सानिमा बैंकको २१ वर्ष पूरा, सातै प्रदेशमा सेवा जारी
काठमाडौं । सानिमा बैंक लिमिटेडले मंसिर २१ गते स्थापना भएको २१ वर्ष पूरा गरेको छ । दुई दशकभन्दा बढी समयदेखि निरन्तर सेवा, दायित्व र प्रतिबद्धताका साथ बैंकिङ क्षेत्रको विश्वसनीय संस्थाका रूपमा स्थापित हुँदै आएको सानिमा बैंकले यस अवसरमा २१औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले ग्राहक तथा सरोकारवालाले बैंकिङ यात्राभर प्रदान गरेको निरन्तर विश्वास र सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । बैंक परिसरमा आयोजित कार्यक्रमका क्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले बैंक २१ वर्षको यात्रामा सघाइरहेका सबै कर्मचारी, ग्राहक तथा सरोकारवालालाई बधाई ज्ञापन गर्दै आगामी दिनमा सामूहिक प्रयासमार्फत बैंकको लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक्त गरे । हाल सानिमा बैंकका सातै प्रदेशमा १३४ वटा कार्यालय तथा १२७ वटा एटीएम सेवा संचालनमा छन् । बैंकले आगामी दिनमा ग्राहकमैत्री सेवा र प्रविधिमैत्री बैंकिङ विस्तार गर्दै आफ्नो वित्तीय सेवाको दायरा थप बिस्तार गर्ने योजना जनाएको छ ।
८० वर्षको उमेरसम्म सक्रिय बैंकिङमा, अवकाशको २ वर्षपछि निधन
काठमाडौं । पूर्वबैंकर नारायणदास मानन्धरको निधन भएको छ । प्राइम बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका मानन्धरको ८२ वर्षको उमेरमा आइतबार निधन भएको हो । उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको स्रोतले जनाएको छ । ५५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका मानन्धरले विसं २०८० साउन १६ गते अवकाश पाएका थिए । प्राइममा उनले १६ वर्ष सीईओको भूमिका निर्वाह गरेका थिए । बैंकिङ क्षेत्रमा एक हस्तीमा रूपमा चिनिएका मानन्धरले प्राइम बैंकलाई छोटो समयमै उचाइमा पुर्याएका थिए । विसं २०२५ सालमा बैंकिङ क्षेत्रमा प्रवेश गरेका मानन्धर ८० वर्षको उमेरसम्म सक्रिय रहेका थिए । केही समय युवक मावि र युथ क्याम्पसमा अध्यापनसमेत गरेका मानन्धरले धानचामल गोदाम व्यवस्थापन कम्पनीको महाप्रबन्धक समेत बनेका थिए । उनले सुरुमा भूमिसुधार तथा बचत सहकारी संस्थामा काम गरेका थिए । त्यो सहकारी संस्था कृषि विकास बैंकमा गाभिएपछि उनी पनि कृषि विकास बैंकमा आबद्ध भए । त्यसपछि उनले राष्ट्रिय वाणिज्य बैंकमा उच्च व्यवस्थापनमा रहेर लामो समय काम गरेका थिए । नेपालमा समस्याग्रस्त बैंकहरूको सुधार गर्ने व्यक्तिको छवि बनाइसकेका मानन्धरले विसं २०६१ सालमा राष्ट्रिय वाणिज्य बैंकबाट अवकाश लिएका थिए । साथै उनले तत्कालीन नेपाल बंगलादेश बैंक र लुम्बिनी बैंकको सीईओको समेत भूमिका निर्वाह गरेका थिए । मानन्धरलाई बैंकिङ क्षेत्रमा धेरैले प्रेरणाको स्रोतका रूपमा पनि लिने गर्छन् । बैंकका सञ्चालक डा. गजेन्द्र विष्टका अनुसार मानन्धर श्री १००८ ब्रम्हवित परमहंस योगी सच्चितानन्द सरस्वती खप्तड बाबाका अनुयायी समेत रहेको उनले बताए । नेपाल राष्ट्र बैंकले बैंकका सीईओले दुई कार्यकाल बढी समय काम गर्न नपाउने व्यवस्था गरेपछि उनी अदालतसमेत पुगेका थिए । पछि सर्वोच्च अदालतले उनलाई काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । उनको शोभाभगवतीमा दाहसंस्कार हुँदैछ ।
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई क्यूरा हेल्थका सेवामा छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रालिबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी भएको छ । सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले क्यूरा हेल्थद्वारा प्रदान गरिने विभिन्न सेवा शुल्कमा छुट प्राप्त गर्नेछन् । ललितपुरको ज्वागलमा अवस्थित क्यूरा हेल्थले उपलब्ध गराइने प्याथोलोजी ल्याबका विभिन्न सेवामा (निःशुल्क होम–डेलिभरी सुविधा सहित) तथा अन्य स्वास्थ्य प्याकेजहरूमा बिल रकमको १२ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बैंकले जनाएको छ । सम्झौतापत्रमा मंसिर १९ गते नेपाल बैंक लिमिटेडको तर्फबाट बजारकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र क्यूरा हेल्थ प्रालिका तर्फबाट प्रबन्धक शीतल प्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यान्वयनसँगै नेपाल बैंकका कर्मचारी तथा ग्राहकले क्यूरा हेल्थ प्रालिद्वारा उपलब्ध गराइने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभ लिन सक्ने भएका छन् ।