ओली भन्छन् - पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान् जन्मिएर हैरान छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् ।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन् । पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान् जन्मिन थालेको उनको टिप्पणी छ ।

भारततिरबाट आउने जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने प्रवृत्ति रहेको उनले बताए । उनले पछिल्लो समय योगलाई पनि ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाए । योगको सुरुवाती चरणमा कुनै ईश्वरसँग सम्बन्धित नरहेको उनको दाबी छ ।

अष्टाङ्ग योगका यम र नियमले हिंसा नगर्न, असत्य नबोल्न, सत्य बोल्न, शान्तिको मार्गमा हिँड्न र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउने उनले बताए । यसलाई नै आधार बनाएर हिँड्नुपर्नेमा उनले जोड दिए । अरूको सम्पत्तिमा लोभ नगर्ने र आफ्नो जायज हकमा मात्र सीमित रहने मान्यता आफूहरूले खोजेको सामाजिक आदर्शसँग मेल खाने उनको भनाइ छ ।

अध्यक्ष ओलीले पतञ्जलिको योगमा आइपुग्दा योग दर्शन ईश्वरवादसँग मिसिएको दाबी गरे । त्यसअघि सांख्य र शैव परम्परामा योग ईश्वरवादसँग नमिसिएको उनको दाबी थियो ।

उनले भने, ‘सत्यबाट हामी आफ्ना विचार बनाउन प्रस्थान गर्न थाल्छौँ । त्यहीँबाट हाम्रा विचारको प्रस्थान हुन्छ, न्यायबाट र मानवतावादबाट । यसैकारण यो अष्टाङ्ग योगको अष्टाङ्गमध्येको पहिलोले के भन्छ भन्दाखेरि– यम, दोस्रोले के भन्छ– नियम । यो गर, यो नगर । यम, नियम भनेको त्यो । हिंसा नगर, असत्य नबोल, सत्य बोल, शान्तिको मार्गमा हिँड, सबैको सुरक्षा भन्छ । अस्तेय, अर्काको सम्पत्तिमा लोभ नगर । आफ्नो हकको, जायज हकको चीजमा बाहेक अन्त कुनै लोभ नगर भन्छ । हामीले खोजेकै त्यही त हो नि !'

उनले योगले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको विकासमा सहयोग गर्ने बताए । उनले मदन भण्डारी स्मृति प्रतिष्ठानलाई नयाँ खोज, अनुसन्धान तथा रैथाने ज्ञान, सीप र परम्पराको खोजीमा ध्यान दिन पनि आग्रह गरे । 

Share News