विकासन्युज

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुरदेखि १८ तोला सुनसम्म

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा मन्त्री वादीको सम्पत्ति अन्य मन्त्रीहरूको तुलनामा केही भिन्न देखिएको छ । मन्त्री वादीले आफ्नो सम्पत्ति विवरणमा घरमा पालिएका पशुपन्छीको समेत फेहरिस्त बुझाएकी छिन् । विवरण अनुसार उनीसँग २० वटा कुखुरा र एउटा कुकुर रहेको छ। यसका साथै उनीसँग अन्य विद्युतीय र सवारी साधनहरू छन् । मन्त्री वादीको नाममा एउटा स्कुटर र श्रीमानको नाममा एउटा पल्सर मोटरसाइकल तथा ३ वटा ल्यापटप र २ वटा मोबाइल छन् ।  आर्थिक कारोबारका हकमा उनीसँग नगद ५० हजार रुपैयाँ रहेको छ भने बैंक खातामा उनी र श्रीमानको नाममा गरी कुल १५ लाख रुपैयाँ मौज्दात रहेको छ । गरगहनातर्फ मन्त्री वादीसँग १८ तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख छ । यो सुनचाँदी उनले विवाहको समयमा उपहार स्वरूप प्राप्त गरेको विवरणमा खुलाइएको छ । जग्गाजमिनको विवरण अनुसार मन्त्री वादीको नाममा सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको एउटा जग्गा रहेको छ । सरकारले पारदर्शिताका लागि सार्वजनिक गरेको यस विवरणले मन्त्रीहरूको आर्थिक अवस्था र जीवनशैलीको झलक दिएको छ । मन्त्री वादीको विवरणमा घरपालुवा पशुपन्छी समेत उल्लेख हुनुलाई धेरैले उनको सरल र व्यावहारिक पक्षका रूपमा लिएका छन् ।  

गृहमन्त्री सुधन गुरुङसँग साढे ४ करोडको सेयर, धनकुटामा जग्गा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको ४ करोड ३१ लाख रुपैयाँभन्दा बढी सेयरमा लगानी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार गुरुङको कुल ४ करोड ३१ लाख रुपैयाँ बराबरको लगानी रहेको देखिएको हो। विवरणअनुसार, होप होल्डिङ्स प्रालिमा ३० हजार कित्ता सेयर रहेको छ, जसको मूल्य करिब ३० लाख रुपैयाँ रहेको छ। त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय कित्ता सेयर रहेको छ, जसको मूल्य ५७ लाख रुपैयाँ बराबर रहेको उल्लेख गरिएको छ। पुँजी बजारमा कारोबार हुने अन्य सेयरहरूमा उनले २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ लगानी गरेको जनाएका छन्, जसको स्रोत व्यवसायीक तथा पैतृक सम्पत्ति रहेको उल्लेख छ। साथै, एड्भेन्चर भिल्ला प्रालिमा ७० हजार कित्ता सेयर रहेको छ, जसको मूल्य करिब ७० लाख रुपैयाँ रहेको छ। सवारी साधनतर्फ, लगुम प्रिमियम अपार्टमेन्ट्सको नाममा करिब ४७ लाख ९९ हजार रुपैयाँ मूल्य बराबरको एमजी-एस५ कार रहेको छ। जग्गातर्फ, गुरुङको नाममा धनकुटाको कार्कीछापमा १९ रोपनी १५ आना जग्गा रहेको छ। साथै उनका बुवा दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर-१८ मा ३० कट्ठा तथा हजुरबुबा रामसल गुरुङको नाममा गोरखामा २२१ रोपनी जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।

यातायातमन्त्री सुनिल लम्सालको सम्पत्ति: ९० लाख बैंक ब्यालेन्स, ३० तोला सुन र विभिन्न जिल्लामा जग्गा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवं सहकारी विकास मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण अनुसार मन्त्री लम्सालसँग उल्लेख्य बैंक मौज्दात, सुनचाँदी र विभिन्न जिल्लामा घरजग्गा रहेको छ । लम्सालसँग ९० लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको उल्लेख गरेका छन् । सार्वजनिक सम्पत्ति विवरणमा उनीसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख  छ । उनले परिवारका सदस्यका नाममा रुपन्देहीमा १ कठ्ठा १० धुर जग्गामा घर, नवलपरासीमा १० कठ्ठा १५ धुर जग्गा, स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी रहेको उल्लेख गरेका छन् । 

कानुनमन्त्री सोविता गौतमको सम्पत्ति : १५ तोला सुन, बैंकमा १० लाख मौज्दात र दुईवटा गाडी

काठमाडौं । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण अनुसार मन्त्री गौतमसँग सुन, चाँदी, नगद मौज्दात र सवारी साधन रहेको छ । गौतमले बैंक ब्यालेन्स स्वरुप १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी छिन् । त्यस्तै, उनले दुईवटा बैंकबाट ऋण पनि लिएको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । जस अनुसार, गाडी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख लिएको र त्यसमा ७ लाख तिरेको उल्लेख गरेकी छिन् । एभरेष्ट बैंकबाट गाडी खरिदकै लागि २५ लाख ऋण लिएको उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । उनले १५ तोला सुन, ९ तोला चादी र १ तोला हिरा पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । उनले आफ्नो सम्पत्ति विवरणमा सवारी साधन खरिद गरेको विषय पनि उल्लेख गरेकी छिन् । राष्ट्रिय वाणिज्य बैंकबाट २६ लाख ऋण लिएर बा ०१-०२९ च ४३३६ नम्बरको गाडी खरिद गरेको उल्लेख गरेकी छिन् । उक्त सम्पत्ति प्राप्तिको स्रोत ऋण र तलब भएको सम्पत्ति विवरणमा उल्लेख छ । श्रीमान गृहेन्द्र घिमिरेले एभरेष्ट बैंकबाट ९५ लाख ऋण लिएर बा ३ च ६७२२ नम्बरको गाडी खरिद गरेको उल्लेख छ । उक्त गाडी ऋण, तलब र पुरानो गाडी एक्सचेन्ज गरेर खरिद गरिएको विवरणमा उल्लेख छ । 

परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन, कति छ सम्पत्ति ?

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । विवरणअनुसार काठमाडौंको टोखा नगरपालिका-१० मा ६ आनामा बनेको घर रहेको छ, जुन २०५८ सालमा ३ लाख रुपैयाँमा खरिद गरिएको हो । उक्त घर सुर्यभक्त खनालको नाममा रहेको उल्लेख गरिएको छ । जग्गातर्फ सुर्यभक्त खनालकै नाममा तनहुँमा १५ रोपनी पैतृक जग्गा रहेको छ । साथै पूर्व नवलपुरको देवचुलीमा १३ रोपनी र नेपालगञ्जमा २ कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ । खनालसँग २२ तोला सुन, २५ तोला चाँदी र १० लाख रुपैयाँ नगद रहेको छ। बैंक मौज्दाततर्फ एमएमबि बैंकमा ३ लाख २० हजार रुपैयाँ, नबिल बैंकमा २ लाख १ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा २ लाख ६८ हजार रुपैयाँ, एनआईसी एशिया बैंकमा ४ लाख ५१ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकमा १७ हजार रुपैयाँ रहेको छ। साथै अच्युता अधिकारीको नाममा एभरेष्ट बैंकमा ४३ हजार रुपैयाँ र नबिल बैंकमा ४ हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ। लगानीतर्फ पिक एण्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्मा इन्टेल प्रालिमा १०० प्रतिशत, ताजा एग्रो फार्ममा १६ प्रतिशत स्वामित्व रहेको छ। साथै बीपीडब्ल्यु माइक्रोफाइनान्समा २ हजार ५६० कित्ता र ओम मेगाश्री फर्मास्युटिकल्समा ५ हजार कित्ता सेयर रहेको छ । सवारी साधनतर्फ मन्त्री खनालसँग ४० लाख रुपैयाँ मूल्य बराबरको डोङफेङ भिगो कार रहेको छ।

अर्थमन्त्री वाग्लेको सम्पत्ति : ४ वटा घर, ४५ तोला सुन र साढे ३ करोड बढी ऋण

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूसँग ४५ तोला सुन रहेको खुलाएका छन् । आज सार्वजनिक सम्पत्ति विवरणमा अर्थमन्त्री वाग्लेले पारिवारिक र रोजगारीबाट कमाएको रकमबाट जोडेको ४५ तोला सुन रहेको खुलाएका हुन् । त्यस्तै, उनले सानिमा मिडल तमोर हाइड्रोमा प्रमोटर सेयर ७१ हजार ९३ कित्ता, सांग्रिला विकास बैंकमा प्रमोटर सेयर २५ हजार ७६२ कित्ता रहेको खुलाएका छन् । उनले नेशनल फन्ड म्यानेज्मेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ, ठूलो लखोलामा ६० लाख, अपर मादी हाइड्रोमा ३ करोड रुपैयाँ रहेको पनि उल्लेख गरेका छन् । वाग्लेको ४ जिल्लामा घरघडेरी र ४ जिल्लामा जग्गा रहेको छ ।  उनले आफूसँग ९४ लाख रुपैयाँको गाडी रहेको पनि बताएका छन् । त्यस्तै, उनले ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख, व्यक्तिगत सापटी २ करोड ५० लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन् ।  उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८ र स्ट्याण्डर्ड चार्टड बैंकबाट ७५ लाख रुपैयाँ ऋण लिएर पनि तिरिसकेको उल्लेख गरेका छन् । 

प्रधानमन्त्री बालेनसँग डेढ करोड बैंक ब्यालेन्स

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्याले‍न्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको सम्पत्ति विवरणमा यो उल्लेख गरेका हुन् ।  उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई मानेका छन् । उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् । धानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ । सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री बालेन्द्र शाहसँग १९० तोला गरगहना

काठमाडौं  । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।  सार्वजनिक भएको विवरण अनुसार सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला गरगहना रहेको उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत पैत्रिक रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सार्वजनिक गरिएको विवरण अनुसार प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा ठूलो परिमाणमा गरगहना रहेको देखिएको छ । विवरणमा उल्लेख भए अनुसार उनको नाममा १९० तोला सुन, चाँदी र हिरा लगायतका गरगहना रहेका छन् ।