सनराइज बैंकको ऋणपत्र बाँडफाँड, डिबेन्चरधनीले १० प्रतिशत ब्याज पाउने
काठमाडौं । सनराइज बैंकले जारी गरेको डिबेन्चर(ऋणपत्र)को मंगलबार बाँडफाँड भएको छ । बैंकले चैत २० गतेदेखि बैशाख १९ गतेसम्म बिक्री खुला गरेको ऋणपत्र वैशाख ३१ गते बाँडफाँड गरेको हो । बैकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो । कम्पनी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलमार्फत १००० रुपैयाँ अंकित दरको १० लाख कित्ता सेयर बिक्री गरेको थियो । ऋणपत्र बाँडफाँड भएको दिन अर्थात बैशाख ३१ गतेदेखि नै लागू हुनेगरि डिबेन्चरधनीहरुले अर्ध वार्षिक रुपमा १० प्रतिशत ब्याज प्राप्त गर्ने बैंकले जनाएको छ । निकट भविष्यमा उक्त ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण भई डिबेन्चरधनीहरुले डिबेन्चरको खरिद बिक्रि गर्न सक्नेछन् । कूल १० लाख युनिट मध्ये ४० प्रतिशत अर्थात ४ लाख युनिट सर्वसाधारणका लागि जारी गरिएको बैंकले जनाएको छ । बाँकी ६० प्रतिशत अर्थात ६ लाख युनिट भने व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई बिक्री गरिने छ ।
सिटिजन्स बैंकबाट भाटभटेनी मनी ट्रान्सफरको बिप्रेषण सेवा पाइने
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापश्चात भाटभटेनीमनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनैपनि शाखाबाट प्राप्त गर्न सकिने भएको छ । यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने जनाइएको छ ।
कामना सेवाको ‘कामना सेवा रेमिट’ सेवा शुरु, ७५०० केन्द्रबाट भुक्तानी हुने
काठमाडौँ । कामना सेवाविकास बैंकले बुधबारबाट ‘कामना सेवा रेमिट’ शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्य, संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको शुभारम्भ गरेका हुन् । विविध विशेषताहरु सहित सम्पूर्ण शाखा तथा देशभरका करिब ७,५०० एजेन्टस् मार्फत यो सेवा प्रदान गर्न लागिएको हो । समय सापेक्ष ग्राहकहरुको आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै भविष्यमा पनि एजेन्टहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।