बाढीपीडितका लागि कृषि विकास बैंकको १० लाख बराबरको खाद्य सामग्री सहयोग

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ । बैंकले करिब २०० बाढीपीडित परिवारलाई पुग्ने गरी चामल, दाल, तेल, नुन, चिउरा, बिस्कुट, चाउचाउ, दालमोठ, मस्यौरा, चना, भुजा, पिउने पानीलगायत अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको जनाएको छ । सरकारको आधिकारिक राहत सङ्कलन केन्द्रमा आयोजित कार्यक्रममा बैंकका मार्केटिङ एन्ड सेल्स विभाग प्रमुख बीना शर्माले राहत सामग्री हस्तान्तरण गरिन् । कार्यक्रममा बैंकका वरिष्ठ शाखा प्रमुख महेश्वर मरहठ्ठा, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, व्यवसाय अधिकृत मणिराज ढुंगाना र कार्यालय सहायक बबिता अर्याललगायतको उपस्थिति थियो । कृषि विकास बैंकले देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएको र हजारौं नागरिक प्रभावित भएको अवस्थामा राहत र उद्धारमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ । बैंकले यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ आर्थिक सहयोग गरिसकेको उल्लेख गर्दै विपद्पीडित नागरिकको राहत र पुनर्स्थापनामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यसैबीच, बैंकले देश तथा विदेशमा रहेका संघसंस्था र व्यक्तिलाई पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितलाई सहयोग गर्न अपिल गरेको छ । साथै, राहत कोषमा सहयोग गर्न बैंक खाता र क्यूआर कोडसमेत सार्वजनिक गरिएको जनाएको छ ।

बाढीपीडितका लागि माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका अध्यक्ष रोशन केसीले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । भदौ १० गते आएको बाढी र पहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको अवस्थामा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ । बैंकले विपत्तिपछि प्रभावित क्षेत्रमा खाद्यान्न, ओढ्ने–ओछ्याउने तथा दैनिक उपभोगका अन्य राहत सामग्री पनि उपलब्ध गराइसकेको जनाएको छ । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको सहयोगले बाढीपीडित नागरिकको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् र सामाजिक संकटका समयमा राहत तथा मानवीय सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि विपद्प्रभावित समुदायको साथमा रहने प्रतिबद्धता जनाएको छ ।

बाढीपीडितका लागि हिमालयन बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । भदौ १० गते बिहान रसुवा जिल्लाबाट बग्ने भोटेकोशी नदीमा गेग्रानसहित आएको आकस्मिक बाढीले भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती तथा अन्य प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । बैंकले उक्त अप्रत्याशित विपद्मा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, उद्धार, राहत र पुनर्स्थापनाको कार्यमा जुट्न सम्बन्धित सबै निकाय र नागरिकलाई आग्रह गरेको छ । हिमालयन बैंकले विपद्को यस कठिन समयमा प्रभावित समुदायको साथमा रहँदै सक्दो सहयोग गर्न सदैव प्रतिबद्ध रहने जनाएको छ ।