एशियाली विकास बैंकको आर्थिक सहयोगमा नेपालगञ्जमा दुई आकाशे पुल बन्दै

काठमाडौं । नेपालगञ्जको दुई चोकमा आकाशे पुल निर्माणको प्रक्रिया शुरु गरिएको छ । अति व्यस्त बिपी चोक र धम्बोझी चोकमा आधुनिक प्रविधिको आकाशे पुल निर्माणका लागि विस्तृत अध्ययन परियोजना प्रतिवेदन (डिपीआर)बनाउन थालिएको छ । विकास बैंकको आर्थिक सहयोगमा यी दुई चोकमा र दोस्रोचरणमा नेपालगञ्जको गणेशमान चोक, पुष्पलाल चोकमा आकाशे पुल निर्माण गर्ने योजना नगरपालिकाको रहेको नगर प्रमुख डा धवलशम्शेर राणाले बताएका छन् । तीन वर्षको अवधिमा भएको तीव्र सडक विस्तारपछि बसाइसराइ र सवारी साधनको वृद्धिले नेपालगञ्जमा अहिले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । एशियाली विकास बैंकको झण्डै रु चार अर्बको आर्थिक ऋण अनुदान सहयोगमा नेपालगञ्जमा ६० किलोमिटर कालोपत्र सडक विस्तार गरिएको छ । आकाशे पुल निर्माणका साथै नेपालगञ्जमा ट्राफिक प्रविधिको जडान, सार्वजनिक स्थलमा सवारी पार्किङको व्यवस्था, झण्डै १० हजारको हाराहारीमा रहेको अटोरिक्सा व्यवस्थापनको चुनौती पनि नेपालगञ्ज नगरपालिकालाई थपिएको छ । जनप्रतिनिधि निर्वाचित भएर आएको डेढ वर्षको अवधिमा नेपालगञ्जको विकासले ठूलै फड्को मारेको छ । नगरको वडा वडामा सडक कालोपत्र, साना ठूला नाला निर्माण, रानी तलाउको जीर्णोद्धार गरी नौकाबिहार सञ्चालन, बाल उद्यानको निर्माण लगायतका थुप्रै विकासका काम सम्पन्न भएका छन् भने थुप्रै योजना पनि बन्दै छन् । रासस

साना किसान लघुवित्तले २५ प्रतिशत बोनश शेयर वितरण गर्ने

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । कम्पनीको पुस २१ गते बसेको बैठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट २५ प्रतिशत बोनश शेयर साथै कर प्रयोजनको लागि १.३१७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बोनस शेयर वितरणका लागि प्रस्ताव गरे अनुसार नै राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएको र यही माघ १८ गते आयोजित साधारण सभामा वितरण गरिने कम्पनी सचिव झलेन्द्र भट्टराईले जनाएका छन् । साथै साधारण सभा प्रयोजनको लागि माघ ३ गतेदेखि १८ गतेसम्म संस्थाको शेयर किताब बन्द(बुक क्लोज) गरिने निर्णय भएको जनाइएको छ ।

सुर्खेतमा सिटिजन्स बैंकको कर्णाली प्रादेशिक कार्यालय स्थापना

काठमाडौं । सिटिजन्स बैंकले कर्णाली प्रदेश (प्रदेश नं.६) को प्रादेशिक कार्यालय सुर्खेतमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा कर्णाली प्रदेशका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । कर्णाली प्रदेश अन्तर्गत बैंकका ७ वटाशाखाहरु (डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड रसिमिकोट तथा सुर्खेत)बाट व्यापार विस्तारका गरेका छन् । कर्णाली प्रदेशमा रहेका १० जिल्ला मध्ये ५ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव ३० लाख ग्राहकवर्गलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । कर्णाली प्रदेशको हुम्लाको सिमिकोटमा २०६८ सालमा र डोल्पामा २०७१ सालमा शाखा खोलिनु यसका केहि अनुपम उदहारणहरु हुन । मानसरोवर जाने पर्यटकहरुको सहजताको निम्ति यसै वर्ष बैंकले हुम्लामा एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले प्रादेशिक कार्यालयहरु प्रदेश नं १ को विराटनगरमा, प्रदेश नं २ को वीरगंजको आदर्शनगरमा, प्रदेश नं ४ को पोखराको सिमलचौरमार प्रदेश नं ५ को नेपालगंजमा, आफ्नै सुविधा सम्पन्न भवनमा स्थापना गरिसकेको छ । सिटिजन्स बैंकको ८१ वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।