काठमाडौं । नेपालमा औपचारिक बैंकिङ सेवाको सुरुवात गर्ने संस्था नेपाल बैंकको इतिहास मुलुकको आर्थिक तथा वित्तीय विकाससँग जोडिएको छ । वि.सं १९९४ कात्तिक ३० गते स्थापना भएको यस बैंकले ग्रामीण क्षेत्रदेखि सहरी क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाउन भूमिका खेल्दै आएको छ ।
सर्वसाधारणका साना–साना बचत निक्षेपका रूपमा संकलन गरी औद्योगिक, व्यावसायिक तथा कृषि क्षेत्रको विकासका लागि कर्जा प्रवाह गर्नु बैंकको प्रमुख कार्यमध्ये एक हो । सरकारी कारोबार र पेन्सन भुक्तानीमार्फत ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पु¥याउनुका साथै देशभर वाणिज्य बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकको योगदान नेपालको वित्तीय प्रणालीमा महत्त्वपूर्ण मानिन्छ ।
नेपाल बैंकमा संस्थापक सेयरधनीको ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको ४९ प्रतिशत स्वामित्व छ । संस्थापक सेयरअन्तर्गत नेपाल सरकार र कर्मचारी सञ्चय कोषको समेत हिस्सा रहेको छ । यही स्वामित्व संरचनाका कारण बैंकको सञ्चालक समितिमा सरकारी निकाय तथा कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व रहँदै आएको छ ।
बैंकको नेतृत्व अहिले पिताम्बर भण्डारीले गरिरहेका छन् । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भण्डारी नेपाल धितोपत्र बोर्डको सञ्चालकसमेत बनेका थिए । केन्द्रीय बैंकमा काम गरेको अनुभव र धितोपत्र बजारको नियामक निकायमा जिम्मेवारी सम्हालेको पृष्ठभूमि भएका भण्डारी बैंकको अध्यक्ष छन् ।
बैंकको सञ्चालक समितिमा देवराज जोशी, साधना घिमिरे, बद्री खनाल र सुवास खड्का सदस्य छन् । समितिमा सरकारी निकायको प्रतिनिधित्वसँगै निजी क्षेत्रको व्यावसायिक अनुभव पनि समेटिएको छ ।
सहसचिव देवराज जोशी अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण तथा अनुसन्धान महाशाखामा कार्यरत छन् । उनी मन्त्रालयको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक बनेका हुन् । साधना घिमिरे पनि अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा छिन् ।
त्यस्तै, कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक सुवास खड्का कोषको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक बनेका छन् । यसरी बैंकको सञ्चालक समितिमा सरकारी निकाय र संस्थागत लगानीकर्ताको प्रतिनिधित्व रहेको छ ।
सञ्चालक बद्री खनाल बैंकिङ, सञ्चालन तथा आतिथ्य व्यवस्थापन क्षेत्रमा अनुभव भएका व्यवसायी हुन् । वित्तीय योजना, व्यवसाय विकास, वार्ता, ग्राहक सेवा तथा सञ्चालन व्यवस्थापनमा उनको अनुभव रहेको छ । उनी जुलाई २०२५ देखि बैंकको सञ्चालकका रूपमा कार्यरत छन् ।
खनालसँग साबिक जनता बैंक नेपाल र सिद्धार्थ डेभलपमेन्ट बैंकको सञ्चालक समितिमा काम गरेको अनुभव छ । हाल उनी रिभल्भिङ इन्भेस्टमेन्ट कम्पनी प्रालि र ई–रिभल्भिङ इन्डियन कुजिन रेस्टुरेन्ट प्रालिका प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन् । यसअघि उनले काठमाडौं रिभल्भिङ रेस्टुरेन्ट प्रालिको सञ्चालकका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए ।