
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चार अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले बिहीबार मात्र रु.१,००० अंकित दरका ४४ लाख कित्ताले हुन आउने सो मात्राको “एनआईसी एशिया ऋणपत्र २०८३/८४” निष्काशन गर्न उक्त क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेकाे हाे ।
उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिस नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
कूल चार अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (१ अर्ब७६ करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ ।
प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो । यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकले लिएकोे छ ।