'वर्षाको सम्भावना देखिँदैमा आत्तिनुपर्ने अवस्था छैन, जोखिमयुक्त क्षेत्रमा सचेत भने रहनुपर्छ'

मौसमविद् विभूति पोखरेल

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ ।

नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार उक्त प्रणालीले पर्याप्त जलवाष्प बोकेर आउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिने भएकाले नेपालमा वर्षा हुने सम्भावना छ । पोखरेलका अनुसार बिहीबार बेलुकादेखि शनिबारसम्म उक्त प्रणालीको प्रभाव रहने प्रारम्भिक पूर्वानुमान गरिएको छ । यद्यपि, प्रणाली बंगालको खाडीमै रहेकाले यसको गति, तीव्रता र नेपाल प्रवेश गर्दाको अवस्थाअनुसार वर्षाको मात्रा तथा प्रभावमा परिवर्तन हुन सक्ने उनले बताइन् ।

वर्षाको सम्भावना देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । तर, जोखिमयुक्त क्षेत्रमा भने सचेतता अपनाउन आवश्यक रहेको उनले बताइन् । हिमाली क्षेत्रमा पर्यटकीय गतिविधि गर्नेहरू बढी जोखिममा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । वर्षासँगै उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहन सक्ने उनले बताइन् । सकेसम्म हिमाली क्षेत्रमा यात्रा नगर्न उनले सुझाव दिइन् । त्यस्तै, पहिरोको जोखिम भएका स्थान तथा सडकखण्डमा यात्रा गर्ने सर्वसाधारणलाई पनि सतर्कता अपनाउन उनले आग्रह गरिन् । धान काट्ने समय भएकाले वर्षाले कृषि क्षेत्रमा असर पार्न सक्ने उनको भनाइ छ । विभागले जारी गर्ने मौसमसम्बन्धी सूचना हेरेर मात्रै धान काट्न पनि उनले किसानहरूलाई आग्रह गरिन् ।

उनले भनिन्, ‘अहिले बिहीबारदेखि शनिबारसम्म वर्षा गराउने सम्भावना देखिएको प्रणाली बंगालको खाडी र अरब सागरमा विकसित चक्रवातको अवशेष हो । यो प्रणाली नेपाल नजिक आइपुग्दासम्म न्यून चापीय क्षेत्रका रूपमा रहन सक्छ, तर त्यतिबेलासम्म अझ कमजोर भइसकेको हुन सक्छ । यद्यपि, यस प्रणालीले पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा बोकेर ल्याउने सम्भावना छ । त्यससँगै माथिल्लो वायुमण्डलमा रहेको प्रणालीसँग यसको अन्तरक्रिया हुँदा वर्षा गराउने अवस्था सिर्जना हुन्छ । यसरी प्रणालीले ल्याउने जलवाष्प र माथिल्लो वायुमण्डलको अवस्थाको संयुक्त प्रभावले नेपालमा वर्षा हुन सक्छ ।' 

मनसुन सकिएपछि सुरु हुने पोस्ट-मनसुन अवधिमा पनि वर्षा हुनु सामान्य भएको उनले स्पष्ट पारिन् । अक्टोबर र नोभेम्बर सामान्यतः नेपालमा मौसम सफा रहने समय भए पनि यही अवधिमा बंगालको खाडी र अरब सागरमा चक्रवात विकसित हुने सम्भावना रहने उनले बताइन् । समुद्रमा विकसित हुने सबै चक्रवात वा न्यून चापीय प्रणाली नेपालसम्म आइपुग्ने नभए पनि उत्तरतर्फ सर्दै नेपाल नजिक आइपुगेका प्रणालीले वर्षा र हिमपात गराउन सक्ने उनको भनाइ छ । जलवायु परिवर्तनले नयाँ मौसमी घटना सिर्जना गर्नुभन्दा पनि यस्ता घटनाको आवृत्ति र तीव्रतामा प्रभाव पार्न सक्ने उनले बताइन् । यसको नियमित अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘मनसुन सकिएपछि अहिले हामी मनसुनपछिको सिजनमा छौँ । यो समयमा पनि वर्षा कसरी भयो भन्ने जिज्ञासा धेरैमा हुन्छ । यसलाई जलवायु परिवर्तनको प्रभावका रूपमा पनि हेरिएको हुन सक्छ । नेपालमा अक्टोबर–नोभेम्बर सामान्यतया मौसम राम्रो हुने समय हो । दसैँ–तिहारजस्ता ठूला चाडपर्व पनि यही समयमा पर्छन् । यद्यपि, बंगालको खाडी र अरब सागरमा चक्रवात विकसित हुने सिजन पनि यही हो । त्यहाँ विकसित भएका सबै चक्रवात वा न्यून चापीय क्षेत्र नेपालसम्म आइपुग्छन् भन्ने हुँदैन । तर, कुनै प्रणाली उत्तरतर्फ सर्दै नेपाल नजिक आइपुगेमा त्यसले वर्षा गराउन सक्छ ।' 

उनले मौसमसम्बन्धी जानकारीका लागि विभागका आधिकारिक सूचना तथा सामाजिक सञ्जालबाट जारी हुने अद्यावधिक विवरण हेर्न आग्रह गरिन् । हल्लाको पछि लागेर त्रासमा नबस्न र हेलचेक्र्याइँ पनि नगर्न उनको सुझाव छ । आधिकारिक सूचना र पूर्वानुमानका आधारमा आफ्नो गतिविधि तय गर्न उनले आग्रह गरिन् । मौसमसम्बन्धी जानकारीका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय गरिरहेको पनि उनले जानकारी दिइन् ।

Share News