काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बुधबार सम्पन्न २५औँ वार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकका सञ्चालक समिति अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले हाल कायम साधारण सेयरतर्फको चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको १० प्रतिशत अर्थात् १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
त्यस्तै, बैंकले १० प्रतिशतका दरले १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । नगद लाभांशमा बोनस सेयर र नगद लाभांशको कर प्रयोजनका लागि आवश्यक रकमसमेत समेटिएको बैंकले जनाएको छ ।
सभाले बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । बैंकको अग्राधिकार सेयरतर्फको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँका आधारमा १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ लाभांश वितरण गरिनेछ । उक्त लाभांश सेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मको १३६ दिनका लागि समानुपातिक रूपमा गणना गरिएको बैंकले जनाएको छ ।
यसैगरी, सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वित्तीय विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण र स्वपुँजीमा भएको परिवर्तनसम्बन्धी विवरण पारित गरेको छ ।
सभाले बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्तावसमेत स्वीकृत गरेको बैंकले जनाएको छ ।