काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को सम्भावित प्रभावले बिहीबारदेखि नेपालका पाँच प्रदेशमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै चक्रवातको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी असर पर्ने पूर्वानुमान गरेको हो । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कात्तिक १३ र १४ गते कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुन सक्छ । ती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ ।
वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको महाशाखाले चेतावनी दिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च हिमाली क्षेत्रमा पर्यटकलाई नजान र त्यहाँ पुगिसकेकालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
महाशाखाले किसानलाई वर्षा सुरु हुनुअघि नै धानबाली भित्र्याउन तथा पहिरोको जोखिम भएका क्षेत्र र सडकमा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।
नदी तटीय क्षेत्रमा सतर्कता
चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोसी नदीका जलाधार तथा आसपासका क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्छ। वर्षाका कारण नदीमा जलसतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन भनिएको छ।
सम्भावित भारी वर्षा, हिमपात र हिमपहिरोका कारण हिमाली क्षेत्रको पदयात्रा, सडक यातायात र दैनिक जनजीवन प्रभावित हुन सक्ने जोखिम छ।
आन्ध्र प्रदेशमा चक्रवात प्रवेश गर्ने अनुमान
भारतको मौसम विभागका अनुसार चक्रवात बुधबार बिहान आन्ध्र प्रदेशको बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्न सक्छ। त्यसबेला निरन्तर हावाको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटर र झोक्काको गति प्रतिघण्टा १४० किलोमिटरसम्म पुग्न सक्ने अनुमान छ।
चक्रवातको जोखिमलाई ध्यानमा राख्दै भारतका आन्ध्र प्रदेश र ओडिशामा उद्धार तथा राहत टोलीलाई तयारी अवस्थामा राखिएको छ। सेना, जलसेना, वायुसेना र तटरक्षक बललाई पनि उद्धारका लागि तयारी अवस्थामा रहन भनिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशका जोखिमयुक्त जिल्लामा गर्भवती महिलालाई स्वास्थ्य केन्द्र तथा अस्पतालमा सारिएको छ। केही जिल्लामा शैक्षिक संस्था बन्द गर्ने निर्णयसमेत गरिएको छ। तटीय क्षेत्रका होचा भूभागमा समुद्री पानी पस्न सक्ने चेतावनी दिइएको छ।
चक्रवातको प्रत्यक्ष प्रभाव भारतको तटीय क्षेत्रमा पर्ने अनुमान भए पनि त्यसको अवशेष नेपालतर्फ सर्न सक्ने सम्भावना छ। चक्रवातको अवशेष अर्को पश्चिमी वायु प्रणालीसँग अन्तरक्रिया गरेमा नेपालमा वर्षा थप तीव्र हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले सम्भावित मौसमीय जोखिमलाई ध्यानमा राख्दै जारी हुने पूर्वानुमान र चेतावनीअनुसार सतर्कता अपनाउन आग्रह गरेको छ।