काठमाडौं । साउदी अरेबियाको सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले विशेष सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो ।
दूतावासले जारी गरेको पाँचबुँदे अनुरोधमा साउदी अरेबियाका आधिकारिक निकायबाट जारी हुने सुरक्षा निर्देशन पूर्ण रूपमा पालना गर्न नेपाली नागरिकलाई आग्रह गरिएको छ । विशेषगरी सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएका बेला बाहिर ननिस्कन दूतावासले सचेत गराएको छ ।
सुरक्षा अवस्थालाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकलाई अनावश्यक आवतजावत नगर्न र आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। स्थानीय अधिकारीबाट जारी हुने सूचना तथा निर्देशनलाई बेवास्ता नगर्न पनि दूतावासको अपिल छ।
साउदी अरेबियामा रोजगारीलगायत विभिन्न प्रयोजनले ठूलो संख्यामा नेपाली नागरिक बसोबास गर्दै आएका छन्। सुरक्षा अवस्था संवेदनशील बनेका बेला उनीहरूलाई सम्भावित जोखिमबाट जोगाउन दूतावासले सतर्कता अपनाउन आग्रह गरेको हो।
दूतावासले नेपाली नागरिकलाई आधिकारिक सूचनाको निगरानी गर्न, सुरक्षा निर्देशन पालना गर्न र अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।