काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनी सचिव पियुषराज अर्यालका अनुसार भट्टराईको नियुक्ति कात्तिक १५ गतेदेखि लागू हुनेछ । हाल सीईओ रहेका अजय विक्रम शाहको दोस्रो कार्यकाल पुरा भएसँगै बैंकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
भट्टराई हाल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)का रूपमा कार्यरत थिए । व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका उनले बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका छन् ।
उनी सन् १९९९ सेप्टेम्बरदेखि सन् २००१ सेप्टेम्बरसम्म साविक नेपाल इन्डोस्वीज बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक)मा कार्यरत थिए । त्यसपछि सन् २००१ जनवरीदेखि सेप्टेम्बरसम्म साविक पूर्वाञ्चल ग्रामीण विकास बैंकमा सञ्चालकको भूमिका निर्वाह गरेका थिए ।
भट्टराई सन् २००१ सेप्टेम्बरदेखि सन् २००२ सम्म कुमारी बैंकमा कार्यरत थिए । उनी सन् २००२ देखि लक्ष्मी सनराइज बैंकमा आबद्ध छन् ।