थियटरमा नाटक हेर्नेको भीड, ‘जोखाना’ले कमायो १६ लाख
काठमाडौं । पछिल्लो समयमा युवावर्गको नाटक प्रति रुचि बढ्दै गएको छ । विभिन्न थिएटरमा युवावर्गको घुईचो दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । अनामनगरको मण्डला थिएटरमा चैत ८ गते देखि प्रदर्शन भएको ‘जोखना’ ले ५ हप्ताको अवधिमा १६ लाख कमाएको निर्देशक किरण चाम्लिङ राई भन्छन् । हाल विद्यालय, कलेज पढ्ने विद्यार्थीहरूले थिएटर नजिकैबाट दिन प्रतिदिन नियाल्दै गरेको निर्देशक राईले बताए । सो नाटक प्रदर्शन सम्पन्न भएसँगै अझै समय थप्नु पर्ने माग आईरहेको निर्देशक बताउँछन् । नाटकबाट आम्दानी नभईरहदाँको समयमा निर्देशक राईको निर्देशनमा रहेको उक्त नाटकले १६ लाख कमाएर पछिल्लो समय आफ्नो स्थान कायम राखेको छ । सिनेमाको प्रदर्शनसँगै नाटक प्रति सर्वसाधारणको चाँसो कम हुँदै गर्दा हाल युवाबर्गको ध्यान नाटक/ थिएटर बन्न पुगेको छ । गत चैत ८ गते देखि मण्डला थिएटरमा ‘जोखना’ ले राम्राे छाप छोड्न सफल भयाे । नाटक गत चैत्र ८ गतेदेखि बैशाख १४ गते सम्म हरेकदिन साँझ ५ः१५ बजेदेखि शुरु हुने गरेको थियो । सोमबार बाहेक हरेक शनिबार दिउँसो १ बजे पनि प्रदर्शन गरेका थिए । १० वर्षे जनआन्दोलनलाई मध्यनजर गर्दै श्रीमान गाँउबाट बेपत्ता भएको समयमा एउटा महिलाले भोग्नु परेको समस्यालाई नाटकमा चित्रण गर्ने काम निर्देशक किरण चाम्लिङ राईले गरेका थिए । वियस् राईको कथा ‘जोखना’ मा आधारित रहेको छ । सबै खर्चलाई कटाएर ‘जोखना’ले खुद नाफा १० लाख कमाएको निर्देशक राईले बताए। पछिल्लो समय नाटक हेर्नेको संख्यामा कमि आउँदै गर्दा जोखना हेर्न आउनेहरुमा घुइँचो रहेको निर्माता टिमले जानकारी दिएको छ । नाटकमा समावेश विषयवस्तु समाजमा अझैपनि स्थिर रहेको परम्परागत विषयलाई भएका ‘जोखना’ कथाकार वियस् राईको ‘हिउँमाझी’ कथाकृति पढिसकेपछि उक्त नाटक निर्माण गरेको राईले बताए । नाटकमा ११ जना पात्रले यस नाटकको विषय वस्तुलाई सहज एवंम सरल ढंगबाट प्रस्तुत गरेका छन् । पात्रमा संगीता थापा, रुपेश लामा, सञ्जिव राई, अनिल सुब्बा, पवित्रा राई, निशा पाख्रिन, रवि राई, सुद्धर्शन क्षेत्री, दिवान रसाइली, मणीराज राई आदी रहेका थिए । भने नाटकको उत्पादन व्यवस्थापन सञ्जिव राईले गरेका हुन् । आफु आर्दशमा टेकेर समाधान खोजिरहने आर्दशवादी समाजको कर्तव्यलाई प्रष्ट पार्दै अग्रमन तिर जानुपर्ने विषयवस्तुलाई नाटकले स्पष्ट रुपमा जानकारी दिएको छ । द्धन्दसँगै घटेका धेरै घटना जुन अझै समाजका कुनामा रहेका छन् भन्ने विषय वस्तुलाई प्रस्तुत गर्न खोजिएको थियो । ‘जोखना’ कथालाई आधारभूमि मान्दै ‘पूर्वी संस्कृति’का लय, बिम्ब र जीवन दर्शन समेतलाई नाटकका माध्यमबाट भन्ने प्रयास गरिएको थियो । पूर्वी सांस्कृति रंगमा सशस्त्र द्धन्द्धको मिसावट रहेको ‘जोखना’ लाई नाटकको रुपमा प्रस्तुत गरेका थिए । प्रदर्शन पछिको प्रतिक्रियाले उपत्यका बाहिर नाटक प्रस्तुत गर्ने माग आईरहेको जानकारी दिँदै निर्देशक राईले आगामी दिनमा यस्तै प्रस्तुती दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
काठमाडौँ महानगरमा तत्काल दुई स्थानमा मात्रै आकाशे पुल, कहाँ कहाँ ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा चालु आर्थिक वर्षमानै दुई आकाशे पुल निर्माणको तयारी शुरु गरिने भएको छ । महानगरले यसै आर्थिक वर्षको केही समय अघिनै पुल निर्माणको काम शुरु गर्ने भने पनि विभिन्न आन्तरिक व्यवस्थापनको काम गर्न नसक्दा काम हुन सकेको थिएन । विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताइए पनि तत्काल भने दुई स्थानमा निर्माण गर्न लागिएको प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । महानगरले तत्काल चाबहिल र पुरातत्व विभाग अगाडि पुल निर्माण गर्न लागेको डङ्गोलले जानकारी दिए । महानगरले चालु आव २०७५/७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट विनियोजन गरेको थियो । भौतिक पूर्वाधार निर्माण गर्न चालु आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ । नयाँ ती पुल निर्माणका लागि रु १२ करोड बजेट विनियोजन गरिएको छ । महानगरभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क, बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल सञ्चालनमा छन् । सञ्चालनमा रहेका केही पुललाई पुनःनिर्माण गर्नुपर्ने अवस्था छ । वीर अस्पताल अगाडिको पुल अत्यन्त जीर्ण भएकाले तत्काल मर्मतको आवश्यकता रहेको छ । भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने देखिएको छ । पुल निर्माण गर्ने आठ स्थानमा टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशालाचोक रहेका छन् । सवारीसाधनको अत्यधिक चाप हुने तीे क्षेत्रमा त्यस्ता पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या हुँदैआएको छ । पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ । दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा महानगरले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो । रासस
गणतन्त्र स्मारक सञ्चालन हुँदै, बैशाख ३० गतेसम्म फोटो, चित्र र मूर्ति बुझाउन सकिने
काठमाडौँ । नेपालको क्रान्तिकारी जनसंघर्ष र आन्दोलनको थालनीदेखि गणतन्त्र स्थापनाकालसम्मको इतिहास संरक्षण र प्रदर्शन गर्न क्रान्तिसंग सम्बन्धित विविध सामाग्री राखी गणतन्त्र स्मारक सञ्चालन हुने भएको छ । २०७५ चैत २५ गतेको निर्णय अनुसार गणतन्त्र स्मारकमा राखिने विभिन्न सामाग्री मध्ये गणतन्त्र स्थापनासँग सम्बन्धित जनआन्दोलन लगायत घटना परिघटना समेटिएका फोटोहरु, आर्ट एवम् चित्र र मूर्तिहरु तथा महत्वपूर्ण दस्ताबेज संकलन र प्रदर्शनका लागि नेपाल कला परिषद्लाई जिम्मेवारी प्रदान गरिएको छ । स्मारकमा प्रदर्शन गरिने फोटो, चित्र, मूर्ति, पोशाक, किताब, कागजात जस्ता सामाग्रीहरु बैशाख ३० गते भित्र नेपाल कला परिषद्लाई उपलब्ध गराउन अनुरोध गरिएको छ । सामाग्री पठाउँदा दाताको नाम ठेगाना उल्लेख गर्न भनिएको छ । स्वीकृत सामाग्रहरुका लागि सम्मान, पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रदर्शित सामाग्रीहरु स्थायीरुपमा संग्राहलयमा रहने परिषद्ले जनाएको छ । नारायणहिटी दरबारको पूर्वी खण्डको परिसरमा हिमाल, पहाड र मधेश तराई समेट्ने गरी विशाल नेपालको नक्शा तयार गरी जमिनमुनि भूईँतल्ला र माथिल्लो तल्लाका प्रदर्शनी स्थलका ग्यालरीहरुमा सन्दर्भ सामाग्रीहरु राखेर गणतन्त्र स्मारक सञ्चालन हुँदैछ ।