मुक्तिनाथ विकास बैंकले पायो तीन विधामा अवार्ड

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनेपेद्वारा आयोजित ‘फोनेपे अनर्स’ कार्यक्रममा तीनवटा अवार्ड प्राप्त गरेको छ । बैंकले डिजिटल भुक्तानी सेवाअन्तर्गत विभिन्न विधामा उत्कृष्ट कारोबार गरेबापत उक्त अवार्ड प्राप्त गरेको हो । बैंकले मोबाइल एपमार्फत सबैभन्दा धेरै रकम ट्रान्सफर गरेको विधामा ‘हाइएस्ट फोनेपे डाइरेक्ट भोल्युम (इसुअर)’, मोबाइल एपमार्फत सबैभन्दा धेरै क्यूआर भुक्तानी गरेको विधामा ‘हाइएस्ट फोनेपे क्यूआर भोल्युम (इसुअर)’ र क्यूआर मर्चेन्टमार्फत सबैभन्दा धेरै कारोबार गरेको विधामा ‘हाइएस्ट फोनेपे क्यूआर भोल्युम (एक्वायरर)’ अवार्ड प्राप्त गरेको छ । डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन तथा विस्तारमा बैंकले पुर्‍याएको योगदानको कदरस्वरूप प्राप्त यी अवार्डले बैंकको डिजिटल बैंकिङ सेवाप्रतिको प्रतिबद्धता प्रतिबिम्बित गर्ने बैंकले जनाएको छ । यस उपलब्धिले आगामी दिनमा थप सहज, सुरक्षित तथा प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्न प्रेरणा मिल्ने बैंकको विश्वास छ । बैंकले यस गौरवपूर्ण उपलब्धिमा साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहकवर्ग, साझेदार संस्था तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ । 

नारायणी डेभलपमेन्ट बैंकको सञ्चालकमा दीपक गौतम र दावा तामाङ नियुक्त

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा दीपक गौतम र दावा तामाङ नियुक्त भएका छन् । बैंकको असोज २३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले संस्थापक समूहअन्तर्गत रिक्त रहेको सञ्चालक पदमा गौतम र तामाङलाई नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका अनुसार संस्थापक सेयरधनी स्वेडा इक्विटी फण्ड लिमिटेडका तर्फबाट प्रतिनिधिका रूपमा दीपक गौतम नियुक्त भएका छन् । त्यस्तै, संस्थापक सेयरधनी दावा तामाङ पनि सञ्चालकमा नियुक्त भएका हुन् ।  नारायणी डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतप्राप्त विकास बैंक हो । यसको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा रहेको छ । 

लक्ष्मी सनराइज बैंकको सीईओ बने सुमेद भट्टराई, को हुन् उनी ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव पियुषराज अर्यालका अनुसार भट्टराईको नियुक्ति कात्तिक १५ गतेदेखि लागू हुनेछ । हाल सीईओ रहेका अजय विक्रम शाहको दोस्रो कार्यकाल पुरा भएसँगै बैंकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्टराई हाल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)का रूपमा कार्यरत थिए । व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका उनले बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका छन् । उनी सन् १९९९ सेप्टेम्बरदेखि सन् २००१ सेप्टेम्बरसम्म साविक नेपाल इन्डोस्वीज बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक)मा कार्यरत थिए । त्यसपछि सन् २००१ जनवरीदेखि सेप्टेम्बरसम्म साविक पूर्वाञ्चल ग्रामीण विकास बैंकमा सञ्चालकको भूमिका निर्वाह गरेका थिए । भट्टराई सन् २००१ सेप्टेम्बरदेखि सन् २००२ सम्म कुमारी बैंकमा कार्यरत थिए । उनी सन् २००२ देखि लक्ष्मी सनराइज बैंकमा आबद्ध छन् ।