काठमाडौं । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले कात्तिक १२ देखि १४ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले अनुरोध गरेका छन् ।
गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई सतर्क रहन प्रशासनले आग्रह गरेको हो ।
चिसो बढ्ने, सडकमा पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङले अनुरोध गरेको छ ।
यसैगरी, लोमन्थाङ गाउँपालिकाले पनि मौसम प्रतिकूल हुने सूचना प्राप्त भएकाले कोरला नाका तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने जनाएको छ । हिमपातका कारण सडक चिप्लो भई सवारी दुर्घटना हुन सक्ने र सडक अवरुद्ध हुने जोखिम रहेकाले कोरला नाकातर्फ सवारीसाधन नलैजान यातायात व्यवसायी, चालक, व्यापारी तथा पर्यटकलाई अनुरोध गरेका छन् ।
मौसम अनुकूल नभएसम्म कोरला नाकातर्फको यात्रा नगर्न तथा सवारीसाधनको आवागमन स्थगित गर्न गाउँपालिकाले आग्रह गरेको छ ।