१५ प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो असोज १४ गते साधारण सभा

काठमाडौं । १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले असोज १४ गते आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान १० बजे ३२औँ वार्षिक साधारण सभा बोलाएको हो ।  सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।  सभाबाट संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावली संशोधन र चालु आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्नेछ ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । 

गरिमा विकास बैंकद्वारा शेयरधनीहरूलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफामार्फत आफ्ना शेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । (भाद्र १८ गते) बिहीबार बसेको सञ्चालक समितिको ३५१औं बैठकले हाल कायम चुक्ता पुँजी  ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसाको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी २०औं वार्षिक साधारण–सभाबाट पारित भएपश्चात् शेयरधनीहरूमा वितरण गरिने बैंकले जनाएको छ । प्रस्तावित १० प्रतिशत बोनस शेयर जारी भएपश्चात् बैंकको चुक्ता पुँजी वृद्धि भई ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा पुग्नेछ ।  काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले हाल देशभर रहेका १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

महालक्ष्मी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग प्रदान गरेको छ ।  उक्त भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशूली, देवीघाट लगायतका स्थानहरूमा अकल्पनीय र अत्याधिक मात्रामा जनधनको क्षति पुर्‍याएको छ ।  यस विषम परिस्थितिको सामना गर्नका लागि बैंकको तर्फबाट र बैंकमा कार्यरत कर्मचारीहरूको तर्फबाट एक दिन बराबरको पारिश्रमिक समेत जोडेर सो रकम सहयोग गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विपत्तिको यस कठिन घडीमा जीवन गुमाएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति बैंकले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, बाढीका कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । महालक्ष्मी विकास बैंकले प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत, उद्धार तथा पुनस्थापनाको लागि सम्बन्धित निकाय तथा सरोकारवालाहरूबाट भइरहेका प्रयासहरूमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।