काठमाडौं । द लेप्रोसी मिसन नेपालले ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा भवन निर्माण गर्ने भएको छ ।
आयोजनाअन्तर्गत चारतले मुख्य प्रयोगशाला भवन र दुईतले भिभेरियम भवन निर्माण गरिनेछ । मुख्य प्रयोगशाला भवनको क्षेत्रफल करिब ४७३ वर्गमिटर र भिभेरियम भवनको क्षेत्रफल करिब १७० वर्गमिटर रहनेछ । आयोजनाअन्तर्गत कुल करिब दुई हजार वर्गमिटर क्षेत्रफलमा निर्माण कार्य हुने जनाइएको छ ।
संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदनअनुसार प्रस्तावित भवन सञ्चालनका क्रममा दैनिक करिब सात हजार ३३७ लिटर पानी खपत हुने अनुमान गरिएको छ ।
प्रस्तावित आयोजनाबाट वातावरण, जैविक तथा पारिस्थितिकीय प्रणाली, प्राकृतिक तथा भौतिक प्रणाली, सामाजिक तथा आर्थिक अवस्था र सांस्कृतिक प्रणालीमा पर्न सक्ने सकारात्मक तथा नकारात्मक प्रभाव पहिचान गर्न सरोकारवालासँग रायसुझाव माग गरिएको छ ।
वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा वडा समिति, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला व्यक्ति र संस्थालाई सात दिनभित्र लिखित रायसुझाव उपलब्ध गराउन अनुरोध गरिएको छ ।
रायसुझाव द लेप्रोसी मिसन नेपालको कुसुन्ती हाइट मार्गस्थित कार्यालय वा आयोजनाको वातावरणीय अध्ययनका लागि परामर्शदाता मियामोटो इन्टरनेसनल नेपाल प्रालिमार्फत उपलब्ध गराउन सकिनेछ ।