख्य रुपमा वृद्धि भईरहेको छ । एभरेष्ट बैंकले सञ्चालकलाई विदेश भ्रमण गर्दा प्रतिदिन ६४ हजार ५०० रुपैयाँ भत्ता दिने प्रस्ताव साधारणसभामा लैजादैछ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनले सञ्चालकहरुको जिम्मेवारी बढी तोकेको र बैंकका अध्यक्ष तथा सञ्चालकले मासिक तलब सुविधा पनि लिन नपाउने भएकोले भत्ता बढाउनु परेको बैंकको एनआईसी बैंकमा एक सञ्चालकले बताए । बैंक सञ्चालक आफै लगानीकर्ता भएकोले उनीहरुको ध्यान तलव भत्ता नभई नाफा केन्द्रीत हुनुपर्ने अर्थमन्त्री युवराज खतिवडाको तर्क छ । ‘जागिर खानेले तलब, लगानी गर्नेले नाफा भन्ने सिद्धान्त र मान्यताको आधारमा संसारभर नै सञ्चालक तथा अध्यक्षलाई तलब सुविधा नहुने तर्क खतिवडाको छ । तलवको सट्टा भत्ता र विभिन्न सुविधा शिर्षकमा ठूलो रकम लिने सस्कार गलत भएको डेपुटी गभर्नर शिवराज श्रेष्ठ बताउँछन् । ‘बैंक सञ्चालकहरुको जिम्मेवारी पनि धेरै छ । उनीहरुले पाउने सुविधा समय सापेक्ष बनाउनु पनि पर्छ । तर बैंकका सञ्चालकहरुले नसुहाउने तरिकाले सुविधा लिन हुुँदैन’ श्रेष्ठले भने । बैंकले प्रस्ताव गरेको बैठक भत्ता, सेवा, सुविधा साधारणसभाबाट पास भएपछि पनि राष्ट्र बैंकको स्वीकृति लिएको हुनु पर्ने उनले बताए । ‘धेरै बैंकमा सञ्चालकहरुको भत्ता उच्च दरमा वृद्धि हुन लागेको हामीले पनि सुनेका छौं । त्यसमा राष्ट्र बैंकको पनि स्वीकृति चाहिन्छ । हामी गम्भिरतापूर्वक हेर्छौ’ श्रेष्ठले भने ।