प्रभु बैंकको एक्स्टेन्सन काउण्टर रुपन्देहीकाे रामनगरमा, आजैदेखि बैंकिङ्ग प्रणालीमा जाने
काठमाडौं । प्रभु बैंकले रुपन्देहीको रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा नयाँ एक्स्टेन्सन काउण्टर विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले उद्घाटन गरेका हुन् । कार्यक्रममा थापाले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको जानकारी गराएका छन् । कार्यालयमा आउने सेवाग्राहीहरुलाई कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमती गरी बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको उनले बताए । आजदेखि सञ्चालनमा आएको बैंकको रामनगर एक्स्टेन्सन काउण्टरबाट बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमा प्रवेश गर्ने छ । साथै, श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी वैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सजिलो हुने बैंकको विश्वास छ ।
पर्यटन वर्ष सफल पार्न हिमालयन बैंक अग्रसर, अमेरिकन एक्सप्रेसले प्रचार गरिदिने, हिमालयनले छुट दिने
काठमाडौं । पर्यटन वर्ष २०२० सफल पार्न हिमालयन बैंक अग्रसर भएको छ । नेपाली सम्पदाहरुलाई विश्वमा चिनाउन हिमालयन बैंकले नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्सप्रेससँग सहकार्य गर्दै पर्यटन प्रवद्र्धनको सहकार्यको लागि अग्रसर भएको हो । बिहीबार हिमालयन बैंकको कार्यालय कमलादीमा आयोजित कार्यक्रममा यी तीन संस्थाहरुबीच ‘एक्सपेरियन्स नेपाल’ अभियानको सुरुवात भएको छ । जसअनुसार अमेरिकन एक्सप्रेसले विश्वभर आफ्ना कार्ड प्रयोगकर्ताहरुकहाँ नेपाली सम्पदा र पर्यटकीय स्थलहरुबारे प्रचारप्रसार गरिदिनेछ भने नेपाल पर्यटन बोर्डले अमेरिकन एक्सप्रेसलाई आफ्नो प्लेटफर्म प्रयोग गर्न दिनेछ । हिमालयन बैंकले भने नेपालमा रहेका आफ्ना ८० भन्दा बढी मर्चेन्ट पार्टनरहरुमा खरिदबिक्री गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । उक्त कार्यक्रममा अमेरिकन एक्सप्रेसकी दिव्या जैनले नेपाल होलिस्टिक पर्यटन गन्तव्य भन्दै नेपाली पर्यटकीय स्थानहरुको प्रवद्र्धन गर्न आफूहरुले सहयोग गर्ने बताइन् । कार्यक्रममा हिमालय बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले यस्तो सम्झौता हिमालयन बैंकको पहलमा भएको दोस्रो सम्झौता रहेको र यसअघि २०१७ सालमा पनि यस्तै सम्झौताका कारण पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले २०१७ तिर भुकम्प र नाकाबन्दीका बाबजुद नेपालमा पर्यटकको संख्या २०/२५ प्रतिशतले बढेको भन्दै यस्तो हुनुमा त्यतिबेलाको सम्झौताको योगदान पनि महत्वपूर्ण रहेको बताए । नेपाललाई गुणस्तरीय पर्यटकको खाँचो रहेको भन्दै उनले २०२० मा ‘भिजिट नेपाल फर लाइफटाइम एक्सपेरियन्स’ क्याम्पियन अघि बढाएको दाबी गरे ।
एनआईसी एशियाको ऋणपत्र निष्काशनमा सानिमा क्यापिटल नियुक्त, चार अर्बको बिक्री गर्दै
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चार अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले बिहीबार मात्र रु.१,००० अंकित दरका ४४ लाख कित्ताले हुन आउने सो मात्राको “एनआईसी एशिया ऋणपत्र २०८३/८४” निष्काशन गर्न उक्त क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेकाे हाे । उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिस नारायण जोशीले हस्ताक्षर गरेका छन् । कूल चार अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (१ अर्ब७६ करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ । प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो । यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकले लिएकोे छ ।