नक्कली गुरु रेम्पोछेको नाममा ब्रम्हलूट

काठमाडौं । विश्वकै बौद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र बौद्धनाथ मन्दिर परिसरमा नक्कली गुरु रिम्पोछेको नाममा अनियमितता तथा असुली गर्ने कार्यहरु हुँदा समेत नेपाल सरकारले केही गर्न सकेको छैन । चिनियाँ लामाको उत्तराधिकारी भन्दै राजु लामा अर्थात भूपति नामका एक व्यक्तिले आफूले आफैलाई गुरु रिम्पोछे घोषणा गरेपछि बौद्धनाथ परिसरमा कुनै पनि बेला अप्रिय घटना घट्न सक्ने देखिएको छ । नेपाल सरकारले नियुक्त गर्ने बौद्ध क्षेत्र विकास समितिसँग क्षेत्राधिकार विवाद गर्दै हस्तक्षेप गर्दै आएका यिनै नक्कली रिम्पोछेले पछिल्लो समय बौद्धनाथ मन्दिरमा हुने नियमित पूजाआजा समेत भाँड्दै आएका छन् । सार्वजनिक रुपमा सामना गर्न नसक्ने र केही मानिसहरु भेला पारी आफू अनूकूलको काम गर्दै आएका नक्कली रिम्पोछेको हर्कतबारे महानगरीय प्रहरी बृत्त बौद्धमा समेत छलफल भएको बुझिएको छ । यसअघि शाह बंशीय राजाको पालामा राजपरिषद स्थायी समितिको सदस्य समेत रहेका गणेश बज्रको उत्तराधिकारी हुन आएका नक्कली रिम्पोक्षेका कारण बौद्धनाथ क्षेत्रमा अशान्ती बढ्दै गएको स्थानीयबासीले गुनासो गरेका छन् । बौद्धनाथ क्षेत्र मन्दिरमा शान्ति कायम राख्ने सम्बन्धमा बौद्ध प्रहरी कार्यालयमा सहमति गरेपनि नक्कली रिम्पोछे अर्थात राजु लामाले विभिन्न च्यानलबाट शुक्रबार आयोजना गरिएको विशेष पूजा भाँड्ने प्रयास गरेको पूजा आयोजक समितिका एक सदस्यले बताए । घ्याङ गुठीको आवरणमा नक्कली रिम्पोछेले बौद्धनाथ मन्दिर परिसरमा हस्तक्षेप बढाउँदै लगेपनि सरकारको आधिकारिक निकाय बौद्धनाथ क्षेत्र विकास समितिले हस्तक्षे गर्न नसकेको र पवित्र मन्दिरमा दुई थरीको राजनीतिले स्थानीयबासी तथा भक्तजनहरुलाई समस्या परेको गुनासो एक भक्तजनले गरेका छन् । बौद्धनाथ क्षेत्र विकास समितिलाई घ्याङ गुठीले विभिन्न काममा अबरोध गर्दै आएपनि स्थानीय प्रशासनले समेत आवश्यक सहयोग नगर्ने गरेको समेत गुनासो सुनिन थालेको छ ।

सोमबारदेखि यातायातमा जोर विजोर नियम लागू गरिने तर महिला चालकलाई छुट

नयाँ दिल्ली । नयाँ दिल्लीमा देखिएको वातावरण प्रदुषण नियन्त्रण प्रयासस्वरुप आगामी सोमबारदेखि पाँचदिनका लागि जोर विजोर नियम अनुसार यातायातका साधन चलाइने भएको दिल्ली राज्य सरकारले बिहीबार जनाएको छ । यो नियम महिलाले चलाउने गाडी तथा दुई पाङ्ग्रे यातायातका सवारी साधनमा भने लागू नगरिने बताइएको छ । “जोर विजोर नियम लागू भएपछि भारतीय राजधानी नयाँ दिल्लीमा विहान ८ बजेदेखि वेलुका ८ वजेसम्म एक दिन जोर नम्बर प्लेट भएका गाडी र अर्को दिन विजोर नम्बर प्लेट भएका गाडी गुड्नेछन्,” दिल्लीका यातायात मन्त्री कैलास गाहलटले जानकारी गराए । महिलाले चलाउने गाडी र दुई पाङ्ग्रे गाडीलाई भने जोर विजोर नियम वाध्यकारी रहने छैन । उनले वातावरणको विषयलाई मध्यनजर गर्दै दिल्ली र दिल्लीसँग जोडिएका राज्यका मुख्यमन्त्रीको बैठक बोलाई समस्या समाधानका लागि पहल थाल्न आग्रह गरे । दिल्ली सरकारले दिल्ली यातायात कर्पोरेसनलाई पाँचसय बसलाई भाडामा लिएर जोर विजोर नियम लागू भएको समयमा राजधानीको आवतजावतमा सहज सुविधा प्रदान गर्न पनि आग्रह गरेको छ । दिल्ली महानगरले सो समयमा सेवा दिनका लागि १०० साना बसहरू दिने आश्वासन दिएको छ । विद्यालयहरूले आफ्ना गाडीहरूलाई स्वेच्छिक रूपमा सेवा दिन सक्ने तर वाध्य भने नहुने, मन्त्री गाहलटले बताए । जोर नम्बरका गाडीले जोरबार र विजोर नम्बरका गाडीले विजोरबार सडकमा चल्न अनुमति पाउनेछन् । रासस

नगद लुकाउने पाँच सरल तरिका जुन विश्वका धनाढ्यहरुले अपनाउछन्

काठमाडौं । ‘प्याराडाइज पेपर्स’ नामक चुहाइएका दस्तावेजहरुले विश्वका शक्तिशाली तथा अति धनाढ्यहरुले कसरी आफ्नो सम्पत्ति लुकाइरहेका छन् भन्नेबारे कैयौँ खुलासा गरेका छन् । खासमा विदेशमा कसरी रकम लुकाइन्छ ? नगद लुकाउने पाँच वटा सरल तरिकाबारे बीबीसीमा अाधारित सामाग्री यहाँ चर्चा गरिएको छ । १, एउटा नाम मात्रको कम्पनी खोल्नुहोस् । त्यसलाई सेल कम्पनी पनि भनिन्छ । २, त्यस्तो कम्पनी कुनै स्थानमा खोल्नुहोस्, जहाँ कर अत्यन्तै कम लाग्छ वा शून्य कर लाग्छ । तर यस्तो कम्पनीको गोपनियता भने निकै हुन्छ । हाल यस्ता कम्पनी द ब्रिटिश भर्जिन आईल्याण्ड्स, द केसन आईल्याण्ड्स, बरमुडा, आयल अफ म्यान लगायत विश्वको केही देशहरुमा खुल्दै आएका छन् । ३, यस्तो कम्पनी चलाउनको लागि अब तपाई कसैलाई नियुक्ती गर्नुहोस्, प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत वा यस्तै अरु पद दिनुहोस् । अब यस कम्पनीले गर्ने कुनै पनि काम र निर्णयका दस्तावेजहरुमा तपाईको नाम हुने छैन । व्यापार व्यवसाय गर्ने क्रममा तपाई कुनै पनि ठाउँमा जानुपर्ने छैन, देखिनु पर्ने छैन । ४, थप गोपनियताको लागि अर्को कुनै अफसोर स्थानमा बैंक खाता खोल्नुहोस् । अब सेल कम्पनीले उक्त कम्पनीको खाता सञ्चालन गर्छ । आम्दानी लिन्छ, भुक्तानी दिन्छ । ५, पैसा कम्पनीको सम्पत्तिमा खर्च गर्नुहोस् । गाडी किन्न सक्नुहुन्छ, घर किन्न सक्नुहुन्छ । निजी प्लेन किन्न पनि सक्नु हुन्छ । वा ऋणमा जुन तपाईले कहिल्यै तिर्नुपर्दैन । बस्टन कन्सल्टिङ ग्रुपका अनुसार विश्वका धनाढ्यहरुले यसरी अफसोर वित्तीय केन्द्रहरुमा राखिएको सम्पत्तिको परिमाण करिव १० ट्रिलियत डलर छ । त्यो भनेको जापान, बेलायत र फ्रान्सको कुल आर्थिक उत्पादन जोडेपछि आउने सरह हो ।