नेपाल क्लियरिङ हाउसको १५.७८ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको असोज २८ गते सम्पन्न १५औँ वार्षिक साधारण सभाले उक्त लाभांश प्रस्ताव पारित गरेको हो । सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत स्वीकृत गरेको छ ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ६७ करोड ७२ लाख ८८ हजार २०० रुपैयाँ पुग्नेछ । कम्पनीले पुँजी वृद्धिबाट प्राप्त स्रोत राष्ट्रिय भुक्तानी प्रणालीको विस्तार, राष्ट्रिय तथा अन्तरदेशीय कारोबारका लागि थप भुक्तानी प्रणाली विकास, जोखिम व्यवस्थापन सुदृढीकरण र सञ्चालनमा रहेका पूर्वाधारको स्तरोन्नतिमा उपयोग गर्ने जनाएको छ ।

एनसीएचएलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीका भुक्तानी प्रणालीमार्फत कुल २१० खर्ब रुपैयाँ बराबरका २३ करोड ८२ लाख कारोबार राफसाफ भएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा कारोबारको संख्या तथा रकममा १३ प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ ।

कारोबारमा भएको वृद्धिसँगै कम्पनीको सञ्चालन आम्दानी ७ प्रतिशत बढेको छ । तर, कम्पनीको खुद नाफा ४१ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशत कम हो ।

सभाले बैंकिङ, वित्तीय तथा भुक्तानीसम्बन्धी प्रविधि र सफ्टवेयरको अनुसन्धान तथा विकासका लागि छुट्टै सार्वजनिक कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारीसमेत दिएको छ । प्रस्तावित कम्पनीले वित्तीय क्षेत्रका लागि आवश्यक प्रविधि तथा सफ्टवेयरको विकास, जडान र सम्बन्धित काम गर्नेछ ।

नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरूको ९०.५५ प्रतिशत स्वामित्व रहेको एनसीएचएलमा नेपाल राष्ट्र बैंकसहित ५३ बैंक तथा वित्तीय संस्था सदस्य छन् । त्यस्तै, १५० भन्दा बढी गैरबैंकिङ संस्था प्राविधिक सदस्यका रूपमा आबद्ध छन् ।

कम्पनीले राष्ट्रिय भुक्तानी प्रणाली तथा विभिन्न विद्युतीय भुक्तानी उपकरण सञ्चालन गर्दै आएको छ । 

Share News