काठमाडौं । अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि निषेधित क्षेत्रमा पदयात्रा गर्न रोक लगाएको छ ।
विभागले १२, १३ र १४ गतेका लागि जोखिमयुक्त क्षेत्रमा पदयात्रा नगर्न पर्यटक तथा पदयात्रीलाई आग्रह गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त तीन दिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको भन्दै पर्यटकलाई त्यस्ता क्षेत्रमा नजान अनुरोध गरेको थियो । सम्भावित जोखिम न्यूनीकरणका लागि पदयात्रासम्बन्धी सूचना जारी गरेको हो ।
विभागका अनुसार उक्त अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित क्षेत्रमा पदयात्राको अनुमति लिइसकेका पदयात्रीले समेत यात्रा नगर्न र पदयात्रामा गइसकेकाले सुरक्षित स्थानमा बस्नुपर्नेछ ।
जोखिमको अवधि कायम रहेसम्म निषेधित क्षेत्रमा जाने पदयात्राको अनुमति आजैदेखि जारी नगरिने विभागले जनाएको छ । विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा पर्यटन क्षेत्रका अन्य सरोकारवालालाई सूचनाको पालना गर्न र गराउन आग्रह गरेको छ ।
विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले जारी गरेको सूचनामा सम्भावित प्राकृतिक विपद्बाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न सबै सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।