नेपाल क्रिकेट डिभिजन २ मा घटुवा, मुल कारण वर्षा
काठमाडौं । नेपालको क्रिकेट खेल स्तर घटेर डिभिजन २ मा झरेको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल वर्षाको कारण रद्द भएपछि अंक तालिकाअनुसार नेपाल डिभिजन २ मा झरेको हो । वर्षाका कारण खेल नभएपछि दुवै टोलीले १/१ अंक बाँडेका छन् । प्रतियोगिताको दुई खेल बाँकी रहँदै डिभिजन २ मा झरेको हो । घटुवासँगै नेपालले सन् २०१८ फेब्रुअरीमा नामिबियामा हुने डिभिजन २ खेल्नेछ । आइतबार टाइफुन र वर्षाका कारण खेल हुन नसकेपछि वैकल्पिक दिन पुनः सोमबारलाई खेल सारिएको थियो । सोमबार पनि वर्षा नरोकिएपछि खेल हुन सकेन । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल १२ खेलमा ९ अंक जोड्दै छैटौं स्थानमा छ । चौथो स्थानमा रहेको हङकङले १२ खेलमा १४ अंक जोडेको छ । नेपालले अन्तिम चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)को सामना गर्दैछ ।
सनराइज बैंकको प्रभातफेरी कार्यक्रम सम्पन्न
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो १०औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । “हामी सङ्ग-सङ्गै” भन्ने मूल नाराका साथ बैंकको प्रधान कार्यालय गैह्रिधारा बाट शुभारम्भ गरिएको थियो । उक्त कार्यक्रममा बैंकका संचालक समितिका संचालकहरु डा. भोगेन्द्र गुँरागाई, ई.बच्छराज तातेड, ज्योति कुमार बेगानी, दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यबाट संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरिएको थियो । बैंकद्वारा आयोजित उक्त र्यालीमा नायब महाप्रबन्धकहरु आशाराणा अधिकारी, अपछकुमार यादब, रबिनकुमार नेपाल, सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रका साथै बैंकका कर्मचारीहरुकोे सहभागिता रहेको थियो । बैंकको प्रधान कार्यालय गैह्रिधाराबाट शूरु भएको र्याली गोमा गणेश, प्रहरी पेट्रोल पम्प, नक्शाल भगवती, जैनमन्दिर चोक, कमलपोखरीे, कमलादी गणेशस्थान, घण्टाघर, रत्नपार्क ,जमल, बिश्वज्योती, दरबारमार्ग, हात्तिसार, नागपोखरी, राजदरबार पूर्वीगेट हगंदैे पूनः गैह्रिधारामा आएर समापन भएको थियो । सोहि दिन बैंकको उपत्यका बाहिरका सम्पूर्ण शाखा कार्यालयहरुमा समेत प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । साथै, बैंकले आफ्नो दशौैं वार्षिकोत्सवको अवसरमा महिनाभरीनै देशब्यापी रुपमा अन्य सामाजिक कार्य जस्तै रक्तदान कार्यक्रम, बाग्मती सरसफाइ कार्यक्रम, कम्प्युटर वितरण, तथा देश भरिका शाखा मार्फत वातावरण सरसफाई, सरकारी विद्यालयमा अध्ययनरत गरिब बालबालिकालाई शैक्षिक सामाग्री वितरण, निःशुल्क आखाँ जाँच, बृद्घाश्रम तथा अनाथालयमा आर्थिक सहयोग, धार्मिक एवं पूरातात्विक स्थलको संरक्षण तथा प्रवर्धनमा टेवा पुग्ने खालका कार्यक्रमहरु आयोजना गर्ने कार्यक्रम रहेको छ ।
भाइटीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा
काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको राससलाई जानकारी दिए । उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु हुँदैछ । ३१ गते (कार्तिक कृष्ण त्रयोदशीका दिन) काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा एवं कात्तिक ४ गते शनिबार भाइटीका परेको अध्यक्ष गौतमले जानकारी दिए। कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ । रासस