विकासन्युज

कोका–कोला नेपालले फिफा वल्र्ड कप २०२६ अभियान सुरु

काठमाडौं । कोका–कोला नेपालले बहुप्रतीक्षित फिफा वल्र्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरु गरेको छ । यस अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी भएका थिए । कार्यक्रममा कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर सार्वजनिक पनि गरिएको थियो । साथै फिफा वल्र्ड कप २०२६ का स्टारहरू, अभियानसँग सम्बन्धित अडियो–भिजुअल सामग्री पनि प्रस्तुत गरियो । त्यस्तै छिट्टै बजारमा आउने सीमित संस्करणका आधिकारिक कोका–कोला फिफा प्याकहरूको पहिलो झलक पनि देखाइएको थियो । कार्यक्रममा बोल्दै बोतलर्स नेपालका प्रबन्ध निर्देशक अजय कोनालेले भने, 'यो अभियान केवल फुटबलको उत्सव मात्र होइन, फिफाको विश्वव्यापी आकर्षणलाई नेपाली उपभोक्ताको जीवनसँग जोड्ने प्रयास पनि हो । विशेष कोका–कोला फिफा प्याक, रोमाञ्चक गतिविधि र विभिन्न सरप्राइजमार्फत हामी उपभोक्तालाई अविस्मरणीय अनुभव दिन चाहन्छौं । यसले ब्रान्डप्रतिको आकर्षण बढाउनुका साथै समर्थकहरूको खुशीका क्षणहरूमा कोका–कोलाको भूमिका अझ बलियो बनाउनेछ ।' कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदीप खड्कालाई कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर घोषणा गरिउको थियो । घोषणा पछि खड्काले कोका–कोला परिवारमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए । त्यसैगरी, अभियानका मुख्य अनुहारका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अन्जल विष्ट र अन्जन राना मगर तथा अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत गरिएका थिए । उनीहरूले स्टेजमा आफ्नो अनुभव र फुटबलले ल्याउने खुसीबारे आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा फिफा वल्र्ड कप २०२६ थिममा आधारित नयाँ प्याकेजिङ पनि सार्वजनिक गरिएको थियो । साथै, उक्त कार्यक्रममा कोका–कोलाको आधिकारिक गीत (एन्थेम), फिफा वल्र्ड कप टिभीसी र अन्य प्रचार सामग्री पनि प्रदर्शन गरिएको थियो । कोका–कोलाको फिफासँगको सहकार्य विश्व खेलकुदकै सबैभन्दा लामो साझेदारीमध्ये एक हो । यो सम्बन्ध सन् १९७४ मा सुरु भएको हो भने सन् १९७८ देखि कोका–कोला फिफा विश्वकपको आधिकारिक प्रायोजक रहँदै आएको छ । नेपालमा पनि यो ब्रान्ड पाँच दशकभन्दा बढी समयदेखि लगातार सक्रिय रहँदै आएको छ । यस नयाँ अभियानको उद्देश्य विश्वव्यापी फुटबल संस्कृतिलाई नेपाली दर्शकहरूको उत्साहसँग जोड्नु पनि हो ।       

औषधी व्यवस्था विभागका महानिर्देशक ढकालमाथि छानविन गर्न समिति गठन

काठमाडौं । औषधी व्यवस्था विभागबाट स्वास्थ्य मन्त्रालयमा तानिएका विभाग महानिर्देशक नारायणप्रसाद ढकालमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।  महानिर्देशकले प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधीको मूल्यवृद्धि गरेको भन्दै स्वास्थ्य मन्त्रालयमा उजुरी प्राप्त भएकाले सो विषयमा छानबिन गर्न समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।  यो समितिले महानिर्देशकले ७ दिनभित्र औषधीको मूल्य निर्धारण प्रक्रिया, उक्त प्रक्रिया पूरा गरी काम भएको हो वा होइन, औषधीको मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको भए को कसको संलग्नता भएको हो भन्ने विषयमा खुलाई छानबिन गरी पेश गरिसक्नुपर्ने छ । समिति सदस्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कानुन शाखा प्रमुख गोपीकृष्ण रेग्मी, विषयविज्ञ कविन मलेकु रहेका छन् ।  समितिले आवश्यकताअनुसार विज्ञ तथा अन्य कर्मचारीहरू आमन्त्रित गर्न सक्ने जनाइएको छ ।

अस्पतालका एमआरआई र सिटीस्क्यान मेसिनको गुणस्तर जाँचिने

काठमाडौं । सरकारले देशभरका सरकारी तथा निजी अस्पतालहरूमा प्रयोग भइरहेका ठूला स्वास्थ्य उपकरणहरूको गुणस्तर र विकिरण सुरक्षाको अवस्थाबारे विस्तृत अध्ययन सुरु गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, गुणस्तर मापन तथा नियमन महाशाखाले वीर अस्पतालका विशेषज्ञहरू सम्मिलित एक टोलीलाई देशभरका अस्पतालमा रहेका उपकरणहरूको अनुगमन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो । मन्त्रालयले मेडिकल फिजिसिष्ट डा. कञ्चनप्रसाद अधिकारी र रेडियोलोजिष्ट डा. हरिओम जोशीलाई अध्ययन र स्थलगत अनुगमनको जिम्मेवारी तोकेको छ । २०८२ चैत २७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार गठित यो टोलीलाई १० दिनभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ । मन्त्रालयले विशेषगरी अस्पतालहरूमा जडान गरिएका एमआरआई (एमआरआई), सिटी स्क्यान, क्याथ ल्याब र पेट सिटी स्क्यान लगायतका मेसिनहरूको प्रयोग र तिनको गुणस्तरको वर्तमान अवस्थाबारे जानकारी माग गरेको हो । यसका साथै विकिरणको क्षेत्रमा काम गर्ने प्राविधिक कर्मचारीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ।  कर्मचारीहरूले पर्सनल रेडिएसन डोज मनिटर प्रयोग गरे/नगरेको र ती उपकरणहरूको नियमित परीक्षण भए/नभएको बारे पनि अनुगमन गरिने मन्त्रालयले जनाएको छ ।

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

दशरथचन्द । बैतडीमा २१ लाख रुपैयाँ बढीका अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका-४ हल्दुविनायकबाट बोलेरो पिकअप र ट्याक्टरसहित २१ लाख आठ हजार ८१० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको हो ।      आइतबार बिहान ३ः०० बजेतिर भारतबाट भन्सार छली गरी ल्याइएका अवैध सामानसहित बोलेर पिकअप र ट्याक्टरलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्गबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार २३ क्विन्टल चिनी, पाँच क्विन्टल मिश्री र अन्य किरानाका सामान बरामद गरिएको हो ।      सुपप्र ०१ ००१ च २७८९ नम्बरको बोलेरो पिकअप र सुपप्र ०१ ००२ त ५०९० नम्बरको ट्याक्टरलाई समेत नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक रमेशप्रसाद पाण्डेयको नतृेत्वमा खटिएको मोबाइल टोलीले ती सामान बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए । 'केही दिन पहिलेदेखि भन्सार छलीका सामान भित्रिँदैछन् भन्ने गोप्य सूचना पाएका थियौँ', उनले भने, 'सोहीअनुसार जिल्लाबाट खटिएको टोलीले जाँचबुझ गर्दा ती सामान फेला पारेको हो ।'       भन्सार छलीका सामान भित्र्याउने कार्यमा संलग्न व्यक्तिहरू भने प्रहरीको टोली देख्नेबित्तिकै भागेका सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका अवैध सामानसहित बोलेरो पिकअप र ट्याक्टरलाई आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाइएको छ ।  

डिजिटल सुरक्षादेखि बचतसम्म : फोनपेले दियो विद्यार्थीलाई वित्तीय शिक्षा

काठमाडौं । फोनपेले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गरेको छ । ‘स्मार्ट मनी टक्स’ भन्ने मूल सन्देशलाई केन्द्रमा राख्दै सञ्चालन गरिएको अभियानमार्फत युवापुस्तालाई जिम्मेवार वित्तीय व्यवहार, डिजिटल सुरक्षा तथा स्मार्ट आर्थिक निर्णयबारे सचेत गराइएको फोनपेले जनाएको छ । फोनपेले ४ प्रदेशका ६ शहरका १२ कलेजमा १८ सत्रमार्फत एक हजार ९० भन्दा बढी तथा ५ प्रदेशका ९ शहरका २८ विद्यालयमार्फत चार हजार ९६१ भन्दा बढी विद्यार्थीलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको जनाएको छ । कार्यक्रमअन्तर्गत मनोरञ्जनात्मक खेल, क्विज तथा नाटकजस्ता गतिविधिमार्फत विद्यार्थीलाई खर्च व्यवस्थापन, बचत र सही वित्तीय जानकारीबारे प्रशिक्षण दिइएको थियो । यसैक्रममा आयोजित ‘फाइनान्सियल लिटरेसी स्टुडेन्ट भिजिट’ कार्यक्रममा काठमाडौं उपत्यकाका ४० भन्दा बढी विद्यार्थीलाई फोनपेको कार्यालयमा आमन्त्रण गरी अन्तरक्रियात्मक खेलका साथै डिजिटल भुक्तानी र वित्तीय सुरक्षासम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको थियो । फोनपेले डिजिटल माध्यममार्फत स्किट भिडियो, डिजी स्मार्ट कन्भर्स, इमेल–आधारित सामग्री, क्विज तथा ‘स्मार्ट मनी टिप्स’मार्फत पनि वित्तीय सचेतना फैलाएको जनाएको छ । फोनपेले यस्ता अभियानमार्फत सुरक्षित र जिम्मेवार डिजिटल अर्थतन्त्र निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनमा पनि यस्ता पहललाई निरन्तरता दिने जनाएको छ ।    

अन्ततः संसदीय दलको नेता चयन गर्न कांग्रेसले निर्वाचन गर्ने

काठमाडौं । नेपाली नेपाली कांग्रेसले प्रतिनिधिसभा दलको नेता चयन गर्न निर्वाचन गर्ने भएको छ । सर्वसहमतिबाट नेता चयन गर्ने मिहिनेत कांग्रेस नेताहरूले गरेपनि त्यसले परिणाम दिन नसकेपछि निर्वाचन हुने भएको हो ।  कांग्रेसका त्यसका लागि बैशाख ४ गते निर्वाचन गर्ने तयारी गरेको हो । निर्वाचनका लागि बैशाख २ गते निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी कांग्रेसको छ।  निर्वाचन समितिका संयोजक समेत रहेका सहमहामन्त्री प्रकाश रसाइलीका अनुसार सो निर्वाचनका लागि कार्यतालिका वैशाख २ गते सार्वजनिक गरिनेछ । उनले दलभित्र सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास भइरहेको भए पनि आवश्यक परे निर्वाचन प्रक्रियामा जानुपर्ने अवस्था रहने जानकारी दिए । कांग्रेस संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेले दाबी गरेका छन् । सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायत नेताहरूले सहमतिको प्रयास गर्दा पनि दाबेदारहरु कन्भिन्स नभएपछि चुनाव हुने भएको हो ।  सहमहामन्त्री रसाइलीले भने, 'सहमतिको प्रयास निरन्तर चलिरहेको छ । तर, सहमति नजुटेमा निर्वाचन अनिवार्य हुन्छ । एक मात्र उम्मेदवार भए सर्वसम्मत रूपमा नेता चयन हुन्छ, अन्यथा लोकतान्त्रिक प्रक्रियाबाट मतदानमार्फत संसदीय दलको नेता चयन गरिनेछ ।'

गृहमन्त्रीसँग व्यवसायीले मागे निर्माण आयोजनाको सुरक्षा, अस्वभाविक धम्कीले आयोजना प्रभावित हुने

काठमाडौं । निर्माणाधिन नागढुंगा–मुग्लिङ सडकको अनुगमनमा निस्किएका गृहमन्त्री सुधन गुरुङसँग निर्माण व्यवसायीहरूले सुरक्षा माग गरेका छन् । ठेक्का लिएर साइटमा काम गर्न जाँदा अनेक बहानामा स्थानीयस्तरमा अवरोध आउने गरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काले मन्त्रीसँग देशैभरका आयोजनामा सुरक्षा माग गरेका हुन् । उपाध्यक्ष खड्काले निर्माणाधिन नागढुंगा–नौबिसे सडकखण्डमा ठेक्का लिएर काम गर्दै आइरहेका छन् ।  आयोजनामा अनधिकृत व्यक्तिले काम रोक्न आएको अवस्थामा सार्वजनिक मुद्दा लगाएर कारवाही गर्न माग गरे । निर्माणाधिन नागढुंगा–मुग्लिङसडकमा काम गरिरहेका खड्काले निर्माण सम्पन्न भएर हस्तान्तरण भएको ५ वर्षसम्म मर्मतको जिम्मेवारी  निर्माण कम्पनीको रहने जानकारी गराए । सडक निर्माणमा गुणस्तरीयता कायम गर्न फास्टट्रयाकबाट निर्माण सामाग्री ल्याएर काम गर्नुपरेको बताए ।  सरकारले  छुट्याएको क्षेत्रबाट पर्याप्त निर्माण सामाग्री उत्खनन् गर्न नपाउँदा आयोजनाले लक्ष्य अनुसारको काम गर्न नसकेको जानकारी गराए । आयोजनालाई आवश्यक निर्माण सामाग्री उत्खनन् गर्न आफैले किने जग्गामा समेत मुद्दा लड्नु परेको उपाध्यक्ष खड्काले गृहमन्त्री गुरुङ सहितको टोलीलाई जानकारी गराए ।  निर्माण आयोजनालाई आवश्यक नदीजन्य निर्माण सामाग्री सरकारले अनुमति दिएको स्थानबाट उपलब्ध गराउन माग गरे । उनले आयोजना क्षेत्रमा रहेका नदीजन्य निर्माण सामग्रीको प्रशोधन केन्द्र क्रसरहरु चल्ने वातावरण बनाउन समेत माग गरे । सडक निर्माणको सिजन २ महिना बाँकी रहेकाले सरकारले बिटुमिन र पेट्रोलिय पदार्थको सहज उपलब्धता गराए कामले गति लिने जानकारी दिए । नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष खड्काले भने–‘गृहमन्त्री ज्यू कुनैपनि नेपालका हाइवे बन्दा कसैले डिस्टव गर्छ भने त्यसलाई सार्वजनिक मुद्दा लगाउनुपर्छ । तुरुन्त २४ घण्टाभित्र कारबाही हुनुपर्छ । त्यस्तो खाले कानून बनाउनुपर्छ ।’ मन्त्री गुरुङले निर्माण आयोजनाहरुमा अनावश्यक पैसा उठाउने गरेको गुनासो आफूले विगतदेखि नै सुन्दै आएको बताए । पूर्वाधार क्षेत्रमा काम गर्ने व्यवसायी माथीको धरपकड सह्य नहुने भन्दै मन्त्री गुरुङले त्यस्ता कार्य तत्काल रोक्न प्रमुख जिल्ला अधिकारी सिडियो र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिए ।  गृहमन्त्री गुरुङले भने– ‘विशेष गरी म अनुगमनमा आएको कारण ठेकेदारहरुसँग पैसा उठाउने, दुख दिने, घरपकड गरेको भन्ने सुनिन्छ । त्यसले गर्दा हाम्रो निर्माण क्षेत्रमा ढिलासुस्ती हुने गर्छ । निर्माण व्यवसायीले भनेजस्तै थर्काउने, धम्काउने काम हुने गरेको छ ।’ एक जनाले निर्माण आयोजनामा आएर धम्काएको भरमा काम रोक्ने अवस्थाको अन्त्य गर्ने आश्यवासन समेत गृहमन्त्री गुरुङले दिए । अन्तर मन्त्रालय समन्वयले रोकिएका ठाउँहरुमा समेत समन्वय गरेर काम अघि बढाउने मन्त्री गुरुङले बताए । शान्ती सुरक्षा बिना विकासले गति लिन नसक्ने भन्दै त्यस्ता कार्यहरु दोहोरिए सिडियो र एसपीलाई कारवाही गर्ने चेतावनी समेत दिए ।       

गृहमन्त्री गुरुङले पिर्के सलामी नलिने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय लिएका छन् । नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालयमा  पुगेर उनले उक्त निर्णय गरेका हुन् । गृहमन्त्री गुरुङलाई सशस्त्रका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए ।  सोही अवसरमा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, एसपी युवराज खडका, अनुसन्धानका एसपी अभिनयकुमार सिंह लगायतको पनि सहभागी रहेको थियो । आजै दूषित पानीको कारण नवलपुरमा गैंडाहरू धमाधम मृत भेटिएको भन्दै स्थानीयहरूले गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए । नवलपुरका सांसद राजन गौतमसहितको टिमले ज्ञापनपत्रसमेत बुझाएका छन् । विभिन्न उद्योगबाट आएको दूषित फोहोर पानी खोलामा मिसिएको र  उक्त पानी खाँदा  कैयौं वन्यजन्तुहरू मृत भेटिएको स्थानीयहरूको गुनासो छ । उक्त औद्योगिक क्षेत्रको गृहमन्त्री गुरुङले अवलोकनसमेत गरेका थिए ।