ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ । यससँगै बैंकले लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको हो ।

बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि ग्लोबल फाइनान्सको यही अवार्ड प्राप्त गरेको थियो । थाइल्यान्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलाई मूल्याङ्कनको आधार बनाएको जनाएको छ ।

समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरूलाई विभिन्न विधामा सम्मानित गरिएको थियो । सम्मानित हुने संस्थाहरूमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आइसीबीसी, मलेसियाको यूओबी मलेसिया, बंगलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत रहेका थिए ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक हो । बैंकले यस सम्मानले थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहन मिलेको जनाएको छ । साथै, बैंकको प्रगतिमा सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय, सेयरधनी, कर्मचारी तथा ग्राहकप्रति आभार व्यक्त गरेको छ ।

बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, युरोमनी अवार्ड फर एक्सिलेन्स सन् २०२२, २०२४ र २०२५ तथा ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ । बैंकले आधुनिक प्रविधि र ग्राहक सेवामा जोड दिँदै विभिन्न विधामा अवार्ड प्राप्त गर्दै आएको छ । 

Share News