बाढीपीडितका लागि राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघद्वारा १ लाखभन्दा बढी सहयोग
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले बाढीबाट प्रभावित नागरिकहरूका लागि १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बुधबार चीनतर्फबाट अचानक आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति भएपछि संघले ’राबिया नेपाल रिलिफ फण्ड’ मार्फत आम कर्मचारीहरूको तर्फबाट सो रकम सहयोग स्वरूप उपलब्ध गराउने निर्णय गरेको हो । संघका अध्यक्ष रविन्द्र प्रसाद चौलागाईं र महासचिव ऋषिराम ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा बाढीका कारण ठूलो संख्यामा नागरिकहरू विस्थापित हुनुका साथै पुगेको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ । संघले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको यथाशीघ्र उद्धार तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ । यसैगरी, बाढीबाट प्रभावित परिवारहरूलाई आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्री, अस्थायी आवास लगायतका आधारभूत राहत उपलब्ध गराउन सरकार तथा सम्बन्धित सबै पक्षसँग आग्रह गरिएको छ । बाढीका कारण क्षति व्यहोरेका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय, कर्मचारी र उनीहरूका परिवारलाई आवश्यक राहत, सहयोग तथा पुनःस्थापनामा ध्यान पुर्याउन बैंक व्यवस्थापन तथा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै विपद्को यस दुःखद् घडीमा सबैको साथ, सहयोग र ऐक्यबद्धता आवश्यक रहेको संघले जनाएको छ ।
बाढीपीडितको राहतका लागि नेपाल बैंकद्वारा प्रधानमन्त्री कोषमा ३ करोड १ लाख सहयोग
काठमाडौं । बुधबार बिहान त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि नेपाल बैंक लिमिटेडले ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत उक्त रकम ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा प्रदान गरेको हो । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले प्राकृतिक विपत्तिको कठिन समयमा बाढीपीडितका लागि ठूलो आर्थिक सहयोग पुर्याएकोमा नेपाल बैंक परिवारलाई धन्यवाद ज्ञापन गरे । सञ्चालक समिति सदस्य लम्सालले महाभूकम्प, महामारी तथा विभिन्न राष्ट्रिय विपद्का बेला बैंकले गर्दै आएको सहयोगकै निरन्तरता स्वरूप यो सहयोग उपलब्ध गराइएको स्पष्ट पार्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई जारी राख्ने प्रतिबद्धता जनाए । साथै बैंकले बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य बद्री खनाल, प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का तथा सुशासन डिभिजन प्रमुख होमनाथ दाहालको उपस्थिति रहेको थियो ।
बाढीपीडितका लागि एनआईसी एशिया बैंकले दियो २ करोड २१ लाख
काठमाडौं । भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एनआईसी एशिया बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत २ करोड रुपैयाँ तथा सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ नगद सहयोग गरेको हो । बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्यले संयुक्त रूपमा बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको जनाएको छ । बैंकले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै सम्पर्कविहीन नागरिकको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम बढिरहेको छ ।