विकासन्युज

कांग्रेसले आह्वान ग‍र्यो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ । आगामी वैशाख २ गते बस्नेगरी बैठक आह्वान भएको हो । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने जानकारी दिए । बैठकमा संसदीय दलको नेता चयन, क्रियाशील सदस्यता लगायत विषयमा छलफल हुने जनाइएको छ ।  दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ । नेपाली कांग्रेसले वैशाख महिनाभर देशभर क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण अभियान सञ्चालन गर्ने भएको छ ।  पार्टीले सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र अभिलेखमा आधारित बनाउने लक्ष्यसहित नयाँ व्यवस्था लागू गर्न लागेको जनाएको छ । कांग्रेसको सदस्यता अभियान : सबैले वडामा पुग्नैपर्ने, डिजिटल कार्ड बनाउनैपर्ने

मन्त्रीहरू चढ्छन् ईभी, कुन मन्त्रीको रोजाइमा कुन ब्राण्ड ?

काठमाडौं । नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधन (ईभी) प्रतिको आकर्षण ह्वात्तै बढेको छ । सरकारले प्रदान गरेको कर सहुलियत, तुलनात्मक रूपमा सस्तो मूल्य र आधुनिक प्रविधिको उपलब्धताले गर्दा आम सर्वसाधारणदेखि देशको नीति निर्माण गर्ने तहसम्म ईभीको प्रयोग व्यापक बनेको हो । वर्तमान मन्त्रीहरूको सम्पत्ति विवरणलाई हेर्दा आधा मन्त्रीहरूले विद्युतीय कार रोजेको पाइएको छ । उनीहरूले एमजी, बीवाइडी, किया, डोङफेङ र स्काइवेल जस्ता ब्रान्डका ईभी चढिरहेका छन् । मन्त्रीहरूमध्ये सबैभन्दा धेरैको रोजाइमा एमजी ब्राण्ड परेको छ । सुधन गुरुङ (गृहमन्त्री) र प्रतिभा रावल (संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री) सँग एमजी एस ५ मोडलको ईभी रहेको छ, जसको बजार मूल्य ४४ लाखदेखि ५५ लाख रुपैयाँसम्म पर्छ । यस्तै, विराजभक्त श्रेष्ठ अर्थात् ऊर्जामन्त्रीले पनि आफूसँग एमजीकै ईभी रहेको उल्लेख गरेका छन् ।  शिक्षामन्त्री सस्मित पोखरेलसँग दुइवटा ईभी छन् ।  यसैगरी,  परराष्ट्रमन्त्री शिशिर खनालले ४० लाख रुपैयाँमा बैंक ऋणमार्फत डोङफेङ भिगो ईभी खरिद गरेका छन् ।  गौरीकुमारी यादव अर्थात् उद्योगमन्त्रीले ५७ लाख रुपैयाँमा हुन्डाई कोना ईभी खरिद गरेकी छिन् । कानुन मन्त्री सोविता गौतमसँग ९५ लाख रुपैयाँ बराबरको स्काइवेल ईटी ५ ईभी रहेको बताइएको छ । मन्त्रिपरिषदका सबै सदस्यहरू सवारी धनी भने छैनन् । सरकारका प्रमुख बालेन्द्र शाह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीहरूको नाममा कुनै पनि निजी सवारीसाधन छैन ।  त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ९४ लाखको जापानिज गाडी सुवारु एक्सभी कार चढ्छन् भने स्वास्थ्यमन्त्री निशा मेहतासँग हुन्डाई ब्राण्ड आई १० रहेको छ । अन्य कतिपय मन्त्रीहरू भने अझै पनि पेट्रोल/डिजेल सवारी वा दुईपांग्रेमा सीमित छन् । 

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

काठमाडौं । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ । वार्ता असफल भएसँगै अमेरिकी सेनाले सोमबारदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने घोषणा गरेपछि क्षेत्रीय युद्ध थप चर्किने संकेत देखिएको छ, जसले विश्वव्यापी अर्थतन्त्र र ऊर्जा आपूर्तिमा गम्भीर असर पार्ने चिन्ता बढाएको छ ।       पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता निष्कर्षविहीन बनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक कार्यक्रम त्याग्न अस्वीकार गरेको आरोप लगाए । उनका उपराष्ट्रपति जेडी भान्स वार्ताबाट बाहिरिएपछि ट्रम्पले रणनीतिक महत्त्वको होर्मुज जलडमरूमध्यसँग सम्बन्धित कडा कदम चाल्ने संकेत दिएका थिए ।      अमेरिकी सेन्ट्रल कमान्डका अनुसार सोमबार १४०० जिएमटीदेखि अरबको खाडी र ओमानको खाडी क्षेत्रका सबै इरानी बन्दरगाहहरूमा प्रवेश वा प्रस्थान गर्ने जहाजमाथि नाकाबन्दी लागू गरिनेछ । यद्यपि गैर–इरानी बन्दरगाहतर्फ जाने जहाजहरूको आवागमनमा अवरोध नपारिने स्पष्ट पारिएको छ । ट्रम्पले आफ्नै सामाजिक सञ्जालमार्फत यो निर्णय पुष्टि गर्दै प्रारम्भिक भनाइभन्दा सीमित तर रणनीतिक रूपमा महत्त्वपूर्ण कदम भएको संकेत गरेका छन् ।      यसअघि ट्रम्पले जलडमरूमध्य पूर्ण रूपमा नियन्त्रणमा लिने कडा चेतावनी दिएका थिए । 'संयुक्त राज्य अमेरिकाको नौसेनाले होर्मुज हुँदै जाने सबै जहाजहरू रोक्ने प्रक्रिया सुरु गर्नेछ', उनले लेखेका थिए । साथै उनले कुनै पनि आक्रमणको कडा जवाफ दिइने चेतावनीसमेत दिएका थिए ।      इरानले भने यस्तो कदमलाई चुनौती दिएको छ । रिभोलुसनरी गार्ड्सले होर्मुज क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गर्दै अमेरिकी कदमलाई प्रतिकार गरिने चेतावनी दिएको छ । इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले आफ्नो देश कुनै दबाबमा नझुक्ने बताएका छन् भने नौसेना प्रमुख सहराम इरानीले अमेरिकी घोषणालाई ‘हास्यास्पद’ टिप्पणी गरेका छन् ।      इरानी विदेशमन्त्री अब्बास अराघचीले वार्ता असफल हुनुमा अमेरिकी ‘अधिकतम दबाब’ नीति र अन्तिम समयमा अडान परिवर्तन जिम्मेवार रहेको बताएका छन् । उनका अनुसार सम्झौता ‘इन्चको दूरीमा’ पुगेको थियो तर नाकाबन्दीको घोषणा भएपछि सम्भावना समाप्त भएको छ ।      यो घटनाक्रमले फेब्रुअरी अन्त्यदेखि जारी युद्धलाई थप जटिल बनाएको छ । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वमा हजारौँको ज्यान गइसकेको छ भने विश्व अर्थतन्त्रसमेत प्रभावित भएको छ । पाकिस्तानले मध्यस्थताको प्रयास जारी राख्दै दुवै पक्षलाई युद्धविराम कायम राख्न आह्वान गरेको छ, तर समुद्री नाकाबन्दीले त्यो प्रयास कमजोर बनाउने विश्लेषण गरिएको छ ।      यसबीच, तेल बजारमा तत्काल प्रभाव देखिएको छ । गत साता घटेको मूल्य सोमबार पुनः बढ्दै डब्लुटीआई र ब्रेन्ट दुवैको मूल्य प्रति ब्यारेल १०० डलर आसपास पुगेको छ । खाडी क्षेत्रमार्फत विश्वको ठूलो भाग तेल आपूर्ति हुने भएकाले यस्तो अवरोधले दीर्घकालीन असर पार्ने अनुमान गरिएको छ ।      विशेषगरी मित्र राष्ट्रतर्फ जाने ढुवानीलाई प्राथमिकता दिँदै तेहरानले पहिले नै केही जहाजहरूको आवागमनमा नियन्त्रण राख्दै आएको छ । यसले होर्मुज जलडमरूमध्यलाई युद्धको केन्द्रविन्दु बनाएको छ । विश्लेषकहरूले अमेरिकी नाकाबन्दीलाई केवल दबाबको सङ्केत नभई युद्धको पुनः तीव्रता बढाउने कदमका रूपमा व्याख्या गरेका छन् । रासस   

वैशाख ७ देखि दैलेखमा प्रादेशिक महोत्सव, कर्णाली झल्कने १८० स्टल रहने

काठमाडौं । दैलेखमा आगामी वैशाख ७ गतेदेखि १९ गतेसम्म प्रादेशिक महोत्सव आयोजना हुने भएको छ । ‘कृषि, उद्यम, पर्यटन र व्यापार समृद्ध दैलेखको आधार’ भन्ने नारासहित आयोजना हुने महोत्सवबारे जानकारी दिन बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरिएको हो । महोत्सवमा कर्णाली प्रदेशको पहाडी जिल्ला दैलेखका स्थानीय उत्पादन, पर्यटकीय क्षेत्र तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । नेपाल उद्योग वाणिज्य संघ दैलेखका पूर्वअध्यक्ष एम मल्लका अनुसार महोत्सवमा कर्णालीको पहिचान झल्कने १८० वटा स्टल रहनेछन्, जसमध्ये ३० वटा स्टल स्थानीय उत्पादनका लागि छुट्याइएका छन् । उनका अनुसार महोत्सवमा करिब ५ लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको छ । दैलेखका विभिन्न कला, संस्कृति, झाँकी तथा नृत्य प्रस्तुत गरिनुका साथै स्थानीय उत्पादन र सम्भावनायुक्त क्षेत्रको पहिचान गरी लगानी भित्र्याउने लक्ष्य लिइएको उनले बताए । संघका पूर्वअध्यक्ष शान्ति प्रसाद शर्माले महोत्सवमार्फत दैलेखको सम्पदा, संस्कृति, परम्परा, पर्यटन र इतिहासबारे जानकारी दिइने बताए । कृषि, जलविद्युत् र पर्यटनका हिसाबले महत्वपूर्ण जिल्ला दैलेखको विकासका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । उनले दैलेखमा सुन, तामा लगायतका खानी रहेको उल्लेख गर्दै तिनको उत्खनन गर्न सकिए जिल्लाको आर्थिक विकासमा ठूलो परिवर्तन आउने बताए । पेट्रोलियम खानी पुष्टि भइसकेको अवस्थामा त्यसको उत्खनन र प्रयोगतर्फ सरकारले ध्यान दिनुपर्ने उनको माग छ । बाह्य लगानी भित्र्याउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै शर्माले जिल्लाका उद्योगी व्यवसायीको मात्रै लगानीले विकास सम्भव नहुने बताए । पेट्रोलियम उत्खननको काम अघिल्लो सरकारले सुरु गर्ने बताए पनि हाल अलपत्र परेको भन्दै त्यसमा सरकारको ध्यानाकर्षण गराए । दैलेखी सेवा समाजका अध्यक्ष प्रताब शाहीले दैलेखको जीवनशैली, भूगोल, भाषा, संस्कृति र भेषभूषाले राष्ट्रिय पहिचान निर्माणमा महत्वपूर्ण योगदान दिएको बताए । उनले जिल्लाको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे । समाजका सचिव सूर्य बस्नेतले जिल्लाको आर्थिक विकास र औद्योगिक नेतृत्वमा उद्योग वाणिज्य संघले अग्रसरता लिनुपर्ने बताए । पेट्रोलियम उत्खनन गर्न सकिए दैलेख मात्र नभई देशकै आर्थिक अवस्था परिवर्तन हुन सक्ने उनको भनाइ थियो । कार्यक्रममा कोटेश्वर बहुमुखी क्याम्पसका प्राध्यापक विनोद अधिकारीले महोत्सव सफलताको शुभकामना दिँदै पर्यटन, कला र संस्कृतिको जगेर्नामा जोड दिए । फोटो पत्रकार तथा मनधरी फाउन्डेसनका अध्यक्ष भरतबन्दु थापाले राज्यले भाषाको उत्पत्ति भएको क्षेत्रलाई नै पछि पारेको उल्लेख गर्दै महोत्सव सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए । राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले दैलेख सम्भावनायुक्त जिल्ला भएकाले सबै मिलेर जिल्लाको विकास र समृद्धिमा लाग्नुपर्ने बताइन् ।  

ओर्बन युगको अन्त्य, हङ्गेरीमा नयाँ मोड

काठमाडौं । हङ्गेरीमा १६ वर्षदेखि सत्तामा रहँदै आएका प्रधानमन्त्री भिक्टर ओर्बन अन्ततः पराजित भएका छन् । मतदाताहरूले अधिनायकवादी प्रवृत्ति र अति–दक्षिणपन्थी राजनीतिप्रति असन्तुष्टि जनाउँदै युरोप समर्थक नयाँ नेतृत्व रोजेपछि देशको राजनीतिक दिशा नै फेरिने संकेत देखिएको छ ।      ओर्बनका पूर्व सहयोगीसमेत रहेका पिटर मग्यारले भ्रष्टाचारविरुद्ध, सार्वजनिक सेवा सुधार र युरोपेली सङ्घ (इयु) तथा नाटोसँग सम्बन्ध पुनःस्थापनाको एजेन्डा अघि सार्दै ऐतिहासिक जित हासिल गरेका हुन् । प्रारम्भिक मतगणनामा उहाँको टिस्जा पार्टीले करिब ५३ प्रतिशत मत ल्याउँदा ओर्बनको फिडेज पार्टी ३७ प्रतिशतमा सीमित देखिएको छ । एक सय छ मध्ये ९४ निर्वाचन क्षेत्रमा अग्रता लिँदै मग्यार स्पष्ट विजेता बनेका छन् । पराजय स्वीकार गर्दै ओर्बनले परिणामलाई ‘पीडादायी’ भने र अब विपक्षबाट राष्ट्रको सेवा गर्ने बताए । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीका रूपमा चिनिनुहुन्थ्यो, जसका कारण हङ्गेरीको विदेश नीति पनि लामो समयदेखि विवादमा थियो ।      मग्यारको विजयले इयुभित्रको शक्ति सन्तुलनमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । ओर्बनमाथि विगतमा बारम्बार भिटो प्रयोग गरेर इयुका निर्णयहरू अवरुद्ध गर्दै आएको र रूससँग नजिकिँदै गएको आरोप लाग्दै आएको थियो । विशेषगरी युक्रेन युद्धका विषयमा उनको भूमिकाले युरोपेली नेताहरूलाई असहज बनाएको थियो ।      चुनावी परिणामपछि बुडापेस्टमा उत्साहपूर्ण वातावरण देखिएको छ । डेन्युब नदी किनारमा हजारौँ समर्थकहरू भेला भई विजय उत्सव मनाउँदा सहरका सडकहरूमा नाराबाजी र हर्षोल्लास फैलिएको थियो । 'आज सत्यले झुटमाथि जित हासिल गरेको छ', मग्यारले समर्थकहरूलाई सम्बोधन गर्दै भने, 'हामीले आफ्नो देशका लागि जिम्मेवारी बुझेका छौँ ।'      करिब ८० प्रतिशत मतदान भएको यस निर्वाचनलाई हङ्गेरीको कम्युनिस्टपछिको इतिहासकै उच्च सहभागितामध्ये एक मानिएको छ । यसले जनताको परिवर्तनप्रतिको आकांक्षा स्पष्ट देखाएको विश्लेषकहरूको भनाइ छ ।      ओर्बनको शासनकालमा मिडिया स्वतन्त्रता, अल्पसङ्ख्यक अधिकार र संस्थागत संरचनामाथि दबाब बढेको आरोप लाग्दै आएको थियो । साथै, सत्ता नजिकका व्यवसायिक समूहहरूलाई लाभ पुर्‍याइएको भन्ने आरोप पनि उनले अस्वीकार गर्दै आएका थिए ।      अब मग्यारको नेतृत्वमा हङ्गेरी पुनः युरोपतर्फ फर्किने वा पुरानै विभाजित राजनीतिक धार कायम रहने भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ । उनले यसअघि नै यो चुनाव ‘पूर्व वा पश्चिमबीचको छनोट’ भएको बताएका थिए । रासस

कांग्रेसको सदस्यता अभियान : सबैले वडामा पुग्नैपर्ने, डिजिटल कार्ड बनाउनैपर्ने

काठमाडौं । नेपाली कांग्रेसले वैशाख महिनाभर देशभर क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीले सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र अभिलेखमा आधारित बनाउने लक्ष्यसहित नयाँ व्यवस्था लागू गर्न लागेको जनाएको छ । कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेहीका अनुसार अब क्रियाशील सदस्यता लिन वा नवीकरण गर्न चाहने व्यक्तिले सम्बन्धित वडा कार्यसमितिमा स्वयं उपस्थित हुनुपर्नेछ । पहिलेजस्तो अरू व्यक्तिबाट फारम भर्ने वा शुल्क तिरेर सदस्यता लिने अभ्यासलाई पूर्ण रूपमा अन्त्य गरिएको छ । सहमहामन्त्री स्नेहीका अनुसार नयाँ प्रक्रियावाट सदस्यता प्राप्त गर्न स्वयं वडा कार्यालयमा पुगेर फारम भर्नुपर्ने, फोटो खिचाउनुपर्ने र मोबाइल नम्बर अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । सोही नम्बरमा आउने ओटीपीमार्फत भेरिफिकेसन गरेर मात्र सदस्यता प्रक्रिया अगाडि बढाइने स्नेहीले जानकारी दिए । परम्परागत कार्ड प्रणाली हटाएर अब प्रत्येक सदस्यलाईं कांग्रेस आइडी जारी गरिने स्नेहीले जानकारी दिए । सहमहामन्त्री स्नेहीका अनुसार जुन पूर्ण रूपमा डिजिटल हुनेछ । यस प्रणालीमार्फत पार्टीले सदस्यहरूको विवरण व्यवस्थित रूपमा अद्यावधिक राख्न सहज हुने स्नेहीले जानकारी दिए । पार्टीले हालसम्म सदस्यता अभिलेखमा रहेका सबै सदस्यलाई एक पटकका लागि पुनः अद्यावधिक गर्न अवसर दिने निर्णय गरेको छ । त्यसअनुसार वैशाखभर ६ हजार ७ सय ४३ वटै वडामा विशेष अभियान सञ्चालन हुने स्नेहीले जानकारी दिए । सहमहामन्त्री स्नेहीका अनुसार वैशाखमा विवरण अद्यावधिक गर्ने सदस्यलाई नयाँ नम्बरसहितको कांग्रेस आइडी प्रदान गरिनेछ र त्यसपछि मात्र उनीहरूको नाम क्रियाशील सदस्यमा कायम रहनेछ । तर, कांग्रेसको चौधौ महाधिवेशन समुह भने कांग्रेसको महाधिवेशनको मुद्धा अदालतमा विचाराधीन रहेको समयमा सदस्यता नवीकरणको अभियानले अदालतको विषयलाई प्रभाव पार्न सक्ने बताउछ । नेता जीतजंग बस्नेतका अनुसार अदालती विषय किनारा नलागी सुरु गरिएको अभियानले कसैको भलो गर्दैन ।  मध्यमार्गी अभियानमा रहेका केही नेताहरुले भने छिट्टै सहमति गरेर अगाडि बढ्नुपर्ने बताइरहेका छन् । नेता आङगेलु शेर्पा भन्छन्, ‘अहिले दुवै पक्षबीच वृहत्तर वार्ता भइरहेका छन् । पटक-पटक भइरहेका सम्वाद र कुराकानीले सकारात्मक परिणाम दिने शेर्पाको दाबी छ ।   

अमेरिकी विदेश नीतिमा धर्म र राजनीतिको टकराव : राष्ट्रपति ट्रम्प र पोप लियोबीच वाकयुद्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विदेश नीतिको आलोचना गरेको भन्दै पोप लियोलाई कडा शब्दमा आक्रमण गरेका छन् । आइतबार राष्ट्रपति ट्रम्पले पोप लि‌ओ १४ द्वारा इरानसँगको अमेरिकी युद्धबारे गरिएको आलोचनामाथि प्रतिक्रिया दिँदै उनलाई कडा आलोचना गरेका हुन् । ट्रम्पले ट्रुथ सोसलमा लेख्दै भने, ‘म यस्तो पोप चाहन्नँ, जसले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको आलोचना गर्छ । किनकि म ठ्याक्कै त्यही काम गरिरहेको छु, जसका लागि म भारी मतान्तरले निर्वाचित भएको हुँ ।’ ट्रम्पले पोपको चयनलाई आफ्नै राष्ट्रपति पदमा पुनरागमनसँग जोड्दै भने, ‘लियोले कृतज्ञ हुनुपर्छ, किनकि सबैलाई थाहा छ, उनी अप्रत्याशित रूपमा पोप बनेका हुन् । उनी पोप बन्ने सूचीमा थिएनन् र चर्चले उनलाई केवल अमेरिकी भएकै कारण त्यहाँ राख्यो । यदि म ह्वाइट हाउसमा नभएको भए लियो भ्याटिकनमा हुने थिएनन् ।’ ट्रम्पले लियोलाई ‘अपराधप्रति कमजोर, आणविक हतियारबारे कमजोर’ भन्दै आलोचना गरे र भने कि उनले बाराक ओबामाका पूर्व राजनीतिक सहयोगी डेभिड एक्सेलरोडजस्ता ‘ओबामा समर्थक’हरूसँग भेट गर्नु पनि आफूलाई मन नपरेको बताए । उनले एक्सलरोडलाई चर्च जाने मानिसहरू र धर्मगुरुहरूलाई गिरफ्तार गर्न चाहनेहरूमध्ये एक भएको आरोप लगाए । शिकागोका निवासी तथा अमेरिकी मूलका पहिलो पोप लियोले भने ट्रम्पको इरान युद्ध प्रयासको कडा आलोचना गरेका छन् । शनिबार उनले भनेका थिए, ‘आत्म र पैसाको पूजा अब पर्याप्त भयो ! शक्ति प्रदर्शन अब पर्याप्त भयो ! युद्ध अब पर्याप्त भयो ! साँचो शक्ति जीवनको सेवा गर्ने कार्यमा प्रकट हुन्छ ।’ पोपले ट्रम्पले हालै इरानमा ‘सम्पूर्ण सभ्यतालाई नष्ट गर्ने’ धम्की दिएको विषयलाई पनि ‘पूर्ण रूपमा अस्वीकार्य’ बताएका छन् । लियोले आफ्नो इस्टर सन्देशमार्फत पनि शान्तिको आह्वान गरेका थिए। उनले भने, ‘हातहतियार भएका मानिसहरूले ती राखून् ! युद्ध भड्काउने शक्ति भएका मानिसहरूले शान्ति रोजून् ! बल प्रयोग गरेर थोपारिएको शान्ति होइन, संवादमार्फत प्राप्त हुने शान्ति होस् ! अरूलाई नियन्त्रण गर्ने चाहनाबाट होइन, उनीहरूसँग भेटघाट गर्ने इच्छाबाट शान्ति कायम होस् !’ लियो र अन्य चर्च नेताहरूले ट्रम्पको आन्तरिक आप्रवासन नीतिहरूमाथि पनि बेला–बेला कडा आलोचना गर्दै आएका छन् । पोपले नोभेम्बरमा युनाइटेड स्टेट कन्फेरेन्स अफ क्यालोथिक बिशपद्वारा जारी सन्देशलाई समर्थन गरेका थिए, जसमा ‘प्रोफाइलिङ र आप्रवासन कार्यान्वयनसँग सम्बन्धित प्रश्नहरूका कारण जनतामा डर र चिन्ताको वातावरण देख्दा हामी चिन्तित छौं’ भनिएको थियो । बिशपहरूले लेखेका थिए, ‘हामी हाम्रो देशका आप्रवासन कानुन र प्रक्रियामा सार्थक सुधारको पक्षमा छौं। मानव गरिमा र राष्ट्रिय सुरक्षा परस्पर विरोधी होइनन्। यदि सद्भावना भएका मानिसहरू मिलेर काम गर्छन् भने यी दुवै सम्भव छन् ।’ परमाणु हतियार त्याग्न इरानले गर्‍यो अस्वीकार, वार्ताबाट बाहिरिए भेन्स युद्धविरामलाई लिएर ‘इजरायली मिडिया’ चिन्तित, नेतान्याहूले ‘ट्रम्पसामु आत्मसमर्पण गरेको’ आरोप  

‘पर्यटन प्रवर्द्धनका लागि महोत्सव पर्यटन दौड : भारत र चीनबाट आउने पर्यटकमा वृद्धि’

काठमाडौं । पोखराको लेकसाइडमा आयोजित फेवा नयाँ वर्ष महोत्सवको अवसरमा पर्यटन दौड सम्पन्न भएको छ । नयाँ वर्ष २०८१ को स्वागतार्थ आयोजित यस दौडमा स्थानीय बासिन्दा, पर्यटक र खेलाडीहरू गरी ३५ जना भन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो । दौडको मुख्य उद्देश्य पोखराको पर्यटन प्रवर्द्धन र स्वास्थ्य सचेतना फैलाउनु रहेको आयोजकले जनाएको छ ।  महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको यस दौडमा ३ किलोमिटरको विधा समावेश गरिएको थियो । दौड खहरेबाट अम्बोटसम्म भएको थियो । यस दौडमा विश्वका विभिन्न २८ देशका पर्यटकहरूले उत्साहजनक सहभागिता पर्यटन दौड संयोजक प्रतिक पहारीले बताए । अस्ट्रेलिया, क्यानडा, युरोप, भारत र चीन लगायतका विभिन्न मुलुकबाट आएका पर्यटकहरूले यस दौडमा भाग लिएका थिए ।  नयाँ वर्षको अवसरमा विदेशी पाहुनाहरूलाई नेपाली संस्कृतिसँग परिचित गराउने र उनीहरूलाई अपनत्व महसुस गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको पर्यटन दौड संयोजक पहारीले जानकारी दिए । २१ औँ फेवा नयाँ वर्ष महोत्सव (स्ट्रिट फेस्टिभल) को अवसरमा आयोजित यस कार्यक्रमले पोखराको पर्यटन क्षेत्रमा ठूलो ऊर्जा थपेको छ । संयोजक पहारीका अनुसार हाल पोखराका होटलहरूमा ९० देखि ९५ प्रतिशतसम्म अकुपेन्सी रहेको छ, जसले व्यवसायीहरूमा उत्साह जगाएको छ । विदेशी पर्यटकहरूलाई नेपाली परम्परा र संस्कृतिसँग जोड्ने एउटा महत्वपूर्ण कडीको रूपमा यो इभेन्ट स्थापित भएको उनले बताए । उनले भने, ‘हाम्रो मुख्य योजना विदेशीहरूलाई नेपाली नयाँ वर्षको बारेमा जानकारी दिने, उनीहरूलाई सांस्कृतिक रूपमा घुलमिल गराउने र यो उत्सव उनीहरूकै पनि हो भन्ने महशुस गराउनु हो । होटल एशोसिएशनको टिम वर्कले गर्दा हामीले यसलाई सफलतापूर्वक सम्पन्न गर्न सक्यौँ ।’ केही समयअघिको राजनीतिक आन्दोलन र अस्थिरताका कारण सुस्ताएको पोखराको पर्यटन क्षेत्र पुनः लयमा फर्किन थालेको नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका संयोजक मोडी लामिछानेले बताए । उनले नेपाल पर्यटन बोर्ड र स्थानीय पर्यटकीय संघसंस्थाहरूको सक्रियतामा सञ्चालित ‘टुरिजम रिभाइभल’ (पर्यटन पुनरुत्थान) कार्यक्रमहरूले पोखरामा पर्यटकको चहलपहल बढाएको बताए । उनकाअनुसार जेनजी आन्दोलनका कारण करिव डेढ महिना सुस्ताएको आन्तरिक तथा वाह्य पर्यटन अहिले सुधारोन्मुख छ ।  पर्यटन बोर्डले होटल संघसँग मिलेर पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्नुका साथै अन्य सम्भावित स्रोत बजारहरूमा ‘पोखरा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गरिरहेको छ । पछिल्लो समय पश्चिम एशिया (मध्यपूर्व) मा भइरहेको द्वन्द्वका कारण नेपालको पर्यटनमा केही नकारात्मक प्रभाव देखिएको छ । विशेष गरी युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको उनले जानकारी दिए ।  यद्यपि, पश्चिम पर्यटक घटे पनि छिमेकी मुलुक भारत र दक्षिण–पूर्वी एशियाली मुलुकहरूबाट आउने पर्यटकको संख्यामा १५ देखि २० प्रतिशतले वृद्धि भएको छ । जसका कारण समग्र पर्यटक आगमनको तथ्याङ्क गत वर्षकै हाराहारीमा रहेको छ । पर्यटन बोर्डले अब आफ्नो ध्यान दक्षिण–पूर्वी एशिया, जापान, कोरिया र अष्ट्रेलियातर्फ केन्द्रित गरेको छ । यी क्षेत्रहरूमा पर्यटन प्रवद्र्धनका लागि भौतिक उपस्थिति जनाउने, चर्चित भ्लगरहरूलाई निम्त्याउने र अन्तर्राष्ट्रिय मिडियामार्फत नेपालको प्रचार गर्ने योजना अघि सारिएको छ । उनले भने, नेपाल आउने पश्चिमा पर्यटकहरू मुख्यतया टर्की वा मध्यपूर्वी देशहरूलाई ट्रान्जिट बनाएर आउने गर्छन् । द्वन्द्वका कारण ती क्षेत्र प्रभावित हुँदा युरोप र अमेरिकाबाट हुने आगमनमा गत वर्षको मार्चको तुलनामा यस वर्ष २० देखि २२ प्रतिशतले गिरावट आएको छ ।’ नयाँ वर्षको पहिलो दिन पोखरामा पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ ।