वैशाख १५ गते सुरुङमार्ग सञ्चालनमा आउने : १४३ नेपाली कामदार, ५ चिनियाँ विज्ञले कमाण्ड सम्हाल्ने
काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्गको रूपमा रहेको नागढुंगा सुरुङमार्ग आगामी वैशाख १५ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । आयोजनाका सूचना अधिकारी सञ्जय पन्थीले सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि आवश्यक जनशक्ति छनौटको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । सुरुङमार्ग सञ्चालनका लागि एक चिनियाँ कम्पनीलाई छनौट गरिएको छ । ‘हामीले कम्पनी छनौट गरिसकेका छौं र अब सम्झौताका लागि बोलाएका छौं,’ सूचना अधिकारी पन्थीले भने । सम्झौता प्रक्रिया सकिएलगत्तै कम्पनीले आफ्नो विस्तृत कार्ययोजना र जनशक्तिको विवरण पेश गर्नेछ । सुरुङमार्गको सुरक्षित र व्यवस्थित सञ्चालनका लागि जम्मा १४८ जनाको दरबन्दी तय गरिएको छ । जसमा ५ जना चिनियाँ प्राविधिक विज्ञ रहनेछन् भने बाँकी १४३ जना नेपाली कर्मचारी हुनेछन् । विदेशी विज्ञहरूले मुख्यगरी पाँचवटा प्राविधिक क्षेत्रको नेतृत्व गर्नेछन् । जसमा ओभरअल हेड (समग्र नेतृत्व), टोल कलेक्सन (शूल्क संकलन), टनेल फ्यासिलिटी (सुरुङ सुविधा), सेफ्टी (सुरक्षा) तथा ट्राफिक मनिटरिङ (ट्राफिक निगरानी) गर्ने जनाएको छ । नेपाली कर्मचारीहरूको हकमा आयोजनाले स्थानीय बासिन्दालाई पहिलो प्राथमिकता दिने नीति लिएको छ । इन्जिनियर, मेकानिकल, आईटी विज्ञदेखि सवारी चालक र सुरक्षा गार्डसम्मका लागि आवश्यक योग्यता तोकिएको छ । छनौट भएका कर्मचारीहरूलाई सुरुङमार्ग सञ्चालन सम्बन्धी १५ देखि २० दिनको विशेष तालिम दिइनेछ । सुरुङमार्गको भौतिक निर्माण सम्पन्न भई अब सञ्चालनको प्राविधिक पक्षमा काम भइरहेको छ । ‘सम्झौता भएपछि हामी कम्पनीको वर्क सेड्युल माग्छौं र त्यो चित्तबुझ्दो भएपछि सञ्चालनको प्रक्रिया अघि बढ्छ,’ पन्थीले भने ।
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
काठमाडौं । विश्वव्यापी ऊर्जा सङ्कट चर्किरहेका बेला इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो तेलसम्बन्धी छलफलका लागि रुस जाने भएका छन् । उनी आइतबार साँझ जकार्ताबाट मस्को प्रस्थान गर्ने कार्यक्रम रहेको सरकारी स्रोतले जनाएको छ । राष्ट्रपतिका अनुसार यो भ्रमण ऊर्जा सुरक्षासँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । विदेशमन्त्री सुगियोनोले तेल आपूर्ति र ऊर्जा स्थायित्वलाई वार्ताको मुख्य एजेन्डा बनाइएको बताए । उनले राष्ट्रपति प्रबोवोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटेर विश्व भूराजनीति र ऊर्जा बजारको अवस्थाबारे विस्तृत छलफल गर्ने जानकारी दिए । राष्ट्रपति प्रबोवोले पछिल्ला दिनहरूमा दक्षिण कोरिया र जापानको भ्रमण गरेका थिए । ती भ्रमणहरूलाई उनले विदेश नीति सुदृढ गर्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन् । उनले आफ्ना मन्त्रीहरूलाई सम्बोधन गर्दै ऊर्जा सुरक्षालाई राष्ट्रिय प्राथमिकता बनाउँदै विश्वका प्रमुख राष्ट्रहरूसँग प्रत्यक्ष संवाद आवश्यक भएको बताएका थिए । इन्डोनेसिया विश्वकै ठूलो अर्थतन्त्रहरूमध्ये एक भए पनि इन्धन क्षेत्रमा चुनौतीपूर्ण अवस्थामा छ । देशले केही तेल उत्पादन गरे पनि ठूलो मात्रामा आयातमा निर्भर रहनुपर्छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य वृद्धि हुँदा इन्डोनेसियामा पनि त्यसको प्रभाव देखिएको छ । गत महिना सरकारले ऊर्जा सङ्कट नियन्त्रण गर्न इन्धन रासनिङको घोषणा गरेको थियो । साथै, ऊर्जा बचतका लागि सरकारी कर्मचारीहरूलाई हप्तामा एक दिन घरबाट काम गर्न अनिवार्य गरिएको छ । सरकारले निकट भविष्यमा इन्धनको मूल्य नबढाउने प्रतिबद्धता व्यक्त गरेको छ । रुसका लागि इन्डोनेसियाका राजदूत सर्गेई टोल्चेनोभले यसअघि इन्डोनेसियालाई तेल आपूर्ति गर्न रुस तयार रहेको बताएका थिए । उनले इन्डोनेसियालाई आवश्यक परे सहयोग उपलब्ध गराउने संकेत गरे । गत वर्ष इन्डोनेसिया रुस र चीनसहित उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्समा सामेल भएको थियो । यद्यपि राष्ट्रपति प्रबोवोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार सम्झौता पनि गरेका छन् जसले देशको विदेश नीति सन्तुलित बनाउन खोजिएको संकेत गर्दछ । रासस
यामाहाले ल्यायो एफजेट एफआई न्यू जेन, ब्लू फेस्ट सम्पन्न
काठमाडौं । यामाहा नेपालले आधिकारिक वितरक एमएडब्लु ग्रुप मार्फत ‘यामाहा ब्लू फेस्ट’ सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा ग्राहक, डिलर तथा मोटरसाइकलप्रेमीलाई एकै स्थानमा ल्याउँदै आकर्षक ब्रान्ड अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रमको उद्घाटन विष्णु कुमार अग्रवाल र ब्रान्ड एम्बेसडर अनुप विक्रम शाही ले संयुक्त रूपमा गरेका थिए । ब्लू फेस्टको मुख्य आकर्षण ‘लिड द नेक्स्ट’ थीमअन्तर्गत नयाँ यामाहा एफजेट एफआई न्यू जेनको आधिकारिक सार्वजनिकरण रहेको थियो । अध्यक्ष अग्रवालले उक्त मोडल सार्वजनिक गर्दै नेपालमा लोकप्रिय एफजेट सिरिजको नयाँ अध्याय सुरु भएको बताए । कार्यक्रममा बोल्दै उनले यामाहा मोटरसाइकलहरू प्रदर्शन, स्टाइल र उत्साह प्रदान गर्ने गरी निर्माण गरिएको उल्लेख गर्दै एफजेट सिरिज नेपाली राइडरहरूको विश्वासिलो रोजाइ बन्दै आएको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल ले नयाँ मोडलमा ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल एबीएस र वाई–कनेक्टजस्ता विशेषता समावेश गरिएको जानकारी दिए । उनका अनुसार एफजेट एफआई न्यू जेन स्टाइल, प्रविधि र प्रदर्शनको संयोजन खोज्ने नयाँ पुस्ताका राइडरलाई लक्षित गरी तयार गरिएको हो । कार्यक्रममा सेल्स हेड शैलेन्द्र अधिकारी ले ब्लू फेस्ट अन्तर्गत उपलब्ध अफर, मूल्य संरचना तथा नयाँ मोडलका विशेषताबारे जानकारी दिएका थिए । ब्लू फेस्टअन्तर्गत आयोजित एक्सचेन्ज कार्निभलमा ग्राहकले आफ्ना पुराना मोटरसाइकल साट्न सक्ने सुविधा पाएका थिए । ५० भन्दा बढी रिकन्डिसन हाउसको सहभागितामा बजारअनुसारको मूल्याङ्कनसहित एक्सचेन्ज सुविधा उपलब्ध गराइएको थियो । त्यसैगरी, ग्राहकले नागरकितामार्फत तुरुन्त फाइनान्सिङ सुविधा, अधिकतम ४० महिनासम्मको ईएमआई विकल्प तथा ब्लू फेस्ट योजनाअन्तर्गत अधिकतम ५ लाख रुपैयाँसम्म क्यासब्याक सुविधा प्राप्त गरेका थिए । कम्पनीले ब्लू फेस्टमार्फत ग्राहकलाई पूर्ण ब्रान्ड अनुभव प्रदान गर्नुका साथै इनोभेसन र राइडर सन्तुष्टिप्रतिको प्रतिबद्धता दोहोर्‍याएको जनाएको छ ।
स्वास्थ्यमन्त्री मेहताले गरिन् वीर र शहीद गंगालालको आकस्मिक अनुगमन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गरेकी छन् । अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिन मन्त्री कुनै पूर्वजानकारी बिना नै अस्पताल पुगेकी हुन् । अनुगमनका क्रममा उनले अस्पतालको सरसफाइ, बिरामीको चाप र लामा लाइन, औषधी अभाव तथा स्वास्थ्य बीमामा देखिएका जटिलताका विषयमा प्रत्यक्ष अवलोकन गरेकी थिइन् । अनुगमनका क्रममा नागरिकहरूले स्वास्थ्य बीमाको लाभ लिन भोग्नुपरेका झन्झट र सामान्य औषधोपचारमा पनि घण्टौं कुर्नुपर्ने समस्याका बारेमा मन्त्रीले चासो व्यक्त गरिन् । अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई तुरुन्त निर्देशन दिँदै उनले अस्पतालको सरसफाइमा ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन निर्देशन दिइन् । ‘जनताले सरकारी अस्पतालमा सेवा पाउँदा झन्झट होइन, राहत महसुस गर्नुपर्छ,’ भन्दै उनले देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइन् ।
संसदीय दलको नेता चयन गर्न सहमति नभए तत्काल निर्वाचनबाट टुंग्याउन ढिलाइ नगरौं : केसी
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुन नरसिंह केसीले प्रतिनिधिसभाको प्रमुख विपक्षी दलको नेता चयनमा भइरहेको ढिलाइबारे पार्टीभित्रैबाट स्पष्ट मापदण्ड बनाएर छिटो निर्णय गर्नुपर्ने आवाज उठाएका छन् । उनले सार्वजनिक रूपमा धारणा राख्दै नेता चयनमा ढिलाइ हुनु स्वाभाविक बहसको विषय भए पनि को, किन र कस्तो नेता चाहिन्छ भन्नेबारे स्पष्ट मापदण्ड तय गर्न आवश्यक रहेको बताए । उनले आफ्ना कारणले प्रक्रियामा ढिलाई भएको भन्ने आरोप असत्य र भ्रामक रहेको स्पष्ट पार्दै यसबारे पार्टीभित्र र सार्वजनिक रूपमा पटकपटक धारणा राखिसकेको जानकारी दिए । ‘पहिले सहमतिको मापदण्ड बनाऔं, सकेसम्म सर्वसम्मतिबाट टुंग्याऔं,’ उनले भनेका छन् । प्रत्यक्ष वा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदबीच विभेद गर्नु उपयुक्त नहुने उनको धारणा छ । यदि निर्वाचनमार्फत निर्णयमा पुग्नुपर्ने अवस्था आएमा पनि निश्चित मापदण्डका आधारमा योग्य, न्यायोचित र तार्किक निर्णय हुनुपर्ने नेता केसीको भनाइ छ । उनका अनुसार संसदीय दलको नेता केवल पद नभई प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्ने महत्त्वपूर्ण जिम्मेवारी हो । सहमति हुन नसके तत्काल निर्वाचनमार्फत निर्णय गर्न ढिलाइ गर्न नहुने पनि उनको भनाइ छ ।
पाल्पामा अक्सिजन उत्पादन सुरु, जिल्लाका अस्पताललाई सहज हुने
पाल्पा । पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्तिको व्यवस्थापन र मर्मतसम्भार गरी प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो । कोरोनाको समयमा सङ्घीय सरकारबाट बजेट विनियोजन भई पाल्पा अस्पतालमा निमार्ण गरिएको अक्सिजन प्लान्ट केही वर्षयता बिग्रिएर थन्किएको थियो । अहिले प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन अभावको समस्या समाधान हुने भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । यसअघि यहाँ अक्सिजन प्लान्ट नहुँदा बुटवल, भैरहवाबाट ल्याउनुपर्ने बाध्यता थियो । जिल्लामा अक्सिजन प्लान्ट सञ्चालन भएपछि अन्य अस्पतालका साथै सबै बिरामीलाई सजिलो भएको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिञ्जालीले बताए । प्लान्ट सञ्चालनपछि पाल्पा अस्पतालमा भर्ना हुने बिरामी मात्र नभई लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल, रामपुर अस्पताल तथा जिल्लाका निजी मेडिकल र क्लिनिकहरूलाई समेत अक्सिजन सिलिण्डर आपूर्ति गर्न सहज हुने उनले विश्वास व्यक्त गरे । जिल्लामा मासिक चार सयदेखि पाँच सय अक्सिजन सिलिण्डर खपत हुने गरेको छ । प्लान्टमा अक्सिजन सिलिण्डर सानोको रु तीन सय ५० र ठूलाको रु छ सय ५० सम्ममा खरिदबिक्री हुँदै आएको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले जानकारी दिए । जिल्लामा अक्सिजन उत्पादन हुँदा यहाँका अस्पतालहरूको ढुवानी खर्च र समयको बचत समेत हुने उनको भनाइ छ । पाल्पा अस्पताललाई सुविधायुक्त, विश्वसनीय र भरपर्दो बनाउन अक्सिजन प्लान्ट महत्वपूर्ण रहेको समितिका अध्यक्ष कर्माचार्यले बताए । उनले भने, 'अक्सिजनको अभावमा कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य रहेको छ ।' अक्सिजन प्लान्ट सञ्चालन भएसँगै अस्पतालले आगामी वैशाख दोस्रो साताभित्र शल्यक्रिया सेवा सुरु गर्ने योजना बनाएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र पौडेलले बताए । सङ्घीय सरकारअन्तर्गत अर्थ मन्त्रालयले विसं २०७८ जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि रु एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो । सरकारले स्वीकृत गरेको रकमबाट अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरी प्लान्ट सञ्चालनमा ल्याइएको थियो । प्लान्टका लागि अस्पताल नजिकै रु २६ लाख लागतमा भवन निर्माण गरिएको छ । कोभिडका बेला प्लान्ट सञ्चालनमा आउँदा सहज भए पनि त्यसयता बन्द भएपछि दीर्घरोगीहरूमर्कामा पर्दै आएका थिए । रासस
अटो बजारमा नयाँ वर्षलक्षित अफर : चारपांग्रेमा गाडी नै उपहार, दुई पांग्रेमा ५ वर्षसम्म निःशुल्क पेट्रोल
काठमाडौं । नयाँ वर्ष २०८३ सुरु हुन लागेसँगै नेपाली अटो बजारमा ग्राहक आकर्षित गर्ने होडबाजी सुरु भएको छ । बजारको सुस्तता तोड्न र नयाँ वर्षलाई उत्साहजनक बनाउन चारपांग्रे र दुईपांग्रे सवारी विक्रेता कम्पनीहरूले नगद छुट, एक्सचेन्ज बोनस, वैदेशिक भ्रमणदेखि निःशुल्क पेट्रोल र गाडी उपहारसम्मका आकर्षक योजनाहरू सार्वजनिक गरेका हुन् । चारपांग्रे सवारीतर्फ सबैभन्दा आक्रामक अफर फोर्डले ल्याएको छ । फोर्डको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले एभरेष्ट, र्याप्टर वा रेन्जर जस्ता प्रिमियम गाडी खरिद गर्दा केयी ब्राण्डको ई-क्युट ०२ मोडलको विद्युतीय गाडी (ईभी) उपहार दिने घोषणा गरेको छ । यस्तै, टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ अफरस्वरुप लक्की ड्रमार्फत टाटा आईपीएल हेर्न भारत जाने अवसर, नगद छुट र लाइफटाइम डीसी फास्ट चार्जिङको सुविधा ल्याएको छ । कम्पनीका अनुसार ग्राहकहरूलाई निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर, होम चार्जिङ इन्स्टलेसनजस्ता विशेष सुविधा पनि दिइनेछ । हुण्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ अफर ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूले हुण्डाई मोडलका गाडीहरूको खरिदमा १ लाख ७५ हजारसम्म नगद छुट, ९६ हजार बोनस र ३ वर्षको वारेन्टी उपलब्ध छ भने एक वर्षका लागि निःशुल्क बीमा र सवारी कर (रोड ट्याक्स) को सुविधा समेत उपलब्ध गराइएको छ । नयाँ वर्षको सुरुवातसँगै नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले आकर्षक नगद छुट र विभिन्न बोनस सुविधाहरू सहितको यो योजना ल्याएको जनाएको छ । ग्राहकको सहजताका लागि कम्पनीले स्पट एक्सचेन्ज र मूल्यांकनको सुविधा पनि प्रदान गर्नेछ, जसले पुरानो गाडी साटेर नयाँ लिन चाहनेहरूलाई थप मद्दत पुग्ने कम्पनीले जनाएको छ । यस्तै, केयी गाडीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटीले ‘केयी एक्सचेन्ज क्याम्प’ अफरमार्फत होटल दुसित थानीमा एक रातको स्टे प्याकेज र आकर्षक एक्सचेन्ज बोनस दिने भएको छ । कम्पनीले देशभर तीन दिने ‘केयी एक्सचेन्ज क्याम्प’ सञ्चालन गर्ने गर्दै ग्राहकहरूलाई सहज, आकर्षक तथा प्रतिस्पर्धी मूल्यांकनमार्फत आफ्ना सवारीसाधन स्तरोन्नति (अपग्रेड) गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ । यसमा ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर नयाँ केयी मोडलका गाडी विशेष नयाँ वर्ष अफरसहित खरिद गर्न सक्नेछन् । नेपालमा किफायती तथा मूल्यअनुसार लाभदायी (भ्यालु–फर–मनी) सवारी साधनको बढ्दो मागलाई सम्बोधन गर्दै आधुनिक आवागमन (मोडर्न मोबिलिटी) मा पहुँच सहज बनाउने लक्ष्यसहित अभियान सुरु गरिएको कम्पनीले जनाएको छ । ग्राहकहरूले नयाँ वर्ष विशेष नगद लाभ, आकर्षक एक्सचेन्ज बोनस, व्यावसायिक सवारी मूल्यांकन, वित्तीय सुविधा (फाइनान्सिङ), सवारी बीमा सेवा तथा ७ किलोवाट वा ३ किलोवाट क्षमताका चार्जर विकल्प प्राप्त गर्नेछन् । साथै प्रत्येक बुकिङमा जोडीका लागि धुलिखेलस्थित दुसित थानी होटलमा एक रातको निःशुल्क बसाइ प्याकेज प्रदान गरिनेछ । यसैगरी निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसान म्याग्नाइट प्रतिदिन मात्र ९९९ रुपैयाँमा चढ्न सकिने योजना ल्याएको छ । यसमा ग्राहकहरूले यस सिजनमा निसान म्याग्नाइट खरिद गर्दा आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् । नयाँ वर्ष अफरअन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँसम्म नगद छुट, २ लाखसम्म एक्सचेन्ज बोनस, एक वर्षको बीमा तथा चालु आर्थिक वर्षको रोड ट्याक्स प्राप्त गर्नेछन् । दुईपांग्रेमा प्रतिस्पर्धाः निःशुल्क पेट्रोलदेखि क्युआर गेमसम्म दुईपांग्रे सवारी वितरकहरूले बढ्दो इन्धनको मूल्यलाई लक्षित गर्दै राहतमूलक योजना ल्याएका छन् । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले लक्की ड्रमार्फत भाग्यशाली विजेतालाई ५ वर्षसम्म निःशुल्क पेट्रोल उपलब्ध गराउने भएको छ । यस्तै, होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘२०८३ को सपना मेरो होण्डा’ अफर ल्याउँदै स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्म जित्न सकिने र ७ वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा ल्याएको छ । बजाजको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज न्यू इयरको क्यूआर’ अफर मार्फत क्यूआर स्क्यान गरेर गेम खेल्दा स्मार्ट वाच र १ लाखसम्म नगद जित्ने मौका ल्याएको छ । यस्तै, हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले १ लाखसम्म नगद छुट र उत्ति नै बराबरको एक्सचेन्ज बोनसका साथै सजिलो फाइनान्स सुविधा ल्याएको छ । सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ३०० एनके मोडलमा १ लाख ५ हजारको भारी छुटसहित हेल्मेट र हुडी निःशुल्क दिइने कम्पनीले जनाएको छ । इटालियन स्कुटर ब्राण्ड भेस्पा/एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले ४.९९ प्रतिशतको न्यून ब्याजदर र रूपाकोट रिसोर्टमा बस्ने प्याकेजको अफर ल्याइएको छ । सेगवेको आधिकारिक वितरक आइहब प्रालिले पहिलो २५ ग्राहकका लागि ४१ हजारसम्मको ‘अर्ली बर्ड’ डिस्काउन्ट र डिजिटल ट्याब उपहार राखिएको छ । यस्तै, यामाहाको आधिकारिक वितरक एमएडब्लूले ‘यामाहा ब्लु फेस्ट’ अफर ल्याउँदै नयाँ हाइ(टेक मोटरसाइकल तथा स्कुटरहरू अवलोकन गर्न दिने भएको छ । यसमा आगन्तुकहरूले आफ्ना हाल चढिरहेका मोटरसाइकल ल्याएर ५० भन्दा बढी व्यवसायिक रिकन्डिसन हाउसहरूको सहयोगमा मूल्यांकन गराउन सक्नेछन् । ग्राहकहरूको पहुँच थप सहज बनाउन यामाहाले सरल र लचिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ। ग्राहकहरूले नागरिकतामार्फत फाइनान्स सुविधा लिन सक्नेछन् । साथै ४० महिनासम्म विस्तार हुने सस्तो ईएमआई योजनाको लाभ पनि उठाउन सक्नेछन् । फेस्टमा खरिदकर्ताहरूले ५ लाखसम्मको क्यासब्याक अफर पनि पाउने जनाइएको छ । अटो व्यवसायीहरूका अनुसार नयाँ वर्षमा सवारी साधन खरिद गर्दा ग्राहकले अधिकतम लाभ लिन सक्नेछन् । प्रायः सबै कम्पनीले पुराना सवारी साधनसँग नयाँ साट्न चाहनेका लागि स्पट एक्सचेन्ज र उत्कृष्ट मूल्यांकनको सुविधालाई प्राथमिकता दिएका छन् । बैंकिङ तरलता र व्यवसायीहरूको प्रतिस्पर्धाका कारण यो समय गाडी वा मोटरसाइकल जोड्न चाहनेका लागि निकै सस्तो र उपयुक्त देखिएको छ । यी सबै योजनाहरू नेपालभर रहेका सम्बन्धित ब्राण्डका आधिकारिक शोरुमहरूमा सीमित अवधिका लागि लागू हुने कम्पनीहरूले जनाएका छन् ।
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ सेयर निस्कासन गर्ने
काठमाडौं । चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक सेयर निस्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीको आइतबार सम्पन्न पहिलो साधारणसभाले ‘आईपीओ’ निस्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको छ । साधारणसभाले चुक्ता पुँजीको चार प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको र छ जना सञ्चालक निर्विरोध चयन गरेको अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए । निर्वाचित हुने सञ्चालकमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धीरेन्द्र श्रेष्ठ, शङ्कर महर्जन र वीरेन्द्र श्रेष्ठ रहेका छन् । साधारणसभाले अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसमेत पारित गरेको छ । होल्डिङ कम्पनीका रूपमा रहेको उक्त संस्थाले इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसानलगायत कम्पनीमा लगानी गरेको अध्यक्ष श्रेष्ठले बताए ।