होलीमा सचेतन हुनुपर्ने, ट्राफिक प्रहरी ‘गन’ लिएर सडकमा उत्रिने
काठमाडौं । हालीको दिन तीव्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ रु सावधान । ट्राफिक प्रहरी सडकमा ‘राडर गन’ लिएर उत्रिएका हुनेछन् । सडकमा निश्चित दुरीभन्दा बढी गतिमा गाडी हाँके तपाईं कारबाहीमा पर्नुहुनेछ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सडकमा व्यापक सुरक्षा जाँच विन्दु राखेर सवारी चालकमाथि निगरानी राख्ने भएको छ । होलीमा मादक पदार्थ सेवन गरेर तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढेपछि ट्राफिक प्रहरीले कडाई गर्न लागेको छ । सवारी तीव्र गतिमा हाँक्ने, क्षमताभन्दा बढी हाँक्ने, हेल्मेट नलगाइ चलाउने र इच्छाविना रंग, लोला हान्नेजस्ता प्रवृत्ति रोक्न प्रहरीले विशेष निगरानी गर्ने भएको हो । होलीका लागि मात्र राजधानीमा एक हजार प्रहरी परिचालित हुने जानकारी महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले दिए । अन्नपूर्ण पोस्टबाट ।
गाउँपालिका र नगरपालिकामा ४५९० कर्मचारी आवश्यक
काठमाडौं । स्थानीय तह शुक्रबारदेखि कार्यान्वयन भएको छ। उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राजपत्र सार्वजनिक गरेसँगै स्थानीय तह कार्यान्वयन भएको हो। नवगठित स्थानीय तहमा १५ दिनभित्र पाँच सय १३ कार्यकारी अधिकृत पुग्ने भएका छन्। स्थानीय विकास मन्त्रालयका अनुसार महानगरपालिकामा तीन, नगरपालिकामा २९ र गाउँपालिकामा ४ सय ८१ कार्यकारी अधिकृत आवश्यक पर्छ। मन्त्रालयले एक सय २२ कार्यकारी अधिकृत आफ्नैबाट खटाउने तयारी गरेको छ भने बाँकी तीन सय ९१ सामान्य प्रशासन मन्त्रालयसँग मागेको छ। माग भएकामा तीन सहसचिव, एक सय ९७ उपसचिव र एक सय ९१ शाखा अधिकृत छन्। स्थानीय विकास मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले उपलब्ध कार्यकारी अधिकृतलाई एक साताभित्र स्थानीय तहमा पठाउने जानकारी दिए। बाँकी भने सामान्य प्रशासन मन्त्रालयले कर्मचारी उपलब्ध गराएलगत्तै पठाइने उनको भनाइ छ। उनले भने, ‘सबै कर्मचारी खटिन करिब १५ दिन लाग्नेछ।’ स्थानीय तह सात सय ४४ तय गरिएको छ। यसमध्ये चार महानगरपालिका र १३ उपमहानगरपालिका छन्। दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिका छन्। स्थानीय तहको शासन सञ्चालन सम्वन्धि आदेश–०७३ अनुसार गाउँपालिकामा उप सचिव वा शाखा अधिकृत मध्ये एक कार्यकारी अधिकृत रहने छन्। नगरपालिकामा उपसचिव कार्यकारी रहने व्यवस्था छ। उप महानगरपालिकामा बरिष्ठ उप सचिव र महानगरपालिकामा सहसचिव कार्यकारी अधिकृत रहने व्यवस्था छ। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका व्यवस्थित गर्न स्थानीय विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग ११ अर्व ९१ करोड रुपैयाँ बजेट मागेको छ। ‘नव गठित स्थानीय तहका लागि बजेट माग गरेका छौं। प्रत्येक स्थानीय तहमा एक–एक करोडका दरले बजेट माग गरिएको छ,’ मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘सवै गरि करिब १२ अर्व रुपैयाँ बजेट तत्काल आवश्यक छ। अर्थबाट स्वीकृत भएर आएलगत्तै स्थानीय तहमा पठाइनेछ।’ ४५०० कर्मचारी आवश्यक गाउँपालिका र नगरपालिकाका लागि तत्काल चार हजार पाँच सय ९० कर्मचारी आवश्यक पर्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ। गाउँपालिकमा एक कार्यकारी अधिकृतसहित नौ कर्मचारी रहने व्यवस्था छ। मुलुकभर चार सय ८१ गाउँपालिका गठन भएका छन्। सवै गाउँपालिकामा गरी तत्काल चार हजार तीन सय २९ कर्मचारी आवश्यक पर्ने मन्त्रालयको विवरण छ। नगरपालिका संख्या दुई सय ४६ छ। प्रत्येक नगरपालिकामा कार्यकारी अधिकृतसहित नौ कर्मचारी अवश्यक पर्नेछ। नयाँ नगरपालिकका लागि मात्रै तत्काल दुई सय ६१ कर्मचारी अवश्यक पर्ने स्थानीय विकास मन्त्रायले जनाएको छ। नयाँ पत्रिकाबाट ।
पशुपतिको भेटी करिब तीस करोड, विशेष पूजावापत १४ करोड
काठमाडौं । पशुपतिनाथमा भक्तजनले चढाएको भेटी तीन वर्षयता करिब तीस करोड रुपियाँ पुगेको छ । यसमा विशेष पूजा गराएबापत चौध करोड रुपियाँ प्राप्त भएको छ । पशुपतिनाथको भेटी व्यवस्थापन गर्न बनेको नियमावली लागू भएपछि पशुपतिनाथ समक्ष यो भेटी प्राप्त भएको हो । पशुपति क्षेत्रको भूउपयोगसहित नयाँ गुरुयोजना तर्जुमा गर्न आयोजित बृहद कार्यशाला गोष्ठीमा पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले सो तथ्याङ्क प्रस्तुत गरेका हुन्। उनले भारतको पद्यनाभस्वामी केरला, तिरुपति बालाजी, वैष्णोदेवी, सिद्धिविनायक र स्वर्ण मन्दिर पञ्जावको वार्षिक आय प्रस्तुत गर्दै यी तीर्थस्थलको तुलनामा आदि तीर्थस्थल पशुपतिनाथमा उल्लेख्य दर्शनार्थीको आगमन हुन नसकेको र आम्दानी पनि कम भएको बताए । उनले यस आधारमा बृहद् गुरु योजनाले तीर्थालुलाई समेट्न आवश्यक रहेको राय प्रस्तुत गरे । त्यस अवसरमा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार तीन वर्षको अवधिमा २१ लाख २६ हजारको हाराहारीमा पर्यटकको आगमन पशुपति क्षेत्रमा भएको छ । पशुपतिमा पर्यटक आगमनबाट २०५७ सालयता ३५ करोड २१ लाख रुपियाँको हाराहारीमा शुल्क प्राप्त भएको छ तर भारतका प्रमुख तीर्थस्थलमा भइरहेको भक्तजनको दैनिक प्रवेशको जस्तै यहाँ पनि भक्तजनलाई आकर्षित गर्नु आवश्यक रहेको कोषका निर्देशक भरत मरासिनीले गोष्ठीको ध्यानाकर्षण गराए। भारतको अहमदाबाद, भोपाल, चेन्नाई, भुवनेश्वरमा पनि नेपाल वायुसेवाको पहुँच पुर्याउन सके पशुपतिमा पनि भारतको तीर्थ स्थलमा जस्तै भक्तजन प्रवेश हुने सम्भावना गोष्ठीमा व्यक्त गरियो ।