१ अर्ब रुपैयाँ बढी नोक्सानी, बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ
काठमाडौं । प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुजित शाक्य पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको थप कसुरमा बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन भन्ने सुजित शाक्य पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक तथा सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिए । शाक्य ललितपुर महानगरपालिका-१७, कनिवहालका हुन् । उनी बैंकको रेमिट्यान्स डिपार्टमेन्ट हेड छन् । उच्च अदालत पाटनबाट पक्राउ पुर्जी अनुमति लिई मंसिर २४ गते ललितपुरको ईखांछेबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए । ‘रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंकलाई हानी र आफ्नो स्वार्थ समूह अन्तर्गतको प्रभु मनी ट्रान्सफरलाई फाइदा हुने गरी रेमिट बापतको प्रीफण्डिङ दिन सक्ने कानूनी व्यवस्थाको दुरुपयोग गरी गराई प्रिफण्डिङ नाममा नियम विपरीत रकम दिएको र सो बापत नियमानुसार ब्याज समेत नलिई प्रभु बैंकलाई १ अर्ब रुपैयाँ भन्दा बढी रकम हानी नोक्सानी पुर्याएको प्रारम्भिक अनुसन्धानको क्रममा देखियो,’ उनले भने । सूचना अधिकारी श्रेष्ठका अनुसार सोही मुद्दामा सीआईबीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत (सीसीओ) रिवास श्रेष्ठ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । साथै गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ‘नियम विपरित सुपर एजेन्ट बनाई रेमिटन्स कारोबार गर्ने प्रभु म्यानेजमेन्टलाई एडभान्स रकम दिई उक्त प्रभु म्यानेजमेन्टसँग रेमिट कारोबार स्थगित भए पश्चात समेत नेपाल राष्ट्र बैंकको निर्देशन तथा कानुन विपरीत लामो समयसम्म स्वार्थ समूहलाई उक्त रकम प्रयोग गर्न दिई बैंकलाई ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ हानी नोक्सानी पुर्याएको र सोही अपराधलाई लुकाउन कर्जा प्रवाह गराई कर्जा दुरुपयोग गराउने कार्यमा संलग्न आरोपमा सीईओ शेरचनमाथि बैंकिङ कसुरमा अनुसन्धान भइरहेको छ,’ सीआईबीका सूचना अधिकारी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भने । (भूलवस यसअघि फोटो फरक परेकोमा क्षमाप्रार्थीसहित सच्याइएको छ-सम्पादक )
१८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा बुधबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ पुष १३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।
रमेश गुप्ता मेमोरियलले महालक्ष्मी डेभलपमेन्टसँगको सहकार्यमा क्यान्सर अस्पताललाई गर्यो सहयोग
काठमाडौं । नेपालमा बाल क्यान्सर उपचार सेवालाई सुदृढ बनाउने तथा उपचारलाई अझ सुलभ र पहुँचयोग्य बनाउन सञ्चालित प्रयास अन्तर्गत रमेश गुप्ता मेमोरियल ट्रष्टले महालक्ष्मी डेभलपमेन्ट बैंकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड उपलब्ध गराएको छ । यसले अस्पतालको बालक क्यान्सर सेवाहरूलाई सुदृढ बनाउनेछ र आईसीयू क्षमतालाई १५ बेडसम्म पुर्याउनेछ । साथै नेपालमा क्यान्सर उपचार गरिरहेका बालबालिकाका लागि आवश्यक उपचार अझ पहुँचयोग्य बनाउन मद्दत गर्नेछ । यो पहल देशभर बाल क्यान्सर हेरचाह प्रणाली सुलाव पार्न थालिएको ठूलो प्रयासको हिस्सा हो । यसका साथै, हाम्रो विश्वव्यापी साझेदार वर्ल्ड चाइल्ड क्यान्सको सहकार्यमा नेपालका सबै सातै प्रदेशमा स्थापना भएका साझा उपचार केन्द्रहरूलाई उपकरण, क्षमता र आवश्यक सहयोग प्रदान गर्दै ट्रष्टले जनाएको छ । यी केन्द्रहरूले उपचारलाई विकेन्द्रीकरण गर्न महत्वपूर्ण भूमिका खेल्छन्, जसले गर्दा बालबालिकाहरू आफ्नो घर नजिकै सुरक्षित र समयमै उपचार पाउन सक्छन् र बारम्बार लामो दुरीको यात्रा गरिराख्नु पर्ने आर्थिक र मानसिक तनावलाई पनि कम गर्दछ । उक्त ट्रष्ट बाल क्यान्सर उपचारको परिणाम सुधार गर्न ३६०–डिग्री दृष्टिकोणसहित कार्यरत स्वास्थ्यकर्मी तालिमदेखि जनचेतना अभिवृद्धि, क्षमता तथा दक्षता विकासदेखि परिवारलाई आर्थिक, भावनात्मक र मनोसामाजिक सहयोग प्रदानसम्म ट्रष्टको उद्देश्य नेपाली बालकहरूले क्यान्सरविरुद्धको लडाइँमा गुणस्तरीय उपचार, आशा र बाँच्ने निष्पक्ष अवसर प्राप्त गर्न सहयोग गर्नु हो । ट्रस्टका अनुसार नेपालमा बाल क्यान्सरको उपचार परिणाम सुधार गर्न सहकार्य, लगानी र दीर्घकालीन दृष्टिकोण अत्यन्तै आवश्यक छ । यसको जारी प्रयासले हरेक बालबालिकाले, चाहे जहाँ बसोबास गरे पनि, गुणस्तरीय क्यान्सर उपचार पहुँच पाउन र बाँच्ने र जीवन सफल बनाउन उचित अवसर पाउन सक्ने प्रणाली निर्माण गर्ने प्रतिबद्धता देखाउँछ ।