नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्य बन्यो निफ्रा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रूपमा आबद्ध भएको छ । निफ्रा एसोसिएट सदस्य बनेसँगै नेपाल बैंकर्स संघको संस्थागत सञ्जाल थप विस्तार भएको छ । निफ्राको सदस्यताले पूर्वाधार वित्त, दीर्घकालीन लगानी, स्रोत परिचालन तथा जोखिम व्यवस्थापनलगायतका क्षेत्रमा देखिएका नीतिगत तथा व्यावहारिक चुनौतीलाई सम्बन्धित सरोकारवालासमक्ष सामूहिक रूपमा प्रस्तुत गर्न सहयोग पुग्ने संघले जनाएको छ । त्यस्तै, आवश्यक साझा धारणा निर्माण, नीतिगत सिफारिस तथा सुझाव प्रस्तुत गर्नसमेत यस सहकार्यले थप आधार प्रदान गर्ने विश्वास गरिएको छ । निफ्राको पूर्वाधार वित्त तथा लगानीसम्बन्धी अनुभव र विशेषज्ञताबाट संघका अध्ययन, अनुसन्धान, नीतिगत संवाद तथा ज्ञान आदानप्रदानमा साझा सिकाइका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।
भोटेकोशी बाढीपीडितका लागि ज्योति विकास बैंकको १ करोड सहयोग
काठमाडौं । ज्योति विकास बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कुल १ करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ प्रदान गरेको छ । साथै बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लामा सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि समुदायस्तरमा सञ्चालन हुने विभिन्न कार्यक्रममार्फत थप ५० लाख रुपैयाँसम्म चरणबद्ध सहयोग उपलब्ध गराउने जनाएको छ । बैंकले विनाशकारी बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै विपत्तिबाट प्रभावित परिवार तथा समुदायप्रति साथ, सहानुभूति र ऐक्यबद्धता रहेको जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा सुरक्षा कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति बैंकले सम्मान व्यक्त गरेको छ । हाल बैंकले उपत्यका तथा उपत्यकाबाहिर ११७ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
एनएमबि बैंकले भोटेकोशी बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि एनएमबि बैंक लिमिटेडले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्षले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्रीलाई चेक हस्तान्तरण गरेका हुन् । साथै बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्री समेत उपलब्ध गराएको जनाएको छ । विपद्को यस कठिन अवस्थामा प्रभावित नागरिकको साथमा उभिँदै सहयोग गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार उक्त सहयोगबाट प्रभावितको उपचार, खाद्यान्न तथा आवास व्यवस्थापनसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनःस्थापनामा सहयोग पुग्ने विश्वास गरिएको छ ।