बैंकहरूको 'अटो लोन' होड: ४.६६ प्रतिशतमै गाडी कर्जा, कुन बैंकको अफर कस्तो ?
काठमाडौं । १८औं नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले अटो लोनमा विभिन्न आकर्षक योजना ल्याएका छन् । ग्राहकलाई सहज र तुलनात्मक रूपमा सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने उद्देश्यले बैंकहरूले ब्याजदर, सेवा शुल्क, कर्जा अवधि र ईभी कर्जामा विशेष सुविधा दिएका छन् । नाडा अटो शोमा सरकारी तथा निजी क्षेत्रका गरी १३ वटा वाणिज्य बैंक सहभागी छन्। यी बैंकमध्ये अटो लोनको ब्याजदर ४.६६ प्रतिशतदेखि ५.९९ प्रतिशतसम्म रहेको छ। बैंकअनुसार कर्जाको अवधि, ब्याजदरको प्रकृति र अन्य शुल्क भने फरक-फरक छन् । अटो लोनमा कृषि विकास बैंकले सबैभन्दा कम ४.६६ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ । बैंकले ७ वर्षसम्मको अवधिका लागि कर्जा उपलब्ध गराउनेछ। साथै, सेवा शुल्क र ब्याजदर प्रिमियममा ३३.३३ प्रतिशत छुट दिने योजना ल्याएको छ । ईभी सवारी खरिद गर्ने ग्राहकका लागि कृषि विकास बैंकले सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ । त्यस्तै, नेपाल बैंकले ४.९४ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ। अटो शो अवधिभर यही ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले ५.०२ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ। फ्लोटिङ रेटमा उपलब्ध हुने यो कर्जाको अवधि ७ वर्षसम्म रहनेछ । बैंकले अधिकतम १ करोड रुपैयाँसम्म अटो लोन उपलब्ध गराउने जनाएको छ । सेवा शुल्क सामान्य अवस्थामा ०.७५ प्रतिशत रहेकामा अटो शो अवधिमा ०.५० प्रतिशत कायम गरिएको छ । नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ । बैंकले २० प्रतिशत डाउन पेमेन्टमै कर्जा सुविधा उपलब्ध गराउने योजना ल्याएको छ । योजनाअनुसार ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट र २० प्रतिशत क्रेडिट कार्डबाट भुक्तानी गर्नेछन् भने बाँकी ६० प्रतिशत रकम बैंकले कर्जाका रूपमा उपलब्ध गराउनेछ । एनआईसी एसिया बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ७ वर्षसम्मका लागि अटो लोन दिने भएको छ । अधिकांश बैंकले फ्लोटिङ ब्याजदरमा कर्जा दिइरहेका बेला एनआईसी एसियाले स्थिर ब्याजदरको विकल्प पनि ल्याएको हो । बैंकले फ्लोटिङ रेटमा समेत अटो लोन उपलब्ध गराउँदै आएको जनाएको छ । ईभी सवारीका लागि भने ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिने बैंकको भनाइ छ । ग्लोबल आईएमई बैंकले ईभी सवारीका लागि ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ । बैंकले स्थिर ब्याजदरमा पनि कर्जा उपलब्ध गराउनेछ । ७ वर्ष अवधिको कर्जामा पहिलो ३ वर्षका लागि ५.१७ प्रतिशत ब्याजदर कायम हुनेछ । त्यसपछिको ४ वर्षमा सम्बन्धित अवधिको बेस रेटमा २ प्रतिशत जोडेर ब्याजदर निर्धारण गरिने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकले ५.४५ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ । नाडा अटो शोलाई लक्षित गरी ल्याइएको यो योजनामा कर्जाको अवधि १० वर्षसम्म राखिएको छ । अन्य अधिकांश बैंकले ७ वर्षसम्मको कर्जा अवधि राखेका बेला माछापुच्छ्रेले लामो अवधि रोजेको हो । कर्जाको सेवा शुल्क ०.५० प्रतिशत रहेकामा अटो शो अवधिभर ०.२५ प्रतिशत छुट दिइएको बैंकले जनाएको छ ।त्यस्तै, प्रभु बैंकले ५.४४ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ । बैंकका अनुसार आधारदरमा अधिकतम ०.५० प्रतिशत प्रिमियम थप हुनेछ । लक्ष्मी सनराइज बैंकले ५.४९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ । ७ वर्ष अवधिको यो कर्जा फ्लोटिङ रेटमा हुनेछ । बैंकले सेवा शुल्क ०.५० प्रतिशत लिने जनाएको छ । त्यस्तै कुमारी बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले क्रमशः ५.२१ प्रतिशत, ५.५४ प्रतिशत, ५.९६ प्रतिशत र ५.१३ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएका छन् । यी बैंकहरूले ७ वर्षसम्मको अवधिका लागि फ्लोटिङ ब्याजदरमा कर्जा उपलब्ध गराउनेछन्। सेवा शुल्क ०.५० प्रतिशत रहने जनाइएको छ। नाडा अटो शोमा बैंकहरूले ब्याजदरमा मात्र नभई कर्जा अवधि, सेवा शुल्क, डाउन पेमेन्ट र ईभी सवारीमा उपलब्ध कर्जा सीमामा समेत विभिन्न सुविधा दिएका छन् ।
बाढीपीडितका लागि प्राइम कमर्सियल बैंकको ३ करोड ८ लाख सहयोग
काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्राइम कमर्सियल बैंकले ३ करोड ८ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ नगद र ७ लाख रुपैयाँ बराबरका खाद्यान्न सामग्री सहयोग गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा मानवीय दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले प्रभावित नागरिकको उद्धार, राहत वितरण र पुनःस्थापनामा सहयोग पु‍र्याउने उद्देश्यले उक्त योगदान गरेको जनाएको छ । बैंकले यसअघि पनि विभिन्न विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि प्राकृतिक विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै आवश्यक सहयोगलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ ।
बाढीपीडितको साथमा विकास बैंकर्स एसोसिएसन, उद्धारदेखि पुनःस्थापनासम्म सहयोग गर्ने प्रतिबद्धता
काठमाडौं । देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोलगायत प्राकृतिक विपदबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले गहिरो दुःख व्यक्त गरेको छ । एसोसिएसनले बुधबार भोटेकोशी खोलामा आएको भीषण बाढीलगायतका प्राकृतिक विपद्का कारण मुलुक गम्भीर संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै विपदमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिहरूको सकुशल उद्धारको कामना गरेको छ । एसोसिएसनले विपद्का बीच उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका स्थानीय समुदाय, नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी तथा उद्धारकर्मीप्रति कृतज्ञता व्यक्त गरेको छ । उद्धारमा संलग्न सबैको सुरक्षा र स्वास्थ्यप्रति समेत विशेष ध्यान दिन आग्रहसमेत गरेको छ । विपद्का कारण बैंक तथा वित्तीय संस्थामा कार्यरत केही कर्मचारीसमेत सम्पर्कविहीन तथा बेपत्ता रहेको भन्दै एसोसिएसनले उनीहरूका परिवारप्रति सहानुभूति प्रकट गरेको छ । बाढीका कारण सदस्य विकास बैंकका केही शाखा पनि प्रभावित भएको एसोसिएसनले जनाएको छ । विद्युत् आपूर्ति, नेटवर्क तथा सञ्चार सेवामा आएको अवरोधका कारण बैंकिङ सेवा प्रभावित भए पनि सम्भव भएसम्म सेवा निरन्तरता कायम गर्न प्रयास भइरहेको जनाएको छ । असामान्य परिस्थितिमा आफ्ना सदस्य विकास बैंकमार्फत राहत, उद्धार, सेवा निरन्तरता तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्न एसोसिएसन प्रतिबद्ध रहेको बताएको छ ।