सर्वोत्तम सिमेन्टको २० प्रतिशत लाभांश पारित
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको सातौँ वार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ । ७६ प्रतिशतभन्दा बढी सेयरधनीको उपस्थिति रहेको सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्तावित २० प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू अनुमोदन गरेको छ । साथै, उक्त आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिएको छ । पारित प्रस्तावअनुसार सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ । सभाले लेखापरीक्षक नियुक्ति, बोनस सेयर वितरणपश्चात प्रबन्धपत्र तथा नियमावली संशोधनलगायतका सामान्य तथा विशेष प्रस्तावहरू समेत स्वीकृत गरेको छ । सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले सर्वोत्तम सिमेन्ट भविष्यमा अझ सुदृढ बन्दै देशकै अग्रणी सिमेन्ट कम्पनी बन्ने लक्ष्यका साथ अघि बढिरहेको बताए । उनले सेयरधनीलाई अझ बढी लाभांश दिन सकिने उपायमा कम्पनी निरन्तर क्रियाशील रहेको पनि जानकारी गराए । अध्यक्ष न्यौपानेले सर्वोत्तम सिमेन्ट नेपालमै पहिलो पटक अत्याधुनिक युरोपियन भिआरएम प्रविधिबाट सिमेन्ट उत्पादन गर्ने उद्योग भएको उल्लेख गरे । हाल कम्पनीसँग प्रतिदिन ३ हजार मेट्रिक टन क्षमताको सिमेन्ट प्लान्ट र ३ हजार मेट्रिक टन क्षमताको क्लिंकर प्लान्ट सञ्चालनमा रहेको उनले बताए ।
हलिउड निर्देशक रब राइनर र उनकी पत्नी मिशेल मृत फेला
काठमाडौं । हलिउडका प्रख्यात फिल्म निर्माता, निर्देशक र अभिनेता रब राइनर र उनकी पत्नी मिशेल आफ्नै लस एन्जेलिसस्थित घरमा मृत फेला परेका छन् । यो सम्भावित हत्या भएको आशंकमा घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ । लस एन्जेलिसको प्रतिष्ठित ब्रेन्टवुड क्षेत्रमा रहेको उनीहरूको घर थियो । प्रहरीका अनुसार घरभित्र ७८ वर्षका पुरुष र ६८ वर्षकी महिला मृत फेला परे । दुवैलाई त्यही स्थानमा मृत घोषणा गरिएको थियो । अधिकारिहरूले हालसम्म मृतकहरूको औपचारिक पहिचान वा उनीहरूको मृत्युका परिस्थितिबारे कुनै जानकारी सार्वजनिक गरेका छैनन्। रब राइनर ‘द प्रिन्सेस ब्राइड’, ‘दिस इज स्पाइनल ट्याप’, ‘ह्वेन ह्यारी मेट सेली’ र ‘अ फ्यू गुड म्यान’, ‘स्ट्यान्ड बाई मी’, ‘मिसरी’ जस्ता चर्चित फिल्महरूको निर्देशनका लागि परिचित छन् । दिस इज स्पाइनल ट्यापमार्फत उनले निर्देशकको रूपमा डेब्यू गरेका थिए ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारण सभाबाट १९ प्रतिशत लाभांश पारित
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश ३९औँ वार्षिक साधारण सभाबाट पारित गरेको छ । सोमबार काठमाडौंको आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले बैंकको हाल कायम चुक्तापूँजीको १९ प्रतिशत दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरू पनि पारित गर्यो । सभामा सम्बोधन गर्दै बैंकका अध्यक्ष वेणुगोपाल रंगनाथनले लगानीकर्ता, ग्राहक, नियामक निकाय, कर्मचारी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरे । उनले नेपालमा एकमात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक विविधताको माध्यमबाट व्यापार र समृद्धि प्रवर्द्धन गर्ने उद्देश्यमा दृढ रहेको बताए । हाल बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकले नेपालमा आर्थिक वृद्धिमा योगदान पुर्याउँदै उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
सेयरधारण घटाउन राष्ट्र बैंकको समयसीमा, २०८७ असारसम्म नगरे कारबाहीको चेतावनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको सीमाभन्दा बढी सेयर धारण गरेका लगानीकर्तालाई सीमा कायम गर्न समय दिएको छ । बैंक तथा वित्तीय संस्थामा निर्धारित सीमाभन्दा बढी लगानी गरेका सेयरधनीले २०८७ असार मसान्तभित्र आफ्नो लगानी तोकिएको सीमाभित्र ल्याइ सक्नुपर्नेछ । विसं २०८७ असार मसान्तभित्र अनिवार्य रूपमा लगानी सीमा कायम गर्न नसकेमा कारबाही गर्ने राष्ट्र बैंकले चेतावनी दिएको छ । राष्ट्र बैंकका अनुसार कुनै एक बैंक तथा वित्तीय संस्थामा चुक्ता पुँजीको अधिकतम १५ प्रतिशतसम्म सेयर लगानी गर्न पाइन्छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरूमा चुक्ता पुँजीको अधिकतम १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था छ । साथै ‘घ’ वर्गका वित्तीय संस्थाको हकमा भने उक्त सीमा क्रमशः २५ प्रतिशत र १० प्रतिशत तोकिएको छ । यद्यपि, सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनीमा संस्थापकको रूपमा गर्ने लगानीमा भने यो सीमा लागू हुने छैन । संस्थापक सेयरधनीहरूले हकमा तोकिएको सीमाभित्र सेयर स्वामित्व कायम नगरेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट वितरण गरिने नगद लाभांश र बोनस सेयर रोक्का गरिनेछ । साथै, त्यस्ता सेयरधनीलाई सम्बन्धित संस्थाबाट जारी हुने हकप्रद सेयरमा सहभागी हुन समेत रोक लगाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले आवश्यक ठानेमा त्यस्ता बैंक तथा वित्तीय संस्थालाई गाभ्न वा गाभिन निर्देशन दिन सक्ने व्यवस्था पनि गरेको छ । तर, सेयरधनीले चाहेमा हकप्रद सेयरको हक हस्तान्तरण गर्न भने कुनै अवरोध नहुने राष्ट्र बैंकले स्पष्ट गरेको छ ।
माउन्टेन इनर्जीको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस सेयर पारित
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ । साधारणसभाले आव २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेसँगै अब उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । सभाले अध्यक्ष पाण्डेबाट प्रस्तुत भएको आव २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । त्यस्तै कम्पनीको लेखा परिक्षकको प्रतिवेदन, सहित २०८२ आषाढ मसान्तको वासलात, २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ । सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस कम्पनीको आव २०८२/८३ को लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गरि निजको पारिश्रमिक तोक्ने निर्णय पनि गरेको छ । साथै सभाले प्रवन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित गरेको छ । यस कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ ।
एमालकोे ११ औं महाधिवेशनमा दुई प्यानलबीच प्रतिस्पर्धा निश्चित, ईश्वरले पनि बनाए प्यानल
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी तहमा दुई समूहबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो प्यानल खडा गरेर निर्वाचनमा उत्रने तयारी गरेसँगै महाधिवेशनको राजनीतिक सरगर्मी बढेको छ । यद्यपि सार्वजनिक रूपमा नेताहरूले प्यानल नबनाई व्यक्तिगत क्षमताका आधारमा प्रतिस्पर्धा गर्ने दाबी गरिरहेका छन् । तर महाधिवेशनस्थलमा देखिएको गतिविधि र आन्तरिक छलफलले स्पष्ट रूपमा दुई फरक समूहबीच संगठित प्रतिस्पर्धा हुने संकेत गरेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समूहले पदाधिकारीका उम्मेदवारहरू टुंगो लगाइसकेको छ । सो समूहबाट अध्यक्षमा ईश्वर पोखरेल स्वयं उम्मेदवार बन्ने भएका छन् । उपाध्यक्ष पदका लागि गोकर्ण विष्ट, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र अरुण नेपालको नाम अन्तिम सूचीमा परेको छ । त्यस्तै, महासचिव पदमा सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । पार्टीभित्र संगठन सञ्चालन र नीतिगत बहसमा सक्रिय भूमिका खेल्दै आएका पाण्डेलाई महासचिवको रूपमा अघि सारिनु अर्थपूर्ण रूपमा हेरिएको छ । उपमहासचिव पदका लागि योगेश भट्टराई , कर्ण थापा, गोकुल बास्कोटा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेलको उम्मेदवारी टुंगो लागेको छ ।
एमालेको अध्यक्ष बन्न १५ हजार शुल्क, पदाधिकारीका लागि १० हजार
काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै फारम वितरण भइरहेको छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन् । महाधिवेशन कार्यतालिकाअनुसार अध्यक्ष पदमा उम्मेदवारी दिन १५ हजार रुपैयाँ शुल्क तोकिएको छ । पदाधिकारी पदका उम्मेदवारका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यस्तै, आयोगका अध्यक्ष पदमा उम्मेदवारी दिँदा पनि १० हजार रुपैयाँ शुल्क लाग्नेछ । आयोगका अन्य पदाधिकारी तथा सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ
नेपालगञ्ज । प्रहरीले नेपालगञ्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र एक लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकबाट भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र १००० नेपालीका १०० थानसहित सुनिलकुमार बानियाँलाई पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा सोमबार बुझाउन लागिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । नेपालगञ्जको त्रिभुवन चोकमा रहेको कुमार जनरल स्टोरका सञ्चालक बानियाँले स्रोत नखुलेको रकमको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।