तीन महिनामा २६३ पसल अनुगमन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चालु आवको तीन महिनामा २६३ वटा पसलमा अनुगमन गरेको छ । चाडपर्वका समयमा बजारमा कालोबजारी गर्ने, मूल्यमा मनोमानी गर्ने लगायतका काम हुने भएकाले बजार अनुगमनलाई तीव्र बनाइएको हो । अनुगमनका क्रममा कालोबजारी गर्ने एक पसलेविरुद्ध मुद्दा दर्ता गरिएको बजार अनुगमन अधिकृत ओमनारायण शर्माले जानकारी दिए । सो क्रममा ६ वटा औषधि पसल, दुईवटा पाउरोटी उद्योग, चारवटा अमिलो उद्योग बन्द गराइएको थियो । म्याद नाघेका, अखाद्य बस्तु बिक्री गरेको, अनुमति नलिइ सञ्चालन गरेका कारण बन्द गराइएको उनले बताए । यस्तै पाँचवटा पसलको नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय हेटौँडा पठाइएको शर्माले बताए । अनुगमनका क्रममा ११२ बोतल तार्पिन तेल, ६७३ बोतल हल्का पेय पदार्थ र ८० प्याकेट बिस्कुट नष्ट गरिएको उनले बताए । तीन जनालाई सचेत गराइ छाडिएको शर्माले बताएका छन् । अघिल्लो आर्थिक वर्षको सोही समयमा २८५ वटा पसलमा अनुगमन गरिएको थियो । सो अनुगमनका क्रममा ५६ जनालाई सचेत गराइ छाडिएको थियो । कार्यालयकाअनुसार अहिले अघिल्लो आव र चालु आवका गरी ३५ वटा मुद्दा दर्ताको तयारी गरिएको छ । रासस

बैंकर्स झपट बोहरा राजनीतिक दौडमा, अछाम जिल्लाबाट चुनाव लड्दै

काठमाडौं । बैकिङ क्षेत्रका चर्चित व्यक्ति झपट बोहरा राजनीतिमा होमिएका छन् । विगत लामो समयदेखि नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) मा आवद्ध बोहरा आछाम जिल्लाबाट प्रदेश सभामा सदस्यको लागि सिफारिस भएका छन् । पाटीले अछाम जिल्ला प्रदेश १ का लागि बोहरासहित खगेन्द्र रोक्का र दीपक साउदको नाम सिफारिस गरेको छ । सुदुरपश्चिम क्षेत्रबाट बैकिङ क्षेत्रमा राम्रो सफलता हासिल गरेका बोहरा राजनीतिको साथै आर्थिक विकासको बारेमा राम्रो ज्ञान भएका, प्रष्ट विचार राख्ने र नेतृत्व खुबी भएका व्यक्तिको रुपमा परिचित छन् । सुदुरपश्चिमका सफल व्यवसायी बैंकिङ सेवा काठमाडौंमा मात्र केन्द्रीत रहेको समयमा झपट बोहराले सुदुर पश्चिम क्षेत्रमा पहिलो पटक मालिका विकास बैंक स्थापना गर्ने कार्यको अगुवाई गरेको थिए । धनगढीमा स्थापना भएको सो बैंकमा उनी कार्यकारी अध्यक्ष भएर ११ वर्षसम्म काम गरेका थिए । उनीको नेतृत्वमा स्थापना भएको मालिका विकास बैंक मोफसलको उत्कृष्ट बैंकको रुपमा स्थापित भयो । नेपाल विकास बैंकर्स संघको अध्यक्ष समेत भएर उनले सफल नेतृत्व गरेका थिए । पछि उनको नेतृत्वमा साझा विकास बैंक स्थापना भयो । बोहरा मालिका र साझा दुबै विकास बैंकमा उनी संस्थापक अध्यक्ष हुन् । बैकिङ सेवाबाट सफलता हासिल गर्दै उनी पुँजी बजार र बीमा क्षेत्रमा प्रबेश गरे । उनले काठमाडौंमा ग्रोमर मर्चेन्ट बैकिङ लिमिटेडमा स्थापना गरे र सो संस्थामा ८ वर्षसम्म अध्यक्षको भूमिका निर्वाह गरे । १० वर्षअघि उनकै नेतृत्वमा स्थापना भएको नेपाल जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड बीमा कारोबारको लागि बीमा समितिबाट अनुमतिको प्रतिक्षामा रहेको छ । पछिल्लो समय उनी सिनर्जी फाइनान्स लिमिटेडमा अध्यक्ष भएका थिए । सिनर्जीमा २ वर्ष अध्यक्ष भएका बोहरा करिब १ महिनाअघि सो पदबाट राजीनामा गरेर निर्वाचनको तयारीमा जुटेका छन् । देशको समग्र आर्थिक विकासमा जोड दिने बोहराले सुदुर पश्चिम क्षेत्रको विकासलाई राज्यले बढी प्राथमिकता दिनु पर्ने माग गर्दै आएका छन् । ‘पद मेरो प्राथमिकता होइन, देशको आर्थिक विकास राज्यको पहिलो प्राथमिकता हुनुपर्छ’ विकासन्यूजसँग कुरा गर्दै बोहराले भने-‘भौगोलिक क्षेत्रको आधारमा सुदुर पश्चिम क्षेत्र निकै पछाडि परेको छ, यस क्षेत्रको विकासमा मैले विशेष जोड दिन्छु ।’ नागरिक स्तरदेखि पार्टी नेतृत्वसम्म सबैको विश्वास र सहयोग लिएर निर्वाचनको प्रतिस्पर्धामा भाग लिन लागेको उनले बताए ।

कवाडी बटुल्ने विदेशीहरू करोडौँको नेपाली पूँजी लान्छन्

मोरङ । पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन् । कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडीसमेत चोरबाटो भएर भारततर्फ लैजाँदा उनीहरूले मनग्य आम्दानी गर्न सफल भएका छन् । तर, भन्सार कार्यालय, सीमा प्रहरी, सशस्त्र प्रहरीको गस्ती टोलीले भने यो विषयलाई सामान्य मान्दै आएको छ । भारतीय सीमा क्षेत्रबाट कवाडी संकलन गर्न दैनिक सयौँ भारतीय नागरिक नेपाल छिर्ने गर्छन् । साइकलमा चोरबाटो भएर आउने उनीहरूले नून, भान्सामा प्रयोग हुने सस्ता प्लास्टिकका सामग्री लिएर आउने गर्छन् । ती सामग्रीसँग उनीहरूले गाउँ–गाउँमा डुलेर कवाडी साट्छन् र भन्सार छलेर साइकलमै भारत छिर्छन् । नेपाली बजारमा रु २० पर्ने आयोनून भारतमा भारु आठ रुपैयाँमा पाइन्छ, त्यस्तै अरु सस्ता सामग्री पनि भारतीयबाटै ल्याएर उनीहरू दिनभर नेपालमा कवाडी संकलन गर्छन् र साँझ भारत फर्कन्छन्, कतिपयले नेपाली बजारमै कवाडी बेच्छन् । पाँच सातजनाको समूह बनाएर गाउँ पस्ने उनीहरूले नूनसँग फलाम, कीट, प्लास्टिक, थोत्रा साइकल, टिभी, पुराना किताब, पत्रपत्रिका र अन्य कवाडीका सामग्री ‘सरी’ (एक किलोमा एक किलो) साट्ने गर्छन् । नगद नै लिन चाहनेलाई फलामको प्रतिकेजी रु १५, कीटको रु १२ र प्लास्टिकको रु आठ दिने गर्छन् । आठ वर्षयता नेपालमा कवाडी व्यापार गर्दै आएका विहारको अररिया जिल्ला कुवाडी गाउँ बस्ने विद्यानन्द पासवानका अनुसार नेपालमा रु १५ मा किनेको फलाम भारतमा भारु १४ मा, रु १२ मा किनेको कीट भारु १२ र आठमा किनेको प्लास्टिक भारु ९ मा बिक्री हुने गर्छ । साइकलमा ८० देखि एक क्विन्टलसम्म कवाडी लिएर भारत फर्किने उनीहरु भन्छन्, “फलाममा प्रतिकेजी साडे सात रुपैयाँ, कीटमा सात रुपैयाँ २० पैसा र प्लास्टिकमा छ रुपैयाँ ४० पैसा फाइदा हुन्छ । दैनिक रु ५०० देखि ७०० सम्म कमाइ हुने बताउँदै विद्यानन्द पासवानले भने, “खेतीपाती छैन, वर्षमा ११ महिना यो व्यापार चल्छ । विद्यानन्द त प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता सयौँ भारतीय कवाडी संकलक मोरङका गाउँ गाउँमा घुमेर कवाडी भेला गर्छन् । कतिपय कवाडी संकलक आफूले ल्याएको नून स्थानीय व्यापारीलाई बेचेर नेपाली कवाडी व्यवसायीसँग पत्रु किनेर पनि आफ्नो व्यापार चलाउने गर्छन् । भारतीय बजारमा आठ भारुमा पाइने आयोनून नेपाली बजारका थोक व्यापारीलाई रु १६ मा बेच्ने गरेको अर्का कवाडी संकलक मोहम्मद उल्लकले बताए । नूनमा रु तीन चार बच्छ, कवाडीबाट राम्रै आम्दानी हुन्छ । मोरङमा मात्र झण्डै ५०० जना कवाडी संकलक रहेको उर्लाबारी–३ स्थित कवाडी व्यवसायी आमोद हुसैनले बताए । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सञ्जीवबाबु खड्का कवाडी संकलकहरू फाट्टफुट्ट मात्र देखिने भएकाले उहाँहरूलाई प्रहरीले खासै जाँच नगरेको स्वीकार्नु हुन्छ । उनले भने, “हाम्रो ध्यान नपुगेकै हो । अब जाँच शुरु हुन्छ । विराटनगर भन्सार कार्यालयका तथ्यांक अधिकृत धर्मेन्द्रलाल कर्णका अनुसार आव २०७२÷७३ मा ३१ हजार ४८० केजी पत्रुफलाम, ८९ हजार ८०० केजी रद्दी कागज र थोत्रे प्लास्टिक १२ लाख २१ हजार किलो भारत निकासी भएको थियो । त्यस्तै आव २०७३÷७४ मा पत्रु फलामको निकासीमा उल्लेख्य वृद्धि भएको छ भने रद्दी कागज एक किलो पनि निकासी भएको छैन । २०७३÷७४ मा पत्रु प्लास्टिक ५०० केजी मात्र निकासी भएको छ । आव २०७२÷७३ मा कूल रु एक करोड ३३ लाख ८१ हजारको पत्रुफलाम, प्लास्टिक र रद्दी कागज निकासी गरेको विराटनगर भन्सारले आव २०७३÷७४ मा रु एक करोड ४८ लाख बराबरको पत्रु निकासी गरेको छ । अघिल्लो आवको तुलनामा रु १४ लाख १९ हजारले बढी भए पनि पत्रु प्लास्टिक र रद्दी कागज भन्सारको बाटो भएर भारत निकासी भएको देखिँदैन । रासस