काठमाडौं । कृषि विकास बैंक लिमिटेडको साहित्यिक पत्रिका ‘समष्टि’को १२२औँ अङ्क विमोचन गरिएको छ । बिहीबार बैंकको मुख्य कार्यालयस्थित सभाहलमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य विनोदकुमार गुरागाईंले पत्रिकाको विमोचन गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि गुरागाईंले साहित्यप्रेमी मानिसको चरित्र कोमल र असल हुने बताउँदै सबै मानिस साहित्यप्रेमी हुनुपर्ने धारणा व्यक्त गरे । उनले ‘समष्टि’ले नेपाली साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै पत्रिकाको निरन्तर प्रकाशनका लागि शुभकामना दिए ।
कार्यक्रमको सभापतित्व गरेका बैंकका प्रमुख कार्यकारी अधिकृत तथा ‘समष्टि’का संरक्षक गोविन्द गुरुङले आफू साहित्यको साधक नभए पनि कला, सङ्गीत र साहित्यमा रुचि रहेको बताए । उनले आर्थिक वर्ष २०८३/८४ देखि ‘समष्टि’लाई चौमासिक रूपमा प्रकाशन गर्न थालिएको र आगामी दिनमा द्वैमासिक बनाउने योजना रहेको जानकारी दिए ।
गुरुङले लमजुङ क्षेत्रमा वि.सं. १९६० को दशकमा प्रचलित ‘ओराली जाने’ भनाइसँग सम्बन्धित कविता पनि सुनाएका थिए । उनले पत्रिका प्रकाशनमा मेहनत गर्ने सम्पादन समूहका सदस्यलाई धन्यवाद दिँदै आउँदै गरेका बडादसैँ, तिहार, छठ तथा नेपाल संवत्लगायतका चाडपर्वको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा ‘समष्टि’का पूर्वसम्पादक तथा मदन पुरस्कार प्राप्त वरिष्ठ साहित्यकार कृष्ण धरावासीले शुभकामना मन्तव्य राख्दै १६ वर्षअघि आफूले पनि उक्त पत्रिकाको सम्पादकका रूपमा काम गरेको स्मरण गरे ।
पत्रिकाको सम्पादन समूहका अध्यक्ष तथा बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तित्वहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य रीता सुवेदी, ‘समष्टि’का पूर्वसम्पादन समूहका सदस्य तथा कथाकार दिलीप शाह, पूर्वसम्पादक तथा कवि मोहिनी मन, बैंकका उपमहाप्रबन्धक, विभागीय प्रमुख र अन्य कर्मचारीहरूको उपस्थिति थियो ।
कार्यक्रम ‘समष्टि’का सम्पादक तथा बैंकका शाखा प्रमुख शान्तिराम भट्टराईले सञ्चालन गरेका थिए ।