बाँकेको खजुरामा सिद्धार्थ बैंकको शाखा बिस्तार

काठमाडौँ । सिद्धार्थ बैंकले आइतबार बाँकेको खजुरामा शाखा बिस्तार गरेको छ । बैंकको खजुरा शाखाको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले गरेका हुन् । बैंकले देशभर १५३ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

राष्ट्र बैंकको प्रवक्तामा लक्ष्मीप्रपन्न निरौला

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी लक्ष्मीप्रपन्न निरौलालाई दिइएको छ । नियमन विभागका प्रमुख नारायणप्रसाद पौडेल नियमित अवकाशका लागि बिदामा बसेसँगै निरौलालाई उक्त जिम्मेवारी दिइएको हो । निरौला हाल मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक छन् । हाल नेपाल राष्ट्र बैंकका ५ कार्यकारी निर्देशकहरु अवकाशअघि बिदामा बसेका छन् । उनीहरुमध्ये जनकबहादुर अधिकारीको जेठ ४ गते र बाँकी ४ जनाको जेठ २५ गते कार्यकाल सकिँदैछ । त्यसपछि रिक्त कार्यकालमा हालका निर्देशकहरुमध्येबाट बढुवा गरिनेछ भने बढुवासँगै जिम्मेवारी हेरफेर हुने राष्ट्र बैंक स्रोतको दाबी छ । सामान्यतया नियमन विभागका प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी दिने प्रचलन रहे पनि उक्त पद रिक्त भएपछि निरौलालाई उक्त जिम्मेवारी तोकिएको हो । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक तहलाई प्रवक्ता र निर्देशक तहका व्यक्तिलाई सहप्रवक्ताको जिम्मेवारी दिँदै आएको छ ।

सनराइज बैंकबाट रिलायबल नेपाल लाईफको बीमा सेवा पाइने

काठमाडौं । सनराइज बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देशभर रहेका १०५ वटै शाखाहरुबाट रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्नेछ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले बैंकास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।