सनराइज बैंक र बैंक अफ चाइनाबीच साझेदारी, एकअर्काबीच सहयोग गर्ने सम्झौता
काठमाडौं । सनराइज बैंक लि. तथा बैंक अफ चाइना, गान्सु शाखाबीच रणनीतिक साझेदारी सम्झौता भएको छ । सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा बैंक अफ चाइना गान्सु शाखाका नायब महाप्रवन्धक वाङ्ग झेजुनले हस्ताक्षर गरेका छन् । चीनको गान्सु प्रान्तले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गान्सु प्रान्तका गभर्नर टाङ्ग रेनजियान, कृृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल, प्रदेश नं. ३ मुख्यमन्त्री डोरमणि पौडेल तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पश्चात नेपाल तथा चीनका प्रतिष्ठित यी दुई बैंकहरु बीच आपसी सहयोग, समानता तथा दुईपक्षीय हितका कार्यहरु अघि बढ्ने बताइएको छ । सम्झौता अनुसार विद्यमान नियम र कानूनको परिधिभित्र रही सिद्धान्त र आवश्यकताको आधारमा अन्तर्राष्ट्रिय व्यापारको लागि बैंकहरुबीच आवश्यक पर्ने अन्तर सम्बन्ध कायम गर्ने, सनराइज बैंक लि.को यसअघि नै बैंक अफ चाइना सांघाई शाखामा रहेको खाता मार्फत अन्तर्राष्ट्रिय व्यापार कारोबारको हिसाब राफसाफ गर्ने तथा आयात निर्यात ब्यापारमा संलग्न ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गरी ग्राहक सिफारिस गर्ने सम्झौता समेत भएको छ । साथै, दुई बैंकबीच आपसी कारोबारको निमित्त नियमित सम्पर्कमा रहन एक छुटै संयुक्त कार्य टोली बनाउने पनि सहमति भएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालन
काठमाडौँ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पाजिल्लाको सुनिल स्मृतिगाउँपालिका–७, तेबाङ्गमा १३३औँ, कैलाली जिल्लाको बर्दगोरीया गाउँपालिका–४, मुढा बजारमा १३४ औँ, बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका–१४, हटियामा १३५औँ, सिराहा जिल्लाको अर्नामा गाउँपालिका–३, रामजानकी बजारमा १३६औँ, पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका –४, देवीनगरमा १३७ औँ र बाग्लुङ्ग जिल्लाको काठेखोला गाउँपालिका–७, रेश नुन्थलामा १३८ औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । यी शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन गरिएको बैंकले जनाएको छ । साथै बैंकले अत्तरीया शाखामा १४५औं एटिएम पनि सञ्चालनमा ल्याएको जनाएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानियबासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने जनाइएको छ ।
एशियन लाइफको बीमा सेवा जानकी फाइनान्सबाट पनि पाइने
काठमाडौँ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडबीच मंगलबार ‘जीवन बीमा सेवा’ सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा जनकपुरमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ र जानकी फाइनान्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनिशकुमार सिंहले हस्ताक्षर गरे । सम्झौतापछि जानकी फाइनान्सको सबै शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका जीवन बीमा योजनाहरु खरिद गर्न सकिने भएको छ ।