विकासन्युज

होटललाई ’प्राथमिक उद्योग’ घोषणा गर्न माग गर्दै होटल व्यवसायी महासंघको ११ बुँदे पोखरा घोषणापत्र जारी

काठमाडौं । होटल व्यवसायी महासंघ नेपालको १३ औं वार्षिक साधारणसभा तथा ५ औं महाधिवेशन पोखरामा सम्पन्न भएको छ । पोखरा घोषणापत्र २०८२ जारी गर्दै सम्पन्न भएको महाधिवेशनले होटल तथा पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्राथमिक उद्योग घोषणा गर्नुपर्ने लगायतका ११ बुँदे माग र प्रतिबद्धता अघि सारेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनले महासंघको आगामी कार्यकालका लागि टी.आर. भण्डारी (शंकर) को अध्यक्षतामा २४ पदाधिकारीसहित ४७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । के छन् घोषणापत्रमा ? महाधिवेशनले जारी गरेको घोषणापत्रमा नेपालको होटल र आतिथ्यता क्षेत्रको दिगो विकासका लागि होटल व्यवसायलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार मान्दै यसलाई ’प्राथमिक उद्योग’ घोषणा गर्न सरकारसँग पहल गर्ने, निजी क्षेत्रको खर्बौंको लगानी सुरक्षाका लागि व्यवसायमैत्री नीति, कर प्रणाली र कानुनी सुधारमा जोड दिने, सहुलियतपूर्ण कर्जा र वित्तीय पहुँचका लागि समन्वय गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा उपयोगमा ल्याउँदै अन्तर्राष्ट्रिय उडान सुचारु गर्न र हवाई कनेक्टिभिटी विस्तार गर्न माग गर्ने, आन्तरिक र बाह्य पर्यटन विकासका लागि नयाँ गन्तव्यहरूको खोजी गर्ने तथा एड्भेन्चर, वेलनेस र स्पिरिचुअल पर्यटनलाई प्राथमिकता दिने, साना तथा मझौला होटलहरूको संरक्षण गर्दै व्यवसायलाई आधुनिक र प्रतिस्पर्धात्मक बनाउन डिजिटल प्रणाली र सीप विकासका कार्यक्रम सञ्चालन गर्ने तथा वातावरण संरक्षण, सरसफाइ र स्थानीय उत्पादनको प्रवद्र्धनलाई सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाउने माग र प्रतिबद्धता समावेश छन् ।  महाधिवेशनमा देशभरबाट करिब एक हजार होटल व्यवसायीहरूको सहभागिता रहेको थियो । नवनिर्वाचित अध्यक्ष टी.आर. भण्डारीले सुरक्षित र मर्यादित व्यवसाय, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन महासंघ प्रतिबद्ध रहेको बताए । महासंघले राज्यका तीनै तहका सरकारसँग समन्वय र सहकार्य गर्दै पर्यटन क्षेत्रको विकासका लागि स्पष्ट कार्ययोजना र सरल नीति कार्यान्वयन गर्न अपिल समेत गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

८४४ मेगावाट भनिएको कालीगण्डकी आयोजना ६४० मेगावाटको हुने

काठमाडौं । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्ययनका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुने गरी निर्धारण गरिएको हो । हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ । प्रस्तावित आयोजनाको बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटरमाथि उर्लेनी खङ्गकोट कालीगण्डकी गाउँपालिका-६ गुल्मी र बिहादी गाउँपालिका-२ बर्राचौर पर्वत क्षेत्रमा पर्नेछ । आयोजनामा कुल २४४ मिटर अग्लो बाँध निर्माण हुने जनाइएको छ । बाँधमा पानी जम्मा हुँदा करिब २९ किलोमिटर लामो खनियाघाटसम्म ताल बन्नेछ । यस आयोजनाको नेट हेड १८३.४ मिटर छ । डिस्चार्ज ४०५ घनमिटर प्रतिसेकेण्ड र कुल वार्षिक ऊर्जा उत्पादन १ हजार ६४५.६५ गिगावाट घण्टा बराबर हुने आयोजनाले जनाएको छ । यस आयोजनामा चारवटा स्टिल पेन स्टक, विद्युतगृह ४ वटा प्रान्सिस टर्बाइन प्रस्ताव गरिएको छ । आयोजनाको विद्युतगृह बिहादी गाउँपालिका बर्राचौर पर्वतमा प्रस्ताव गरिएको छ । आयोजनाले पर्वतको जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र बिहादी गाउँपालिकाका विभिन्न वडा प्रभावित हुनेछ । यस्तै बागलुङको बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका विभिन्न वडा प्रभावित हुनेछ । गुल्मीको कालीगण्डकी गाउँपालिका र स्याङजाको गल्याङ नगरपालिका प्रभावित हुनेछ । आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय मूल्याङ्कन विद्युत् विकास विभाग र परामर्शदाता जेभी स्मेक इन्टरनेशनल तथा जेड कन्सल्टले गरिरहेको छ । प्रस्तावित आयोजना पृथ्वी राजमार्ग, पोखरा-बागलुङ सडकखण्ड, दोबिल्ला–फलेबास सडक कालीगण्डकी लोकमार्ग तथा कालीगण्डकी करिडोर हुँदै पुग्न सकिनेछ । 

मन्त्री पनि करोडौंका लगानीकर्ता

काठमाडौं । सरकारका मन्त्रीहरूले करोडौं रुपैयाँ बराबर सेयर लगानी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मन्त्रीहरूले पुँजी बजारका विभिन्न कम्पनी र सूचीकृत नरहेका कम्पनीहरूमा करोडौं रुपैयाँ बराबरको सेयर लगानी गरेको देखिन्छ । सम्पत्ति विवरणअनुसार सरकारका १२ जना मन्त्रीले विभिन्न कम्पनीमा लगानी गरेका छन् भने ४ जना मन्त्रीको भने शून्य लगानी रहेको देखिन्छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता सेयर रहेको छ । साथै साङ्‌ग्रिला डेभलपमेन्ट बैंकमा २५ हजार कित्ता संस्थापक सेयर रहेको छ । अन्य लगानीतर्फ नेशनल फण्ड म्यानेजमेन्टमा ९० लाख, ठूलो खोलामा ६० लाख र अपर म्यादी खोला हाइड्रोमा ३ करोड रुपैयाँ बराबरको सेयर रहेको  छ । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरणअनुसार विभिन्न कम्पनीहरूमा उनको उल्लेखनीय सेयर लगानी रहेको देखिएको छ । विवरणअनुसार, खनालको पिक एण्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्मा इन्टेल प्रालिमा १०० प्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत स्वामित्व रहेको छ । त्यस्तै, बीपीडब्ल्यु माइक्रोफाइनान्स (हाल सामुदायिक लघुवित्त)मा २ हजार ५६० कित्ता, ओम मेगाश्री फर्मास्युटिकल्समा ५ हजार कित्ता, ग्लोबल आइएमई बैंकमा १०९ कित्ता, नबिल बैंकमा ५० कित्ता तथा मुक्तिनाथ विकास बैंक (एमएनबीबीएल)मा ७३ कित्ता सेयर रहेको उल्लेख गरिएको छ । साथै अन्य कम्पनीहरूमा पनि करिब १०० कित्ता सेयर रहेको जनाइएको छ। मन्त्री खनालको सम्पत्ति विवरणअनुसार अच्युता अधिकारीको नाममा समेत विभिन्न कम्पनीमा लगानी देखिएको छ । जसमा चन्द्रागिरी हिल्सको ३० कित्ता, जोशी हाइड्रोपावरको २०० कित्ता, मुक्तिनाथ विकास बैंकको ११२ कित्ता, नेपाल बैंकको २०० कित्ता र नेशनल हाइड्रोपावरको १०० कित्ता सेयर रहेका छन् । त्यसैगरी, एनआईबिएल एसआईपीमा ४ हजार ६३३ युनिट, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को १०० कित्ता, नेपाल रिपब्लिक मिडियाको १२५ कित्ता, राधी जलविद्युतको २४ कित्ता, समता लघुवित्तको २० कित्ता, सुपर माडी हाइड्रोपावरको १०० कित्ता, शिवश्री हाइड्रोपावरको १५० कित्ता, युनियन हाइड्रोपावरको २०० कित्ता तथा उन्नति सहकारीको ७० कित्ता सेयर रहेको उल्लेख गरिएको छ । उर्जा, जलस्रोत, तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न कम्पनीहरूमा उल्लेखनीय सेयर लगानी रहेको देखिएको छ । विवरणअनुसार श्रेष्ठसँग सर्वसाधारण र संस्थापक गरी कुल २० हजार ९७८ कित्ता सेयर रहेको छ, जसको अनुमानित मूल्य १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँ बराबर रहेको छ । उक्त सेयर स्वआर्जनबाट खरिद गरिएको उल्लेख गरिएको छ । साथै २०७८ साउन २२ गतेसम्मको विवरणअनुसार दैनिक रूपमा खरिद-बिक्री बैंकिङ प्रणालीमार्फत हुने भएकाले सेयरको यकिन मूल्य उल्लेख नगरिएको जनाइएको छ । गृहमन्त्री सुधन गुरुङको कुल ४ करोड ३१ लाख रुपैयाँ बराबरको लगानी रहेको देखिएको छ । विवरणअनुसार, होप होल्डिङ्स प्रालिमा ३० हजार कित्ता सेयर रहेको छ, जसको मूल्य करिब ३० लाख रुपैयाँ रहेको छ । त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय कित्ता सेयर रहेको छ, जसको मूल्य ५७ लाख रुपैयाँ बराबर रहेको उल्लेख गरिएको छ । पुँजी बजारमा कारोबार हुने अन्य सेयरहरूमा उनले २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ लगानी गरेको जनाएका छन् । साथै, एड्भेन्चर भिल्ला प्रालिमा ७० हजार कित्ता सेयर रहेको छ, जसको मूल्य करिब ७० लाख रुपैयाँ रहेको छ । जसको स्रोत व्यवसायीक तथा पैतृक सम्पत्ति रहेको उल्लेख छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको ग्लोबल टूर हिमालय टुर्स एण्ड ट्रेक्समा ५० प्रतिशत स्वामित्व रहेको छ, जुन पैतृक सम्पत्तिबाट गरिएको लगानी रहेको उल्लेख छ । साथै, सोपान मल्टिपल कम्पनीमा ६ हजार ५ सय कित्ता संस्थापक सेयर रहेको छ, जुन तलबबाट आर्जित रकमबाट खरिद गरिएको हो ।  महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सिता बादीको ५ हजार ६ सय कित्ता सेयर लगानी रहेको छ । तर, उक्त सेयर कुन कम्पनीको हो भनेर उल्लेख गरिएको छैन ।  संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलको विभिन्न कम्पनीमा आईपीओ भरेको १ लाखको सेयर रहेको छ । उक्त सेयर स्वआर्जनबाट प्राप्त गरेको उल्लेख छ । स्वास्थ्य, जनसंख्या तथा खाने पानी मन्त्री निशा मेहताको विभिन्न कम्पनीमा सेयर लगानी रहेको छ । घलेम्दी हाइड्रोमा ६० कित्ता (१४ हजार ६५० रुपैयाँ), हिमाल दोलखा हाइड्रोपावरमा ८८ कित्ता (१९ हजार ८८८ रुपैयाँ), जीबीएलभीमा १८ कित्ता (३६ हजार ५९६ रुपैयाँ) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा ६४ कित्ता (१७ हजार २०३ रुपैयाँ) सेयर रहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल परिवारको नाममा उल्लेखनीय लगानी देखिएको छ । बुवा रमेश कुमार पोखरेलको पीएमएस होल्डिङ (सानिमा क्यापिटल) मा ३० लाख रुपैयाँ बराबरको सेयर रहेको छ । त्यस्तै, राष्ट्रिय बचतपत्रमा ९६ लाख ९० हजार रुपैयाँ र मिनाक्षी ओझा पोखरेलको नाममा ५० लाख रुपैयाँ बराबरको बचतपत्र लगानी रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलको भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमा ६५२ कित्ता, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किममा १० हजार इकाई र मझेरी सहकारीमा ७ हजार ५ सय कित्ता सेयर रहेको छ। कृषि तथा पशुपन्छी र वन तथा वातावरणमन्त्री गिता चौधरीको एनआईएमबि, एसआईपी लगायत कम्पनीहरूमा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको सेयर लगानी रहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको विभिन्न कम्पनीमा ३ करोड ३८ लाख ३५ हजार ९०८ रुपैयाँको सेयर रहेको छ । उक्त सेयर शिवजी यादवको नाममा रहेको उल्लेख छ ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास मन्त्री सुनिल लम्साल, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सेयरमा लगानी नभएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री र उद्योगमन्त्रीसँग सबैभन्दा बढी सुन, कुन मन्त्रीसँग कति ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक गरिएको विवरणअनुसार मन्त्रिपरिषद्का सदस्यहरू सुनचाँदीमा निकै धनी देखिएका छन् । प्रधानमन्त्रीसहितका मन्त्रीहरूसँग कुल करिब ८ सय तोला सुन मौज्दात रहेको पाइएको छ । विवरणअनुसार प्रधानमन्त्री बालेन शाह र उद्योगमन्त्री गौरी कुमारीसँग सबैभन्दा बढी सुन रहेको देखिएको छ । प्रधानमन्त्री शाहसँग १९० तोला सुन रहेको छ । उक्त सुन पत्नी सविनाको पैतृक सम्पत्तिका रूपमा प्राप्त भएको विवरणमा उल्लेख छ । उद्योगमन्त्री गौरी कुमारीसँग १८० तोला सुन रहेको छ । उनले यो सम्पत्ति रुसमा व्यापार गर्ने क्रममा आर्जन गरेको बताएकी छिन् । गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको छ । श्रममन्त्री रामजी यादवसँग ८० तोला सुन मौज्दात छ । अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन रहेको छ । कुन मन्त्रीसँग कति ? गृहमन्त्री सुधन गुरुङ- ८९ तोला श्रममन्त्री रामजी यादव- ८० तोला अर्थमन्त्री स्वर्णिम वाग्ले- ४५ तोला भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल- ३० स्वास्थ्यमन्त्री निशा मेहेता-३० तोला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल-२५ तोला शिक्षामन्त्री सस्मित पोखरेल-२५ तोला परराष्ट्रमन्त्री शिशिर खनाल- २२ तोला महिला बालबालिकामन्त्री सीता वादी-१८ तोला उर्जामन्त्री विराजभक्त श्रेष्ठ- १५ तोला कानुनमन्त्री सोविता गौतम- १५ तोला पर्यटनमन्त्री खडकराज पौडेल- ११ तोला सञ्चारमन्त्री विक्रम तिमिल्सिना- करिब ७ तोला कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरी- ५ तोला 

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सम्पत्ति: श्रीमान्‌को आयबाट काठमाडौं र बारामा जग्गा, २५ तोला सुन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन् । आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार मन्त्री प्रतिभा रावलको काठमाडौं र बारामा गरी १ करोड २० लाख बराबरको जग्गा र विलासी सवारी साधन रहेको देखिएको छ । मन्त्री रावलले बुझाएको विवरण अनुसार काठमाडौंको बूढानीलकण्ठमा ७० लाख रुपैयाँ र बारामा ५० लाख रुपैयाँ मूल्य पर्ने जग्गा रहेको छ । यी दुवै जग्गा खरिदको मुख्य स्रोत उनले आफ्नो श्रीमान्‌को आयलाई देखाएकी छिन् । त्यस्तै, उनीसँग २५ तोला सुन रहेको छ । उक्त सुनको प्राप्तिको स्रोत स्वआर्जन र परिवारबाट प्राप्त उपहार भएको विवरणमा उल्लेख छ । आर्थिक कारोबारका हकमा विभिन्न बैंकहरूमा उनको नाममा २४ लाख रुपैयाँभन्दा बढी बचत रहेको छ । यो रकम पनि श्रीमान्‌कै आम्दानीबाट जम्मा भएको उनले खुलाएकी छिन् । सवारी साधनतर्फ मन्त्रीसँग ४४ लाख रुपैयाँ मूल्यको गाडी रहेको छ । विवरणमा मन्त्रीले बैंक ऋणको दायित्व पनि उल्लेख गरेकी छिन् । उनले एभरेष्ट बैंकबाट २०८२ साल जेठ महिनामा २० लाख रुपैयाँ ऋण लिएको सम्पत्ति विवरणमा खुलाइएको छ । सरकारले पारदर्शिताका लागि प्रधानमन्त्री बालेन्द्र शाहसहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण एकसाथ सार्वजनिक गरेको हो ।

शिक्षामन्त्री सस्मित पोखरेलको २३ करोड बढीको खुद सम्पत्ति: साढे २० करोडको घरजग्गा, ७५ लाख ऋण

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार मन्त्री पोखरेलले आफ्नो र परिवारको संयुक्त नाममा काठमाडौं, ललितपुर र मोरङका विभिन्न ७ स्थानमा घरजग्गा रहेको खुलाएका छन् ।  बुवा, आमा, मावली हजुरआमा र दिदीबहिनीको समेत संयुक्त स्वामित्वमा रहेको उक्त अचल सम्पत्तिको मूल्य करिब साढे २० करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ । साथै, २५ तोला सुन, सय तोला चाँदी रहेको विवरण उल्लेख गरेका छन् । उनले आफ्नो बैंक खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् भने डलर खातामा अमेरिकी डलर ५ रहेको उल्लेख छ । उनले पारिवारिक सदस्यसहितले संयुक्त रुपमा शेयर कारोबारमा पनि लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूले पीएमएस होल्डिङ्समा विभिन्न कम्पनीका शेयरहरू करिब ३० लाख बराबरको लगानी गरेको उल्लेख गरेका छन् । बुवा रमेशकुमारकै राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रुपैयाँ बराबरको रकम राष्ट्र बैंकबाट निवृत्त हुँदा पाएको रकमलाई शेयर खरिदको रुपमा राखेका छन् । आमा मिनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख गरेका छन् । उनले आफू र आमा मिनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण देखाएका छन् । हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माच्छापुच्छ्रे बैंकमा आमाको नाममा ५० लाख कर्जा रहेको उल्लेख छ । बुवा र आफ्नो नाममा दुईवटा सवारी साधन रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सम्पत्ति विवरणमा कूल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख रहेको उल्लेख गरेका छन् । उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रहेको उल्लेख छ । 

कृषि र वनमन्त्री गीता चौधरीको सम्पत्ति: माइतीको बाख्रादेखि ऋणको स्कुटरसम्म

काठमाडौंं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीको सम्पत्ति विवरणमा केही रोचक तथ्यहरू देखिएका छन् ।  मन्त्री चौधरीले आफ्नो सम्पत्ति विवरणमा घडीदेखि ल्यापटपसम्मको मूल्य स्पष्टसँग उल्लेख गरेकी छिन्। उनले ५० हजारको घडी लाउने गरेको पाइएको छ । यस्तै, स्वआर्जनबाट ५० हजार रुपैयाँ पर्ने घडी रहेको छ भने मोबाइल ९० हजार रुपैयाँ र ल्याप्टप ७५ हजार रुपैयाँ रहेको पाइएको छ ।  उनको नाममा ५ तोला सुन र १०० तोला चाँदी रहेको छ । उक्त सुन र चाँदीको आयस्रोत पैतृक र स्वआर्जन रहेको जनाइएको छ । ५ वटा बैंकमा गरी मन्त्री चौधरीको नाममा १ लाख २६ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ । मन्त्री चौधरीले ऋण काढेर एउटा स्कुटर खरिद गरेको उल्लेख छ । स्कुरट खरिद गर्दा लिएको १ लाख ५० हजार मध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख छ । स्वआर्जनबाट ३ लाख ३० हजार मूल्यको अर्को पनि स्कुटर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सम्पत्तिको नाममा माइतीले दिएको २ वटा बाख्रा र १० कुखुरा रहेको विवरणमा उल्लेख छ ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सम्पत्ति: ५८ लाख बैंक ब्यालेन्स, १.४५ करोडको सेयर र १५ तोला सुन

काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आफूसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको खुलाएका छन् । सार्वजनिक सम्पत्ति विवरणमा उनले सुन र चाँदी पैतृक र विवाहबाट प्राप्त भएको खुलाएका छन्  । त्यस्तै, उनले विभिन्न बैंकमा ५८ लाख ६४ हजार ६३६ रुपैयाँ ब्यालेन्स रहेको उल्लेख गरेका छन् । त्यस्तै, सेयरमा १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँ रहेको विवरण छ । उनीसँग गाडी, स्कुटर र इभी गाडी रहेको पनि उल्लेख छ ।