विकासन्युज

बागी बने रघुजी, उपाध्यक्ष पदमा दिए उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा उपाध्यक्ष पदका लागी रघुजी पन्तले पनि उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली पक्षवाट उपाध्यक्ष पदको उमेदवार बन्न चाहन्थे । तर ओलीले पन्तलाई नसमेटेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।  ईश्वर पोखरेल पक्षका एक नेताका अनुसार पन्तलाई आफ्नो समूहमा समेट्नेगरी वार्ता भइरहेको छ । पन्तले भने आफू अहिलेसम्म कुनै प्यानलको उमेदवार नरहेको बताएका छन् ।  उनले सञ्चारकर्मीहरूसँगको प्रतिक्रियामा भने, ‘म ०४९ सालको पाँचौ महाधिवेशनमा त फरक विचार राखेको मान्छे हुँ । अहिले पनि म स्वतन्त्र उम्मेदवार हुँ ।’

प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित शङ्कर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७८/७९ मा आइसिटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आईटी ल्याब स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा रकम हिनामिना गरेको दाबीसहित सोमबार मुद्दा दायर गरेको हो ।      प्रधानाध्यापक ठाकुरसँगै तत्कालीन लेखापाल अरूणकुमार कुशियैतविरूद्ध जनही रु आठ लाख ६२ हजार १५२ बिगो रकमसहित विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ । अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आव २०७८/७९ को आइसिटी ल्याब व्यवस्थापनका लागि खरिद गरिएको रु ८७ हजार ५००  बराबरको प्रोजेक्टर तथा आव २०७९/८० मा आइटी ल्याब व्यवस्थापनका लागि खरिद गरिएको रु एक करोड, २४ लाख ६ सय ५२ बराबरको स्कस्ल सफ्ट्वयर र स्टान्ड हाल विद्यालयको अभिलेखमा नदिखिएको हुँदा सजायको माग दाबीसहित आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।' ठाकुर र कुशियैतले आपसी मिलेमतो तथा योजनामा सरकारी सार्वजनिक सम्पत्ति हिनामिना, हानीनोक्सानी तथा दुरूपयोग गरेको हुँदा निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर भएकाले निज प्रतिवादीलाई सजायको मागसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 

नेपाल राष्ट्र बैंक र आईएफसीबीच जलवायु वित्त समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स)  सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा सोमबार बैंकमा आयोजित कार्यक्रमकाबीच गभर्नर कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी र आईएफसी साउथ एसियाका व्यवस्थापक ग्रेगरी स्मिथले समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार आईएफसीले नेपालमा जलवायु वित्त विकासका लागि राष्ट्र बैंकलाई प्राविधिक सहायता उपलब्ध गराउनेछ । यस अन्तर्गत जलवायु वित्तसम्बन्धी रणनीति र यसको कार्यान्वयनको मार्गचित्र तयार गरिनेछ । साथै, चरणबद्ध रूपमा कार्यान्वयनका लागि आवश्यक ढाँचा निर्माण गर्ने योजना रहेको छ । परियोजनामा राष्ट्र बैंक र समग्र वित्तीय क्षेत्रको क्षमता अभिवृद्धिका लागि तालिम र क्षमता विकास कार्यक्रमहरू सञ्चालन हुने जनाइएको छ । यसबाट नेपालमा जलवायुसम्बन्धी वित्तीय जोखिलाई सम्बोधन गर्दै जलवायु अनुकूलनका क्षेत्रमा वित्तीय स्रोत परिचालन प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ । परियोजना सन् २०२८ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ । डेपुटी गभर्नर मिश्रले आईएफसी र राष्ट्र बैंकबीचको सहकार्यले नेपालको वित्तीय क्षेत्र सुदृढ पार्ने र जलवायु वित्तको नीतिगत विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आईएफसी व्यवस्थापक स्मिथले पनि साझेदारीबाट परिणाममुखी उपलब्धि हासिल हुने अपेक्षा व्यक्त गरे । कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल, निर्देशक गोविन्दप्रसाद नागिला, गभर्नर कार्यालयका निर्देशक सुमन न्यौपाने, आईएफसीका प्रतिनिधि रथनिजा अरन्दरालगायत अधिकारीहरूको उपस्थिती थियो ।

ज्योति विकास बैंकका कर्मचारीमाथि अमानवीय दुर्व्यवहार प्रति सिबिफिनको आपत्ति

काठमाडौं । सप्तरीको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि गरिएको लज्जास्पद, घृणित तथा अमानवीय दुर्व्यवहारप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले कडा आपत्ति गरेको छ । सिबिफिनका अनुसार लामो समयदेखि कर्जाको किस्ता नियमित हुन नसकेपछि सो विषयको समाधानका लागि स्वयं ऋणीको आग्रहमा छलफलका लागि पुगेका बैंक कर्मचारीहरूलाई स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरूको समूहले नियोजित रूपमा घण्टौँसम्म नियन्त्रणमा राखी पशुवत व्यवहार तथा हिंस्रक आक्रमण गरेका थिए । प्रेस विज्ञप्तिमा सिबिफिनले घटनापछि स्थानीय सुरक्षा निकायले जाहेरीबिना नै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा पीडितको जाहेरी दर्ता नगरेको र मिलापत्रका लागि दबाब दिएको कार्यप्रति समेत कडा आपत्ति जनाएको छ । यस्ता गतिविधिले कर्तव्यनिष्ठ बैंक कर्मचारीको मनोबल र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने उल्लेख गरिएको छ । सिबिफिनले निहित स्वार्थपूर्तिका लागि बैंक तथा वित्तीय संस्था जस्ता संवेदनशील र अत्यावश्यक क्षेत्रमा गरिएको ज्यादतीलाई गम्भीर अपराधको संज्ञा दिँदै घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसँग जोडदार माग गरेको छ । जेनजी आन्दोलनपछिको असामान्य परिस्थितिमा शान्ति–सुरक्षा, सुशासन र आर्थिक गतिविधि पुनर्जीवनमा सरकार केन्द्रित रहेको समयमा बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीमाथि गरिएको यस्तो आक्रमणलाई सिबिफिनले बैंकिङ क्षेत्रमाथि मात्र नभई स्वयं नेपाल सरकारमाथिको आक्रमणका रूपमा समेत व्याख्या गरेको छ । सिबिफिनले बैंक तथा वित्तीय संस्थाको साख, गरिमा र विश्वसनीयतामा आघात पुर्‍याउने, बैंकिङ कारोबार अवरुद्ध गर्ने, अफवाह फैलाउने, कर्जाको साँवा–ब्याज नतिर्न दुरुत्साहन गर्ने तथा कर्मचारीमाथि भौतिक आक्रमण र मानमर्दन गर्ने जस्ता गतिविधि प्रचलित कानुनले निषेध गरेको स्मरण गराएको छ । यस्ता क्रियाकलापलाई प्रश्रय दिइँदै जानु गम्भीर चिन्ताको विषय भएको संघको भनाइ छ । बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कुनै गुनासो भए माथिल्लो व्यवस्थापन वा नेपाल राष्ट्र बैंकअन्तर्गतको गुनासो सुनुवाइ इकाइमा उजुरी गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि कानून आफ्नै हातमा लिएर गरिने यस्ता निन्दनीय कार्यले समग्र मुलुकको भविष्यसमेत अन्धकारतर्फ धकेल्न सक्ने सिबिफिनले चेतावनी दिएको छ । संघले बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरूको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन तथा बैंकिङ सेवा निर्वाध रूपमा सञ्चालन हुने सुरक्षित वातावरण निर्माण गर्न संघीय, प्रदेश तथा स्थानीय सरकार, गृह मन्त्रालयलगायत सबै सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

ओली र पोखरेलले गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि दुई जना नेताको उम्मेदवारी दर्ता भएको छ । वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन् । यससँगै एमालेको नेतृत्व चयन प्रक्रिया निर्णायक मोडमा पुगेको छ । अध्यक्ष ओलीले पार्टीलाई विगतमा नेतृत्व गरेको अनुभव, संगठन विस्तार र सरकार सञ्चालनका क्रममा लिएको भूमिकालाई आफ्नो मुख्य आधार बनाउँदै पुनः अध्यक्षमा दाबी गरेका छन् । उनले पार्टीलाई एकताबद्ध राख्दै आगामी दिनमा बलियो जनाधारसहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ओली पक्ष अनुभवी र प्रभावशाली नेताहरूलाई समेट्दै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । यता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि पार्टीभित्रको आन्तरिक लोकतन्त्र, संस्थागत नेतृत्व र सामूहिक निर्णय प्रक्रियालाई बलियो बनाउने एजेन्डासहित उम्मेदवारी दिएका छन् । पोखरेल पक्षले संगठनमा सुधार, नीति कार्यक्रममा स्पष्टता र नेतृत्वमा पुस्तान्तरणको आवश्यकता औँल्याउँदै वैकल्पिक नेतृत्व प्रस्तुत गर्ने प्रयास गरेको बताएको छ । निर्वाचन आयोगका अनुसार अध्यक्ष पदमा दुई नेताले मनोनयन गरेका छन् । अध्यक्ष पदमा दुई शक्तिशाली नेताबीच प्रतिस्पर्धा हुनुले महाधिवेशनस्थलमा उत्साह र चासो बढेको छ । प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूमा दुवै पक्षले समर्थन जुटाउने प्रयास तीव्र बनाएका छन् । विशेषगरी पदाधिकारी र केन्द्रीय समिति चयनमा दुवै प्यानलको शक्ति सन्तुलन महत्त्वपूर्ण हुने देखिएको छ ।

कर्मचारीमाथि भएको आक्रमणले सुरक्षा र मनोबलमा असर पुर्यायो : एनआईसी एशिया बैंक कर्मचारी संघ

काठमाडौं । ज्योति विकास बैंकका कर्मचारी कर्जा असुलीको क्रममा सार्वजनिक स्थलमा ऋणीबाट अमानवीय, अपमानजनक तथा गैरकानुनी व्यवहारको सिकार भएका घटनाप्रति एनआईसी एशिया बैंक कर्मचारी संघले गम्भीर आपत्ति जनाएको छ । कानुनी दायराभित्र कर्तव्य निर्वाह गरिरहेका बैंक कर्मचारीमाथि हुने हिंसा र सार्वजनिक अपमान सम्पूर्ण बैंकिङ प्रणाली, विधिको शासन र वित्तीय अनुशासनमाथिको प्रत्यक्ष आक्रमण भएको संघले जनाएको छ ।  ‘बैंकिङ सेवा कानुनद्वारा संरक्षित सार्वजनिक सेवा भएकाले कर्जा असुली कार्य बैंकिङ प्रणालीको अभिन्न अङ्ग हो । कानुनी प्रक्रिया अन्तर्गत हुने कर्जा असुली कार्यलाई डर, धम्की, दुर्व्यवहार वा हिंसाबाट अवरुद्ध गर्नु दण्डनीय अपराध हो,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  यस्ता घटनामा मौन रहनु वित्तीय अराजकतालाई प्रोत्साहन गर्नु सरह हुने संघले जनाएको छ । बैंकका कर्मचारीमाथि आक्रमण भएको घटनाले बैंक कर्मचारीहरूको सुरक्षा, मनोबल र कार्य वातावरणमा गम्भीर असर पुर्‍याउने र सर्वसाधारणको बैंकिङ प्रणालीप्रतिको विश्वास कमजोर बनाउने जोखिम बढेको संघको टिप्पणी छ । विगतमा पनि बैंकिङ सेवामा आबद्ध कर्मचारी लक्षित आक्रमण हुँदै आएको स्मरण गराउँदै, समयमै सम्बन्धित निकायको कडा हस्तक्षेप नभए बैंकिङ सेवा अवरुद्ध हुने अवस्था सिर्जना हुन सक्ने संघले चेतावनी दिएको छ । एनआईसी एशिया बैंक कर्मचारी संघले अर्थ मन्त्रालय, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी, नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल तथा बैंक तथा वित्तीय संस्था परिसंघ लगायत सबै सरोकारवाला निकायलाई तत्काल प्रभावकारी हस्तक्षेप गर्न आग्रह गरेको छ । साथै संघले कर्मचारी सुरक्षाका लागि स्पष्ट सुरक्षा मापदण्ड, फिल्डमा खटिँदा प्रहरी समन्वय र जोखिमयुक्त कार्यमा संस्थागत संरक्षणको सुनिश्चितता गर्न माग गरेको छ । दोषी पहिचान गरी कानुनअनुसार कडा कारबाही गर्न, बैंक कर्मचारीहरूको भौतिक तथा मानसिक सुरक्षा सुनिश्चित गर्न तथा भविष्यमा यस्ता घटना दोहरिन नदिन शून्य सहनशीलताको नीति अपनाउन संघले आग्रह गरेको छ । संघका अध्यक्ष सुमन थापाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बैंकिङ सेवामाथि हुने कुनै पनि प्रकारको धम्की, दुर्व्यवहार वा हिंसा अस्वीकार्य छ। बैंक कर्मचारीहरू श्रमिक हुन् र उनीहरू कुनै अपराधी होइनन् । कानुनको शासन, संस्थागत मर्यादा र कर्मचारीको गरिमाको संरक्षण सबैको साझा दायित्व हो ।

कृषि विकास बैंकको १९औँ साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । बैंकको साधारण सभाले १३ प्रतिशत लाभांश पारित गरेको छ । बैंकका सञ्चालक समिति अध्यक्ष डिमप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीलाई चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभामा पारित प्रस्तावअनुसार लाभांश यथाशीघ्र सेयरधनीलाई उपलब्ध गराइने प्रतिबद्धता बैंकले जनाएको छ । सभामा बैंकको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पनि अनुमोदन गरिएको छ । सभामा बैंकले हाल देशभर २८५ वटा कार्यालयमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको जानकारी गराएको छ । बैंकले दुर्गमदेखि सुगम क्षेत्रसम्म आफ्नो बृहत कार्यसञ्जाल विस्तार गर्दै आएको र वाणिज्य बैंकहरूमध्ये कृषिमा सबैभन्दा बढी लगानी गर्ने बैंकको रूपमा आफूलाई स्थापित गरेको दाबी गरेको छ । साधारण सभामा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि मुक्तीरमण पराजुलीसहित ९ जना वक्ताले आफ्ना धारणा राखेका थिए भने केही सेयरधनीले लिखित मन्तव्यसमेत प्रस्तुत गरेका थिए । सेयरधनीहरूले उठाएका जिज्ञासाबारे अध्यक्ष पौडेलले स्पष्ट पार्दै प्राप्त सुझावहरूलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । सेयरधनीहरूको उल्लेख्य उपस्थिति रहेको सभामा विभिन्न निकाय तथा संस्थाका प्रतिनिधि, बैंकका उच्च व्यवस्थापन, कर्मचारी र सञ्चालक समिति सदस्यहरू सेवन्तक पोखरेल, डा. हरिबहादुर केसी, गोविन्दप्रसाद भट्टराई, संजीव पौडेल, विनोदकुमार गुरागाईं, रीता सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिति रहेको थियो । साधारण सभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।

सामान्य बढ्यो सेयर बजार, फाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौं । सोमबार सेयर बजार सामान्य बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अंकले बढेर बन्द भएको छ । बजार बन्द हुनुभन्दा केही बेर अगाडिसम्म घटिरहेको बजारमा अन्तिम समयमा खरिदकर्ता हाबी भएपछि बजार बढेको हो ।   सोमबार नेप्से ०.२५ प्रतिशतले बढेर परिसूचक १६०१.६१ बिन्दु पुगेको छ । सोमबार दिनभरमा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर कारोबार भएको छ ।  बजार बन्द हुँदा १५५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।  दिनभरमा ३२९ वटा कम्पनी कारोबारमा आउँदा ५६ हजार १२२ पटक सेयर किनबेच भएको छ । आज दुई वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । १३ समूह मध्ये होटेल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूह घटेको छ भने बाँकी अरू समूह बढेको छ । आज सबैभन्दा बढी फाइनास समूह ०.९० प्रतिशतले बढेको छ भने सबैभन्दा बढी अन्य समूह ०.१७ प्रतिशतले घटेको छ ।