ग्लोबल आइएमई बैंकको एसीईओ बने बुद्धि अकेला

काठमाडौं । ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन् । यसअघि उनी बैंकको नायब महाप्रबन्धक (डीजीएम) पदमा कार्यरत थिए ।

बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगालेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए । उनी सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध छन् ।

आफ्नो लामो बैंकिङ यात्राका क्रममा उनले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षण जस्ता प्रमुख विभागहरूमा कुशलतापूर्वक जिम्मेवारी सम्हालिसकेका छन् । 

साथै उनले बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) को जिम्मेवारी समेत सम्हालेका थिए ।

यसका साथै अकेलाले बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षको भूमिकासमेत सम्हाल्दै आएका छन् । 

अकेलाले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन् । 

उनको लामो बैंकिङ अनुभव, जोखिम व्यवस्थापन तथा समग्र कार्यसञ्चालन दक्षताले बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

Share News