चालु खाता १ खर्ब ६९ अर्ब र शोधनान्तर १ खर्ब ८७ अर्ब बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँ र शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ३० अर्ब ९७ करोड रुपैयाँले बचतमा थियो । यस वर्ष चालु खाताको बचत बढेको छ । अमेरिकी डलरमा गत वर्षको पहिलो दुई महिनामा ९३ करोड ६७ लाख डलरले बचतमा रहेको चालु खाता यस वर्ष १ अर्ब ११ करोड डलरले बचतमा रहेको छ ।

त्यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर बचत १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा गत वर्ष १ अर्ब १० करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्ष १ अर्ब २३ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब २० करोड रुपैयाँ थियो । यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) २ अर्ब ९८ करोड रुपैयाँ भित्रिएको छ । गत वर्षको सोही अवधिमा यस्तो लगानी १ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा चालु खाता र शोधनान्तर दुवैको बचत बढेको छ । प्रत्यक्ष वैदेशिक लगानीसमेत अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ । 

Share News